२०८३, कार्तिक १५ गते आइतबार

‘पेन्टिङ’ सिकाइमा किशोरी

‘पेन्टिङ’ सिकाइमा किशोरी


  • मेरोभ्यूज
  • जेठ १५, २०८२ बिहीबार

  • ‘पेन्टिङ’ सिकाइमा किशोरी

    महोत्तरी । मटिहानी–८ की खुश्वु यादव अहिले घर नजिकै मिथिला ‘पेन्टिङ’ सिक्दै छिन् ।

    उनीसहित ३० किशोरीलाई मटिहानी नगर कार्यपालिका कार्यालयको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले उक्त अवसर दिएको हो ।

    भर्खर १७ वर्ष उमेर टेकेकी यादवको एक महिने मिथिला पेन्टिङ सिकेर यसै सीपबाट आत्मनिर्भर बन्ने सपना छ ।

    “यहीँ कै राम माध्यमिक विद्यालयमा १२ कक्षामा पढ्दै पनि छु, अहिले मिथिला पेन्टिङ सिक्ने अवसर पाइयो, मेरो यो सीपमा जम्ने सपना छ”, यादव भन्छिन्, “मिथिला पेन्टिङको विश्वव्यापी चर्चा छ, म यसैमा दक्षता बढाउन खोज्दै छु ।”

    माध्यमिक तहमा अध्ययनरत किशोरीका लागि सीप सिकेर मिथिला पेन्टिङलाई व्यवसाय नै बनाउन सकून् भन्ने ध्येयले नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले एक महिने तालिमको प्रबन्ध गरेको हो । तालिम प्रारम्भले नै तन्मयसाथ सिक्न उत्प्रेरित गरेको सहभागी किशोरी बताउँछिन् ।

    “औपचारिक तालिम सुरु भयो, मिथिला पेन्टिङका बारेमा सुनेकी थिएँ, तालिमबाट थप थाहा पाएँ”, मटिहानी–६ की १६ वर्षीया रञ्जु साह भन्छिन्, “तालिमले धेरै कुरा सिकाउने विश्वास जागेको छ ।”

    खुश्वु यादवको जस्तै साहको पनि सीप सिकेर व्यावसायिक रुपमै मिथिला पेन्टिङमा लाग्ने रहर पलाएको छ ।

    मटिहानी नगरपालिकाका बजार क्षेत्र समेटेर वडा नं. ६, ७ र ८ का विद्यालयमा अध्ययनरत १३ वर्षदेखि १९ वर्ष उमेर समूहभित्रका किशोरीलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम आयोजना गरिएको मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डलले बताए ।

    “मुख्य ध्येय आर्थिक उपार्जनमा महिला आफैँ सरिक हुने अवस्था बनाउने हो, यसका लागि बजार क्षेत्रका बासिन्दा किशोरीलाई सीप सिक्नासाथ व्यवसाय सञ्चालन गर्न सकून् भनेर सहभागी गराइएको हो,” नगरप्रमुख मण्डल भन्छन् ।

    “यसले अरूलाई पनि उत्प्रेरित गर्ने हाम्रो विश्वास छ ।” किशोरीलक्षित यो कार्यक्रम बालविवाहविरुद्धको अभियानको निरन्तरता पनि भएको मण्डलले स्पष्ट पारे ।

    “हामी योजनाबद्ध रुपमा बालविवाह पूरै नियन्त्रण गर्ने अभियानमा छौँ, यसका लागि पछिल्ला तीन वर्षयता छोरी शिक्षा, निरक्षर उन्मूलन, सामाजिक जागरण र सीप अभिवृद्धिका कार्यक्रमले निरन्तरता पाउँदै आएका छन्”, नगरप्रमुख मण्डलले भने, “पछिल्ला तीन वर्षयताका हाम्रो प्रयत्नले राम्रो सफलता पाएको छ ।”

    तीन वर्षअघि आठ सय बालविवाहका घटना भएको सम्झँदै नगरप्रमुख मण्डलले त्यसयता बालविवाहविरुद्धका घनिभूत कार्यक्रमका कारण यसमा कमी आएको बताए ।

    यसपालि जारी आर्थिक वर्ष २०८१/८२ को हालसम्मको अवधिमा नगरक्षेत्रमा कतैपनि बालविवाहका घटनाको जानकारी नरहेको उनको भनाइ छ ।

    मटिहानी नगरपालिकाले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखामार्फत गत आर्थिक वर्ष २०८०/८१ मा निरक्षरता उन्मूलन अभियान सञ्चालन गरेका थिए ।

    यसै अभियानअन्तर्गत विद्यालय जाने उमेरका बालबालिकालाई औपचारिक शिक्षामा जोड्ने र किशोरमय पार गरेकाहरुलाई घरबस्तीमै अनौपचारिक शिक्षा दिइएको थियो । सो अभियानको सफलताले नै आफ्नो नगर साक्षर घोषणा भएको नगरप्रमुख मण्डलको भनाइ छ ।

    अहिले सञ्चालन भएको एक महिने मिथिला पेन्टिङ तालिममा सहभागी किशोरी पनि बालविवाहविरुद्धको अभियन्ता हुन् ।

    तालिमका सहभागीहरु बालविवाहलाई निरुत्साहित गर्नु र सीप सिकेर आत्मनिर्भर बन्नु मुख्य उद्देश्य रहेको बताउँछिन् ।

    मटिहानी–७ की १७ वर्षीया प्रिया ठाकुर भन्छिन्, “मिथिला पेन्टिङ आर्जनका लागि सम्भावनायुक्त सीप हुने विश्वास जागेको छ ।”


    प्रकाशित : बिहीबार , जेठ १५ २०८२०९:१६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार