मोरङ । प्रदेशको पर्यटन विकास र प्रवर्द्धनका लागि कोशी प्रदेश सरकारले पर्यटन वर्ष-२०८२ मनाइरहेको छ ।
छिमेकी मुलुक भारत र तेस्रो मुलुकबाट १५ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सुरू गरिएको पर्यटन वर्षले प्रदेशवासीमा उत्साह थपेको छ । कोशीमा पर्यटन वर्ष सुरूसँगै, पर्यटकको चहल-पहल बढ्न थालेको हो ।
पर्यटकको चहल-पहल बढ्दा पर्यटन तथा होटल व्यवसायीहरू उत्साहित भएका छन् ।
भारतको विहार राज्यबाट इलामको कन्याम घुम्न आएका कम्लेश शर्मा भन्छन्, “नेपाल वास्तवमै स्वर्गको टुक्रा रहेछ सुनेकोभन्दा पनि धेरै राम्रो लाग्यो, साथीहरूसँग नेपाल घुम्न आएको दुई दिन भयो एक साता बसेर मात्र फर्कने योजना बनाएका छौँ ।”
कोरोना महामारीपछि थलिएको पर्यटन क्षेत्रलाई पुनः चलायमान बनाउन कोशी प्रदेश सरकारले पर्यटन वर्ष-२०८२ कार्यक्रम ल्याएको हो ।
“हामी होटल व्यवसायी एकदमै खुसी छौँ, आशा छ पर्यटन वर्ष-२०८२ ले कोरोना माहामारीपछि थलिएको होटल व्यवसाय अव चलायमान हुनेछ”, होटल एशोसिएसन भेडेटारका अध्यक्ष तुमराज लिम्बूले जानकारी दिए ।
यहाँ विशेषगरी भारतीय पर्यटक आउने गरेका छन् । भन्सार पास भएर आइसकेका भारतीय पर्यटकलाई बढिमात्रामा चेकजाँचको झन्झट हुने गरेको गुनासो आइरहेकोमा हाल पर्यटन वर्षलाई लक्षित गरेर सीमा नाकामा पर्यटकीय सवारीसाधनलाई स्टिकर टाँसेर सहज बनाएको अध्यक्ष लिम्बू बताए ।
कोशी प्रदेश सरकारले सीमा नाकामा पर्यटकीय सवारीसाधनलाई स्टिकर टाँस्न सुरू गरेको छ ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भारतीय सवारीसाधनमा पर्यटन वर्षको स्टिकर टाँसेर अभियानको सुरूवात गरेको थियो ।
पर्यटकलाई सहज होस् भनेर यो अभियान सुरू गरेको प्रदेश सरकारले जनाएको छ ।
दैनिक एक सयको हाराहारीमा भारतीय पर्यटकको सवारी भेडेटार आइरहेको बताउँदै अध्यक्ष लिम्बूले भेडेटार र आसपासमा १५ देखि २० हजार पर्यटकलाई राख्न सकिने व्यवस्थित होटल तथा होमस्टे रहेको उनको भनाइ छ ।
गत सालभन्दा यो साल सुरुवाती दिनमै आन्तरिक पर्यटकको चहल-पहल बढेको अनुमान गर्न सकिने धनकुटा साँगुरीगडी–६ नाम्जेका होमस्टे सञ्चालक नगेन्द्र मगरले बताए ।
अरू दिनभन्दा शुक्रबार र शनिबार पर्यटकको चाप बढी हुने यस ठाउँमा अरू दिनमा पनि पर्यटकको चाप बढ्न थालेको उनको भनाइ छ ।
नाम्जे थुम्की सामुदायिक होमस्टे व्यवस्थापन समितिअन्तर्गत १९ वटा घर आबद्ध रहेको र ती घरमा ९० देखि एक सय जनासम्म राख्न सकिने उनको भनाइ छ ।
पछिल्लो समय आन्तरिक पर्यटन गर्नेको सङ्ख्या बढेको बताउँदै घुम्नका लागि गाडी भाडामा जाने गरेको यातायात व्यवसायी मोरङ बेलबारी–९ का नगेन्द्र भट्टराईले जानकारी दिए ।
कोशी प्रदेश सरकारले निजी क्षेत्रसँगको सहकार्यमा पर्यटन वर्ष-२०८२ सञ्चालन गरिरहँदा प्रदेशको समग्र आर्थिक क्षेत्र चलायमान हुने र यो कार्यक्रम सफल बनाउन सबै आ–आफ्नो ठाउँबाट लाग्नुपर्ने नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत बताए ।
पर्यटन वर्षमा विशेषगरी धार्मिक, प्राकृतिक, सांस्कृतिक पर्यटक कोशी घुम्न आउने कोशी पर्यटन वर्ष-२०८२ का सह-संयोजक भविष श्रेष्ठ बताउँछन् ।
उनका अनुसार धार्मिक, प्राकृतिक, सांस्कृतिकसँगै शिक्षा, स्वास्थ्य, खेलकूदलगायत क्षेत्रका पर्यटक यहाँ आउने गरेका छन् । पर्यटन वर्षमा पन्ध्र लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ ।

