२०८३, कार्तिक १५ गते आइतबार

अहिलेको निर्वाचन प्रणाली जनताको होइन, परिवर्तनका लागि संविधान संशोधन अपरिहार्य : अध्यक्ष प्रचण्ड

अहिलेको निर्वाचन प्रणाली जनताको होइन, परिवर्तनका लागि संविधान संशोधन अपरिहार्य : अध्यक्ष प्रचण्ड


  • मेरोभ्यूज
  • बैशाख ३१, २०८२ बुधबार

  • अहिलेको निर्वाचन प्रणाली जनताको होइन, परिवर्तनका लागि संविधान संशोधन अपरिहार्य : अध्यक्ष प्रचण्ड

    धरान । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले किराँती र लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा, नेपालको संयुक्त राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा सहभागी भइ सम्बोधन गरेका छन् ।

    धरानमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले हालको निर्वाचन प्रणाली जनताको नभइ पैसावालहरुको पक्षमा रहेको उल्लेख गर्दै, यो प्रणाली परिवर्तन गरी राष्ट्रपतीय प्रणाली र जनमुखी समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्न संविधान संशोधन अपरिहार्य भएको धारणा व्यक्त गरे ।

    उनले माओवादी नेतृत्वको जनयुद्ध र जनआन्दोलनको संयोजनबाट प्राप्त उपलब्धिहरू समेट्दै जनताको साथमा निर्माण गरिएको संविधानलाई संशोधनमार्फत अझ समावेशी समाजवादतर्फ उन्मुख बनाउने अभियानमा साथ दिन आह्वान गरे ।

    “शान्ति प्रक्रियामा आएपछि हामी थोरै जनताबाट टाढा भएका जस्तै थियौं भन्ने निष्कर्षसहित केन्द्रीय समितिको बैठकमा गम्भीर आत्मसमिक्षा गरिएको छ,” उनले भने, “अब हामी देशका सबै उत्पीडित वर्ग, जाति, लिङ्ग र क्षेत्रका जनतासँग सम्बन्ध सुधार्ने अभियानमा छौं ।”

    सरकारको नेतृत्वमा रहँदा माओवादी केन्द्रले देश र जनताको पक्षमा काम गर्न कोशिस गरेको बताउँदै उनले समावेशी पूर्वाधार विकास अभियानअन्तर्गत मध्यपहाडी लोकमार्ग, हुलाकी मार्ग तथा उत्तर–दक्षिण करिडोरहरू निर्माणको थालनी गरेको स्मरण गराए ।

    त्यस्तै, भूकम्पसँगै मधेसमा विद्रोहको अवस्था सिर्जना हुँदा मधेसलाई समेटेर चुनावमा लैजाने र लोडसेडिङ अन्त्य गर्ने कार्य आफ्नै नेतृत्वमा गरिएको उनले बताए ।

    तेस्रो कार्यकालको सरकारमा रहँदा भ्रष्टाचारविरुद्ध सुशासनको पक्षमा निर्मम अभियानको थालनी गरिएको उल्लेख गर्दै प्रचण्डले भने, “मैले छानबिन गर्दा आफूविरुद्ध पनि अनुसन्धानको सुइ देखापरेको खण्डमा मलाइ पनि नछोड्नू भनेर अनुसन्धानमा खटिएका प्रहरीका प्रमुखलाई निर्देशन दिएको थिएँ ।

    भ्रष्टाचार विरुद्ध सुशासनको अभियानमा मैले आफ्नो अर्को कोही कसैलाई छुट दिन हुँदैन भनेर नै भ्रष्टाचार विरुद्ध निर्मम अभियान अघि बढाएको थिए ।”

    उनले सोही कार्यकालमा आमाबाबु नेपाली नागरिक भए पनि सन्तानले नागरिकता नपाउने अवस्थाको अन्त्य गरिएको, मिटरव्याजको समस्याको समाधान गर्न पहल गरिएको र आर्थिक सुधारको दिशामा महत्वपूर्ण काम भएको जानकारी दिए ।

    आफूले अगाडि सारेको सामाजिक सुरक्षा योजनामा अहिले विदेशमा रहेका १५ लाखभन्दा बढी नेपाली समेटिएको र यस योजनालाई निजी क्षेत्रसम्म विस्तार गर्ने तयारी आफू नेतृत्वको सरकारको रहेको उनले बताए ।

    दलाल र पूँजिपति समूहले जनताको पक्षमा काम गरिरहेको आफू नेतृत्वको सरकार हटाएर भ्रष्ट र बिचौलिया पक्षमा काम गर्ने सरकार बनाएको उल्लेख गर्दै “माओवादी बलियो नबनिएसम्म उत्पीडित वर्ग, पहिचानको मुद्दा र जनताको आवाज कमजोर हुन्छ,” उनले भने ।

    पूर्वी नेपालमा पहिचानको आन्दोलन गरिरहेका समूहहरू, प्रगतिशील जनता, नयाँ उदाएका व्यक्ति र दलहरूले माओवादीसँग सहकार्य गर्दै देशमा व्याप्त विकृति, विसङ्गति र भ्रष्टाचारको अन्त्य गर्दै सुशासनको अभियानमा लाग्नुपर्ने अध्यक्ष प्रचण्डको भनाइ थियो ।

    “मैले धरानका मेयर हर्क साम्पाङलाई लोकतन्त्रमा फुलेको सुन्दर फूल भनेको छु । घरिघरि उनलाई के हुन्छ ? उनी माओवादीप्रति नकारात्मक हुनु आवश्यक छैन,” उनले भने ।

    अध्यक्ष प्रचण्डले सबै उत्पीडित वर्ग, पहिचानका पक्षधर, माओवादी आन्दोलनसँग सम्बद्ध पार्टी तथा समूहहरू र हर्क साम्पाङजस्ता नयाँ उदाएका राजनीतिकर्मीहरूलाई संविधान संशोधन र समाजवादी रूपान्तरणको अभियानमा एकजुट भइ माओवादी केन्द्रलाई साथ दिएर अघि बढ्न आह्वान गरे ।


    प्रकाशित : बुधबार, बैशाख ३१ २०८२०८:२४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार