२०८३, कार्तिक १५ गते आइतबार

आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा

आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा


  • मेरोभ्यूज
  • बैशाख २५, २०८२ बिहीबार

  • आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा

    बेनी । यहाँको रघुगङ्गा गाउँपालिका-७ चिमखोलाको भूमेपूजा आन्तरिक पर्यटन प्रवर्द्धनको माध्यम बनेको छ ।

    परम्परागतरूपमा हुँदै आएको भूमेपूजामा गरिने सांस्कृतिक उत्सवले आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पुर्याएको स्थानीयको बुझाइ छ ।

    मगर समुदाय बाहुल्य क्षेत्रमा प्रकृतिपूजाका रूपमा भूमेपूजा गरिने भए पनि चिमखोलामा यस अवसरमा अनौठा र मौलिक संस्कृतिको प्रस्तुति राख्ने गरिन्छ । त्यसमा स्थानीयवासीका साथै आन्तरिक पर्यटकहरू रमाउन गरेका स्थानीय याम रोकाले बताए ।

    यस वर्ष पनि मङ्गलबार विधिपूर्वक भूमे र स्थानीय शक्तिपीठका रूपमा परिचित मण्डली बजैको पूजा गरियो र बुधबार गाउँको सांस्कृतिक चिनारीलाई प्रस्तुत गरिएको उनले बताए ।

    यहाँ हरेक वर्षको चैत महिनामा पर्ने उजेली मङ्गलबारको दिनमा भूमेपूजा गर्ने प्रचलन छ । भूमे देवतालाई खुसी बनाउन यहाँ भूमेपूजामा मोसो, छ्याङका छोक्रा एकापसमा दलेर नाचगान गर्ने अनौठो प्रचलन छ ।

    गाउँको सेवाङमा रहेको भूमेथानमा स्थानीयवासी, देश-विदेशबाट आएका चिमखोलावासीसँगै छिमेकी गाउँबाट पुगेका पाँच सयभन्दा बढीले यस पटक भूमेपूजा गरेको वडाध्यक्ष थकप्रसाद पाइजाले बताए ।

    “पहिले गाउँका स्थानीयले मात्र पूजा गर्थे, हाल यहाँको भूमेपूजामा हुने मौलिक र अनौठो संस्कृतिले छिमेकीगाउँ र आन्तरिक पर्यटकहरू पनि यहाँ आउने गरेका छन् । देश-विदेशमा पुगेका स्थानीयवासीसमेत भूमेपूजालाई ठूलो चाडका रूपमा मनाउन आएका छन्”, उनले भने ।

    भूमेपूजा यहाँको सांस्कृतिक चिनारी नै बनेको छ । छ्याङलाई भूमेपूजामा मुख्य प्रसादका रूपमा ग्रहण गर्ने गरिन्छ भने भूमे थानमा पूजा गरेपछि मोसो र छ्याङको छोक्रा दलेर बाजागाजासँगै नाचगान गर्दै खुसियाली मनाउने चलन रहेको छ ।

    यसलाई यहाँ पुग्ने आन्तरिक पर्यटकहरूले अनौठो संस्कृतिका रूपमा लिने गरेका छन् । प्रकृतिलाई खुसी बनाएर कुनै प्राकृतिक प्रकोप र विपत्ति नहोस् र खेतीबाली राम्रो होस् भन्ने कामनाले भूमेपूजा गर्ने प्रचलन रहेको स्थानीयवासी बताउँछन् ।

    भूमेपूजाको भोलिपल्ट गाउँमा सांस्कृतिक उत्सव हुने गर्छ । भूमेपूजाका अवसरमा टोपानाच प्रदर्शन गरिन्छ ।

    छेमाहरूले टोपानाच प्रदर्शन गरेका हुन् भने सरमाजाले, जुरेचल्ला, दुलहादुलहीको कलस जुधाउने नाचसँगै पुख्र्यौली र थालीनाचलगायतका मौलिक कला र संस्कृति प्रदर्शन गर्ने गरिएको चिमखोलाका वडाअध्यक्ष पाइजाले जानकारी दिए ।

    यस पटक भूमेपूजाका अवसरमा चिमखोलामा स्थानीय मण्डली युवा क्लबको आयोजनामा विविध खेलकूद तथा सांस्कृतिक मेला सुरु भएको छ । भूमेपूजा र मेलामा रमाउनका लागि जिल्लाका विभिन्न ठाउँका युवायुवतीसँगै देशविदेशमा छरिएकाहरू चिमखोलामा पुगेका छन् ।


    प्रकाशित : बिहीबार , बैशाख २५ २०८२१०:५९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार