२०८३, कार्तिक १५ गते आइतबार

शीतभण्डारमा दुई सय दस मेट्रिकटन आलु

शीतभण्डारमा दुई सय दस मेट्रिकटन आलु


  • मेरोभ्यूज
  • बैशाख २३, २०८२ मंगलबार

  • शीतभण्डारमा दुई सय दस मेट्रिकटन आलु

    पाल्पा । यसवर्ष रामपुर शीतभण्डारमा दुई सय दस मेट्रिकटन आलु भण्डारण गरिएको छ ।

    रामपुर नगरपालिकाको व्यवस्थापनमा किसानले उत्पादन गरेको बीउ तथा खायन आलु सुरक्षित भण्डारण गरिएको हो ।

    नगरपालिकाले सूचना जारी गरी गत चैत १८ देखि आलु भण्डारणका लागि शीतभण्डार खुल्ला गरेको थियो ।

    भण्डारण कक्ष भरिएपछि २१ गते नै बन्द गरिएको छ । यसअघि पहिलो वर्ष बोलपत्रमार्फत व्यवसायीलाई, दोस्रो र तेस्रो वर्ष सूर्योदय कृषि सहकारीसँग सम्झौता गरेर शीतभण्डार सञ्चालन गरिएको थियो । हाल नगरपालिका आफैँले शीतभण्डारको व्यवस्थापन गरिरहेको छ ।

    यहाँको शीतभण्डारमा छ सय ८२ किसान तथा कृषि सहकारी र समूहको गरेर दुई सय दस मेट्रिकटन आलु भण्डारण गरिएको नगरपालिकाको कृषि शाखा प्रमुख नारायणप्रसाद गैरेले जानकारी दिए । गत वर्ष एक सय ७० मेट्रिकटन आलु भण्डारण गरिएको उनले बताए ।

    यहाँ स्थानीय नगरपालिकासहित स्याङ्जाको चापाकोट नगरपालिकाका केही किसानबाट ल्याइएका आलुसमेत भण्डारण गरिएका छन् ।

    नगरप्रमुख रमणबहादुर थापाले शीतभण्डारको सुविधा भएपछि किसानले उत्पादनमा जोड दिएको बताए । यस क्षेत्रमा आलु बढी उत्पादन बढी हुने भएकाले नगरपालिकाले शीतभण्डार निर्माण गरी प्रयोगमा ल्याएको र त्यसबाट किसान निकै लाभान्वित भएको उनको भनाइ छ ।

    यसवर्ष रामपुर क्षेत्रमा प्रतिरोपनी सातदेखि आठ क्विन्टलसम्म आलु उत्पादन भएको छ । किसानबाट प्रतिकिलो रु. छ भण्डारण शुल्क लिएर आलु राखिएको नगरपालिकाले जनाएको छ ।

    लुम्बिनी प्रदेश सरकारमार्फत रु. तीन करोड २६ लाख ७६ हजार पाच सय ६६ मा तीन सय मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण गरेर वि.सं. २०७८ देखि सञ्चालनमा ल्याइएको हो ।

    पहिलो वर्ष परीक्षणको क्रममा प्राविधिक समस्याका कारण केही समस्या भए पनि पुनः मर्मतपश्चात् दोस्रो र तेस्रो वर्ष भण्डारण गरिएको आलु राम्रो भएको कृषि शाखा प्रमुख गैरेले बताए ।

    नगरपालिकाले शीतभण्डारको रेखदेख, तापक्रममा तथा उपकरणको निरीक्षणका लागि एकजना दैनिक हेरालु राखेको छ ।

    भण्डार केन्द्रमा फरक–फरक क्षमताका पाँच कोठा छन् । हाल पाँचवटै कोठा आलुले भरिएका छन् । सञ्चालनका लागि मासिक रु. ५० देखि ६० हजारसम्म विद्युत् महसुल लाग्ने गरेको नगरपालिकाले जनाएको छ ।

    शीतभण्डार सञ्चालन हुनुअघि यहाँका किसानले भैरहवा, गल्याङ, पोखरालगात स्थानमा आलु भण्डारण गर्दै आएका थिए ।


    प्रकाशित : मंगलबार, बैशाख २३ २०८२१०:२९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार