२०८३, कार्तिक १५ गते आइतबार

जैविक मल उत्पादन गर्दै ठोट्नेखोला सामुदायिक वन

जैविक मल उत्पादन गर्दै ठोट्नेखोला सामुदायिक वन


  • मेरोभ्यूज
  • बैशाख २३, २०८२ मंगलबार

  • जैविक मल उत्पादन गर्दै ठोट्नेखोला सामुदायिक वन

    गण्डकी । सामुदायिक वन उपभोक्ता समूहले काठको विकल्पनमा अन्य वन पैदावारबाट रोजगार सृजनासँगै आयआर्जन गर्न सुरु गरेका छन् ।

    वनजङ्गलभित्र थुप्रिएका प्रज्ज्वलनशील पदार्थको उपयोग गर्दै रोजगारी सृजनासहित जैविक मल उत्पादनमा जुटेका हुन् ।

    पोखरा महानगरपालिका–१८ सराङकोटस्थित ठोट्नेखोला सामुदायिक वन उपभोक्ता समूह यतिखेर यसको ज्वलन्त उदाहरण बनेको छ ।

    सो समूहले वन क्षेत्रमा थुप्रिएको घाँस, पातपतिङ्गर र झाडीलाई सङ्कलन गरेर जैविक मल उद्यम सञ्चालन गरेको छ ।

    वनमा कुहिएर तथा जलेर नष्ट हुने स्याउला–सोत्तरबाट उत्पादिन प्राङ्गरिक मल बजारमा बिक्री गर्ने लक्ष्यका साथ सुरु गरिएको मल उद्यमले रोजगार सृजना गर्नुका साथै रासायनिक मलको मागलाई समेत केही हदसम्म भए पनि कम गर्ने वन समूहका अध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिए ।

    उनका अनुसार यही चैत महिनाको पहिलो हप्ताबाट सुरु गरिएको अभियानअन्तर्गत हालसम्म वन क्षेत्रको छुट्टाछुट्टै दुई स्थानमा गरी ५० हजार केजी कच्चा पदार्थ सङ्कलन भएको छ । वन पैदावार सङ्कलनमा दैनिक २० जना श्रमिकले रोजगार पाएका छन् ।

    “उपभोक्ताले सङ्कलन गरेको हरियो स्याउला, भुइँझारलाई सुरुमा प्रतिकिलो रु. दुईका दरले खरिद गर्ने व्यवस्था भए पनि पछिल्लो समय सुकेका रु. पाँच र हरियो पात पतिङ्गरको रु. तीन प्रतिकिलोका दरले खरिद गरिँदै आएको छ । यसरी उत्पादित मल बजारमा प्रतिकिलो रु. २५ का दरले बिक्री हुने गरेको छ”, उनले भने, “जैविक मल उत्पादनका लागि अहिलेसम्म समूहको रु. दुई लाखभन्दा बढी लगानी भइसकेको छ ।”

    वन जङ्गलबाट सङ्कलन गरिएको स्याउला तथा घाँसपात जम्मा गरेपछि आधुनिक मेसिनद्वारा कटिङ गरी स-साना टुक्रा बनाएर जैविक मल उत्पादन गर्न ९० दिन लाग्ने र यसरी व्यवस्थित र वातावरणमैत्री ढङ्गबाट तयार गरिएको मल खेतबारीमा अत्यन्त उपयोगी हुने अध्यक्ष श्रेष्ठको भनाइ छ ।

    कास्की जिल्लाको अँधेरीकुनाबाट सुरु गरिएको सङ्कलन कार्य विस्तार भइ अहिले देउराली क्षेत्रसम्म विस्तार भएको बताउँदै अध्यक्ष श्रेष्ठले “डिभिजन वन कार्यालय कास्कीबाट ज्वलनशील पदार्थ व्यवस्थापन शीर्षकमा रु. दस हजार सहयोग प्राप्त भएको छ । समूहले नवलपुर जिल्लाको विनय त्रिवेणी गाउँपालिकास्थित विनयी सामुदायिक वन समूहले उत्पादन गरेको जैविक मल उद्यमको स्थलगत अध्ययनपश्चात मल उत्पादन कार्यलाई अघि बढाइएको हो ।”

    अधेरीकुनामा सङ्कलित वनपैदावार विद्युतीय तुलोमार्फत जोख्न व्यस्त सो वन समूहकी सदस्य विष्णु कुमालका अनुसार दिनभरि काम गर्नेले रु. एक हजार पाच सयसम्म र फुर्सदको समयमा आउने गृहणीले पनि कम्तीमा रु. पाँच सय आयआर्जन गर्दै आएका छन् । सो समूहले गड्यौंला मलसमेत उत्पादन गर्ने योजना बनाएको बताएको छ ।

    डिभिजन वन कार्यालय कास्कीका प्रमुख कोमलराज काफ्लेले ठोट्ने खोला सामुदायिक वन समूहले जस्तै देशभरका सम्पूर्ण वन समूहले काम गर्नुपर्नेमा जोड दिँदै यस कार्यबाट प्रत्येक वर्ष बढ्दै गएको वन डढेलो न्यूनीकरण, रोजगारी सृजना र कृषि व्यवसायमा समेत योगदान पुग्ने विश्वास व्यक्त गरे ।

    दाउरोको प्रयोग कम हुनु, वस्तुभाउ पाल्नेको सङ्ख्यामा कमी आउनुको कारण चरिचरनको अभाव र वन क्षेत्रमा थुप्रियका ज्वलनशील पदार्थको कारण वन डढेलोको जोखिम बढेको बताउँदै प्रमुख श्रेष्ठले वन समूहलाई जैविक मल उत्पादनमा प्रेरित गर्नुपर्ने खाँचो औँल्याए ।

    यस्ता गतिविधिले मानव–वन्यजन्तु हुने सम्भावित द्वन्द्वलाई समेत केही हदसम्म भए पनि कम गर्ने उनको भनाइ छ ।

    यसरी उत्पादित जैविक मल प्रयोगबाट माटोको उर्वराशक्ति बढ्नुका साथै विदेशबाट बर्सेनी आयात गरिने ठूलो धनराशिको रासायनिक मललाई समेत विस्तापित गर्दै प्राकृतिक स्रोतलाई स्थानीयको आयआजर्नसँगै मुलुकको समृद्धिसँग जोड्नेतर्फ सरोकार भएका सबैको ध्यान जानुपर्ने सुझाव किसान समुदायबाट आएको छ ।

    गण्डकी प्रदेश नवलपुर जिल्लास्थित विनय त्रिवेणी गाउँपालिकाको विनयी सामुदायिक वन समूहले विगतदेखि नै जैविक मल उत्पादन गर्दै आएको छ ।

    पछिल्लो समय गाउँपालिकाले अपनत्व लिएको उद्योगमा हाल ८० जनाले प्रत्यक्ष रोजगार पाएको पालिकाले जनाएको छ ।

    वन समूहको अधिकारका लागि पैरवी गर्दै आएको छाता सङ्गठन सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले विभिन्न दातृराष्ट्रको सहयोगमा सञ्चालित परियोजनाहरूलाई यस किसिमका प्राङ्गरिक मल उत्पादन गर्ने उद्योगसँग जोड्नुपर्ने खाँचो औँल्याएको छ ।


    प्रकाशित : मंगलबार, बैशाख २३ २०८२१०:२७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार