२०८३, कार्तिक १६ गते सोमबार

उद्यम प्रोत्साहन गर्दै सूर्योदय नगरपालिका

उद्यम प्रोत्साहन गर्दै सूर्योदय नगरपालिका


  • मेरोभ्यूज
  • बैशाख २३, २०८२ मंगलबार

  • उद्यम प्रोत्साहन गर्दै सूर्योदय नगरपालिका

    इलाम । कतारमा १४ वर्ष ‘एसी टेक्निसियन’को भूमिका निर्वाह गरेर स्वदेश फर्केका सूर्योदय नगरपालिका–४ श्रीअन्तुका डिल्लीराम मुखियालाई गाउँमै उद्यम गर्न रहर थियो ।

    फेरि विदेश जाने मन थिएन । विदेशमा कमाएको पैसा जग्गा जोड्दा, बिहे गर्दा, बच्चा पढाउँदा र घर खर्च टार्दा सकियो । गाउँमै सानोतिनो व्यवसाय गर्न मन भए पनि लगानी नहुँदा उनी दोधारमा छन् ।

    “गत साल सूर्योदय नगरपालिकाले रेमी कार्यक्रममार्फत कुखुरा पाल्न अनुदान दियो”, पौरखी मुखियाले भने, “नगरपालिकाले सात दिनको उद्यमशिलता तालिमसँगै कुखुरा पालन गर्न ४० हजार अनुदान पनि दिएपछि स्थानीय जातका कुखुरा पाल्न थालेँ ।

    अब विदेश जान्न” डेढ लाख लगानीमा व्यवस्थित खोर बनाएर छ सय वटा चल्ला पालेका उनले कुखुरा बेचेर मनग्गे आम्दानी गरिरहेको छ ।

    उनी मात्र होइन उक्त वडाका ईन्द्रजित मुखिया, सपना सुवेदी, राजेन्द्र गिरी, विराज तामाङले नगरपालिकाको अनुदानबाट कुखुरा पालन गरिरहेको छ ।

    साढे तीन वर्ष साउदी अरब बसेकी सपना सुवेदीलाई त्यहाँको दुःख सम्झदा आङ सिरिङ्ग हुन्छ ।

    बाख्रा र कुखुरापालनसँगै चियाखेतीमा व्यस्त उनी पनि विदेश नजाने अठोटका साथ कृषि कर्ममा रमाएकी छिन् । नगरपालिकाबाट उनले रु. एक लाख अनुदान लिएको हो ।

    “गाउँमा केही गर्छु भन्ने सबैसँग लगानी गर्ने रकम हुँदैन । रेमीले बिना ब्याजमा पैसा दिएपछि बाख्रा, कुखुरा पाल्न सजिलो भएको छ । तीन वर्षमा साँवा फर्काउने मात्र हो । ब्याज लाग्दैन”, कुखुरालाई दाना दिँदै उनले भने ।

    गत वर्ष नगरपालिकाले स्वरोजगार कार्यविधि बनाएर उद्यम गर्न चाहनेलाई अनुदानको व्यवस्था गरेको नगरप्रमुख रणबहादुर राईले बताए ।

    व्यक्तिगतरूपमा रु. एक लाखसम्म र समूह वा सहकारीमा आबद्ध भएमा रु. पाँचदेखि दश लाखसम्म बिना ब्याज ऋण दिइने उनले जानकारी दिए ।


    प्रकाशित : मंगलबार, बैशाख २३ २०८२१०:२१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार