२०८३, कार्तिक १५ गते आइतबार

निस्दीमा घट्दैछ बालविवाह

निस्दीमा घट्दैछ बालविवाह


  • मेरोभ्यूज
  • बैशाख २२, २०८२ सोमबार

  • निस्दीमा घट्दैछ बालविवाह

    पाल्पा । बालविवाह न्यूनीकरणका लागि पाल्पाको निस्दी गाउँपालिकाले सचेतनामूलक कार्यक्रममा जोड दिएको छ ।

    पालिकास्तरमा बालविवाह न्यूनीकरण गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्न थालेपछि यहाँ पछिल्ला वर्षमा बालविवाह हुने क्रम घट्दो अवस्थामा छ ।

    निस्दीमा वि.सं. २०७९ मा दुई सय ७६ जोडीले बालविवाह गरेकोमा २०८१ सालको हालसम्म भने यस्ता आठ जोडी मात्र रहेको बालकल्याण अधिकारी कृश्माखर पाण्डेले जानकारी दिए ।

    उनका अनुसार उमेर नपुग्दै विवाह गर्ने जोडीलाई बालमैत्री शाखाको समन्वयमा अभिभावक, जनप्रतिनिधि, प्रहरीको रोहवरमा २० वर्ष पुगेपछि मात्र विवाह गर्ने सहमतिमा छुटाइने गरिएको छ । यहाँ वि.सं. २०८० मा ५२ जोडीले बालविवाह गरेका थिए ।

    बालकल्याण अधिकारी पाण्डेले भने,“बालविवाह न्यूनीकरण अभियान सञ्चालनपश्चात् यस वर्षमा आइपुग्दा उमेर नपुग्दै विवाह गरेर घरजम गर्नेको सङ्ख्या न्यून हुँदै गएको छ ।

    विद्यार्थीलाई सचेत र थप सक्रिय बनाउन विद्यार्थीमाझ जनचेतनामूलक कार्यक्रम र पालिकामा बालविवाह न्यूनीकरण गर्न २०७९ देखि विभिन्न कार्यक्रम तथा अभियान सञ्चालन भइरहेका छन् ।”

    गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारुले आगामी २०८३ सालभित्र बालमैत्री गाउँपालिका घोषणा गर्न पालिकास्तरबाट विभिन्न कार्यक्रमका साथ युवामैत्री पालिका निर्माणमा पनि जोड दिइएको बताए ।

    विद्यालयमा बालविवाह न्यूनीकरण गर्न बालविकासदेखि कक्षा १० सम्मका विद्यार्थीबीच बौद्धिक तथा शारीरिक प्रतियोगिता आयोजना गर्ने गरिएको छ ।

    गाउँपालिकाको अभियानअन्तर्गत वडालाई वि.सं. २०८२ भित्र बालमैत्री वडा घोषणा गर्ने लक्ष्यसहित काम भइरहेको निस्दी–२ का वडाध्यक्ष एवं बालमैत्री शासन समिति संयोजक फत्ते सिं दर्लामीले बताए ।

    बालविवाह विरुद्ध सचेतना जगाउन, बालअधिकारको प्रत्याभूति दिलाउन, बालबालिकाको शारीरिक र मानसिक विकासका लागि बालमेला आयोजना गरिएको उनले बताए ।

    सोमबार र मङ्गलबार पनि यहाँ बालमेला आयोजना गरिएको र वडा नं. २ बाट सुरु भएको बालमेला यस वर्ष पालिकाको सातवटै वडामा सञ्चालन गर्ने योजना रहेको गाउँपालिकाको बालकल्याण शाखाले जनाएको छ ।

    वडा कार्यालयको आयोजना र गाउँपालिकाको आर्थिक सहयोगमा वैशाख महिनाभित्र सबै वडामा बालमेला कार्यक्रम गरिने बालकल्याण अधिकारी पाण्डेले जानकारी दिए ।


    प्रकाशित : सोमबार, बैशाख २२ २०८२१०:५४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार