काठमाडौं । नेपाल किराँत (राई) महिला संघको आयोजना, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सहयोगमा वि.सं. २०८१ चैत २१ देखि वि.सं. २०८२ वैशाख १९ गतेसम्म काठमाडौं महानगरपालिका वडा नं. ५, हाँडीगाउँ, काठमाडौंस्थित भृकुटी टेक्सटायल उद्योगसँगको समन्वयमा संचालन गरेको २५ दिने ढाका कपडा बुनाइ तालिम सम्पन्न भएको छ ।
नेपाल किराँत (राई) महिला संघकी अध्यक्ष शुशिला माया गोले राईको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय आदिवासी जनजाति महिला महासंघकी अध्यक्ष ङिमी शेर्पा, विशेष अतिथि पूर्व माननीय एवं भृकुटी टेक्सटायल उद्योग संचालककी अध्यक्ष रत्न गुरुङ, अतिथि सल्लाहकार एवं अधिवक्ता शान्ति कुमारी राई, नेपाल किराँत (राई) महिला संघकी निवर्तमान अध्यक्ष सुजा राईलगायतले महिला प्रशिक्षार्थीहरुलाई सीप सिकेर स्वरोजगार बनि आयआर्जनको बाटोमा लाग्न अनुरोधसहित आगामी दिनमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
यसैबीच नेपाल किराँत (राई) महिला संघकी अध्यक्ष शुशिला माया गोले राई, प्रमुख अतिथि राष्ट्रिय आदिवासी जनजाति महिला महासंघकी अध्यक्ष ङिमी शेर्पा, विशेष अतिथि पूर्व माननीय एवं भृकुटी टेक्सटायल उद्योग संचालककी अध्यक्ष रत्न गुरुङ, नेपाल किराँत (राई) महिला संघकी निवर्तमान अध्यक्ष सुजा राईलगायतले हालै सम्पन्न निर्वाचनबाट निर्वाचित आदिवासी जनजाति युवा महासंघकी उपाध्यक्ष सुप्रिय राईलाई हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।
यसैगरी २५ दिने ढाका कपडा बुनाइ तालिमका प्रशिक्षक रामलाल श्रेष्ठले प्रशिक्षार्थीहरुको निरन्तरता एवं सीपप्रतिको लगाव तथा मेहनतको चर्चा गरेका छन् । तालिममा १७ जना प्रशिक्षार्थीहरुले भाग लिएका थिए ।
उक्त कार्यक्रममा भृकुटी टेक्सटायल उद्योग संचालककी उपाध्यक्षद्वय मिना श्रेष्ठ र विना राई, सचिव मन्दिरा श्रेष्ठ, कार्यक्रम संचालिका एवं सचिव शुष्मा राई र कोषाध्यक्ष विना वान्तवा राईको सहभागिता थियो ।


