
काठमाडौं । त्रिभुवन राजपथको नागढुङ्गा-पिप्लामोड सडक निर्माण तथा सुधार गर्नुपर्ने भएकाले नागढुङ्गा-नौबिसे खण्ड यही वैशाख २२ गतेदेखि रातिमा बन्द गरिने भएको छ ।
नागढुङ्गा-मुग्लिङ सडक योजना (पूर्वी खण्ड)ले उक्त जानकारी गराएकोले सोहीअनुसारको व्यवस्था मिलाउने गरी आवश्यक तयारी थालिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।
नागढुङ्गा-मुग्लिङ सडक योजना (पूर्वी खण्ड)ले शनिबार एक सूचना जारी गरी सम्बन्धित जिल्ला प्रशासन कार्यालयको समन्वयमा वैशाख २२ देखि वैशाख ३१ गते राति ११ बजेदेखि ३ बजेसम्म उक्त सडकमा सवारीसाधन आंशिकरूपमा रोकी निर्माण गर्नुपर्ने भएकोले सार्वजनिक सूचना प्रकाशित गरी जानकारी गराएको उनले उल्लेख गरे ।
काठमाडौंबाट जाने सवारीसाधन नागढुङ्गा चेकपोस्टमा रोकिने र नौबिसेबाट काठमाडौंतर्फ आउने सवारीसाधन खत्रीपौवा पुलमा रोकिने जनाइएको छ ।
आयोजनाले सीतापाइला-भीमुढङ्गा-रामकोट-धार्के सडक तथा सामाखुशी-टोखा-गुर्जेभञ्ज्याङ छहरे-त्रिशुली-गल्छी सडक प्रयोग गर्न पनि अनुरोध गरेको छ ।
उपरोक्त स्थानमा रोकिएका सबै सवारीसाधनलाई बिहान ३ बजेपछि मात्र छाडिने जनाइएको छ ।
सूचनामा भनिएको छ, “रोकिएको समयमा सवारीसाधन रोक्दा र सवारी चलाउँदा कडाइका साथ आफ्नो लेन अनुशासन कायम राख्नुहुन तथा सवारी लामबद्ध भएका अवस्थामा जथाभावी ओभरटेक नगर्नसमेत अनुरोध गरेको छ । साथै एम्बुलेन्स र सुरक्षा निकायका सवारीसाधन निर्वाधरूपमा सञ्चालन हुने व्यहोरासमेत जानकारी गराइन्छ ।”


