डोटी । डोटीमा अनाथ बालबालिकालाई आवासीय सुविधासहित निःशुल्क शिक्षा प्रदान गरिने भएको छ ।
जिल्लाको बडिकेदार गाउँपालिकाले वडा नं. १ स्थित दुर्गा माध्यमिक विद्यालय, देउलीमा छात्रावास सञ्चालन गरेर अभिभावकविहीन बालबालिकालाई खाने-बस्ने व्यवस्थासहित निःशुल्क पठन-पाठनको प्रबन्ध गरिने गाउँपालिकाले जनाएको छ ।
शैक्षिक सत्र २०८२ वैशाखदेखि सञ्चालन हुने गरी तयारी गरिएको गाउँपालिका अध्यक्ष भैरवबहादुर साउदले बताए ।
उनले भने, “अहिले गाउँपालिकाले पालिकाभित्र स्थायी बसोबास भएका आमा र बुबा दुवै नभएका आर्थिकरुपले विपन्न बालबालिकाका लागि निःशुल्क आवासीय सुविधासहितको पठन-पाठनको व्यवस्था गरिने बताए ।
साथै सो कार्यक्रम सञ्चालन गर्नका लागि गाउँपालिकाका पाँचै वडाभित्र स्थायी बसोबास भएका कक्षा १ देखि १० सम्म अध्ययन गर्ने विद्यालय उमेर समूहका बालबालिकाले गाउँपालिकाका टुहुरा असहाय, आर्थिकरुपले विपन्न भएका विद्यार्थीका लागि आर्थिक सहायतासम्बन्धी कार्यविधि २०८१ निर्माण गरी तयारी गरिएको पनि अध्यक्ष साउदले बताए ।
गाउँपालिकाको टुहुरा असहाय, आर्थिकरुपले विपन्न भएका विद्यार्थीका लागि आर्थिक सहायतासम्बन्धी कार्यविधि-२०८१ अनुसूची १ बमोजिम सातदिने सूचना निकाली अनाथ बालबालिकाको लागत सङ्कलन पनि भइसकेको अध्यक्ष साउदले बताए ।
गाउँपालिकाको गाउँ कार्यपालिकाबाट निर्णय गरी अनाथ बालबालिकालाई निःशुल्क पठन-पाठन तथा खान-बस्ने व्यवस्थाका लागि वैशाख, जेठ र असारका लागि रु. चार लाख रकम विनियोजित गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बुढाले बताए ।
बाँकी रकम आर्थिक वर्ष २०८२ को अधिवेशनबाट विनियोजित गरी व्यवस्था गरिने पनि प्रमुख प्रशासकीय अधिकृत बुढाले बताए ।
गाउँपालिकाको शिक्षा शाखाको सहजीकरणमा अनाथ बालबालिकालाई निःशुल्क पठन-पाठनका लागि पहल भइरहेको गाउँपालिका शिक्षा शाखा प्रमुख विवेक देउवाले बताए ।
आवासीयरुपमा सञ्चालन गर्न र व्यवस्थापन गर्नका लागि एक जना कर्मचारी गाउँपालिकाले व्यवस्था गर्ने तथा बाँकी पठन-पाठनका लागि सम्बन्धित विद्यालयले गर्नुपर्ने शिक्षा शाखा प्रमुख देउवाले बताए ।

