२०८३, कार्तिक १५ गते आइतबार

हेम्जामा राष्ट्रिय आलु महोत्सव

हेम्जामा राष्ट्रिय आलु महोत्सव


  • मेरोभ्यूज
  • बैशाख १८, २०८२ बिहीबार

  • हेम्जामा राष्ट्रिय आलु महोत्सव

    कास्की । आलु गाउँका रूपमा प्रख्यात पोखरा महानगरपालिका–२५ हेम्जामा राष्ट्रिय आलु महोत्सव सुरु भएको थियो ।

    ‘सुन्दर ठाउँ हेम्जा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँः आलु एक परिकार अनेक’ नारासहित वैशाख ३ गतेसम्म महोत्सव सञ्चालन भएको थियो ।

    आयोजक विष्णुपादुका क्लबका अध्यक्ष वसन्त श्रेष्ठले महोत्सवसँगै यहाँ उत्पादन भएको आलु तथा अन्य ताजा तरकारीको प्रचार-प्रसार, व्यावसायिक कृषि पर्यटकीय क्षेत्रका चिनाउने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए ।

    यहाँको आलु छिटो पाक्ने, विषादी कम प्रयोग हुने तथा स्वादिष्ट रहेको भन्दै धेरैको रोजाइमा पर्ने गरेको छ । यसैको प्रचारका लागि महोत्सवस्थलमा ५० हजार केजी आलुको पहाड निर्माण गरिएको छ ।

    स्थानीय कृषकबाट सङ्कलित आलुबाट पहाड निर्माण गरिएको आलु सङ्कलन तथा कृषि परिचालन उपसमिति संयोजक जयराज तिमिल्सिनाले जानकारी दिए ।

    उनका अनुसार आलुको पहाडबाटै आलु निकालेर बिक्री गरिन्छ । बिक्री गर्दा घटेको आलु थपेर अन्तिम दिनसम्म आलुको पहाड कायम राखिने उनले बताए ।

    तिमिल्सिनाका अनुसार महोत्सवमा प्रतिकेजी रु. ४२ मा आलु बिक्री हुने गरेको छ । हेम्जाको कुल १३ हजार पाच सय हेक्टर क्षेत्रफलमध्ये पाच सय ५० हेक्टरमा आलुखेती गर्ने गरिएको छ । यहाँका दुई हजार परिवार कृषिमा आधारित रहेकामा एक हजार ५० कृषकले व्यावसायिक आलुखेती गर्दै आएका छन् ।

    महोत्सव उद्घाटन गर्दै पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले यहाँ कृषिलगायत अन्य क्षेत्रको विकासका लागि महानगरले साथ दिने बताए ।

    उनले उत्पादित कृषिउपजको बिक्री तथा वितरणका लागि महानगरले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएकाले त्यसबाट लाभ लिन आग्रह गरे ।

    कृषि विकास मन्त्रालय गण्डकीका सचिव वासुदेव रेग्मीले खेतीयोग्य जमिन घट्दै जानु चिन्ताको विषय भएको बताए ।

    पोखरामा मागको ९५ प्रतिशत बढी आलु अन्यत्रबाट ल्याउनु परेको जानकारी दिँदै उत्पादन वृद्धि गर्नुपर्ने खाँचो औँल्याए ।

    महोत्सवमा कृषक तथा कृषिसम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रतियोगिता, कलाकारहरूका प्रस्तुति, कृषक सम्मान, विभिन्न कृषिउपज, बीउबिजन तथा अन्य कृषियन्त्र पनि प्रदर्शनीमा राखिएका छन् ।


    प्रकाशित : बिहीबार , बैशाख १८ २०८२०८:४४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार