पर्सा । वीरगञ्जको घण्टाघर चोकमा अवस्थित घडीको सुईमा बिहानको ६ बजेपछि वीरगञ्ज आसपासबाट कामको खोजीमा आउने श्रमिकहरुको चहलपहल ह्वात्तै बढ्ने गर्छ ।
घण्टाघर चोकको छेवैमा रहेको नेपाल टेलिकमको भवनअगाडिको मुख्य सडकमा साइकल पार्किङ गरेर श्रमिकहरु सडकमा नै रोजगारदाताको पर्खाइमा बसिरहेका हुन्छन् ।
सडकमा बसिरहेका श्रमिकतर्फ फर्किएर नजर लगाउने नयाँ मान्छे देख्ने बित्तिकै कामको खोजीमा आएका श्रमिकहरु काम दिने नाइके वा रोजगारदाताको मान्छे हो कि ? भनेर दौडिएर झुम्मिने गर्छन् । यो दृश्य घण्टाघर चोकमा वर्षौंदेखि जारी छ ।
अन्य दिनजस्तै चैत २१ गते पनि वीरगञ्ज महानगरपालिका–२३ प्रसौनी बिर्ताका रामबालक चौहान बिहानको नृत्यकर्म सकेपछि कामको खोजीमा वीरगञ्जको घण्टाघर चोकमा आएको छ ।
“कति बेला काम दिने नाइके आउँछन् भनेर हेरेको हेर्यै गरेका हुन्छौँ,” घण्टाघरतर्फको घडीको सुई देखाउँदै चौहानले भने, “हेर्नुस् त अहिले बिहानको ९ बजिसक्यो, काम दिने मान्छे अहिलेसम्म आइपुगेका छैनन् ।”
सतचालिस वर्षे चौहान आफ्नै गाउँघरमा काम नपाएपछि रोजीरोटी चलाउनका लागि घण्टाघर धाउनुपर्ने बाध्यतामा रहेको सुनाउँछन् । चौहान आफू राजमिस्त्री भएको बताउँछन् ।
“आफ्नै गाउँघरमा काम पाए त किन यहाँ धाउनुपर्थ्यो र ?” उनले भने, “छ छोरी र एक छोरा पाल्नुपर्ने बाध्यताले नै यहाँसम्म डोर्याएको हो । दुःखजिलो गरेर भए पनि छोराछोरीलाई राम्रो शिक्षादीक्षा पनि दिएको छु ।”
चौहानले काम पाउँदा आफूले दैनिक रु. नौ सय कमाई गर्ने बताउँछन् । “जग्गाको नाउँमा पाँच धुर जग्गामा एउटा घर मात्रै छ,” उनले भने, “दैनिक रु. नौ सयको ज्याला मजदूरीले आफूसहित नौजनाको परिवार पाल्नुपर्ने जिम्मेवारी छ ।”
चौहानले नियमित काम नपाउँदा खानलाउन पनि समस्या हुने गरेको गुनासो गरे । वीरगञ्जको घण्टाघर चोकमा कामको खोजीमा भौँतारिनेमा चौहान एक्ला छैनन् । उनीजस्तै दिनहुँ कामको खोजीमा यहाँ सयौँ जना मजदूर आउने गर्छन् ।
यहाँ दिनहुँ कामको खोजीमा धाउनेमा वीरगञ्ज महानगरपालिका–२२ का ४५ वर्षे राज करिम पनि छन् । “काम पायो भने त सात जनाको परिवार पाल्न कुनै गाह्रो छैन,” उनले भने, “काम पाएन भने त परिवारका सदस्यलाई के खुवाउने भन्ने चिन्ताले सताउने गर्छ ।”
करिमका अनुसार वीरगञ्जमा ‘लेबर’ (मजदूर) काम गर्ने मजदूरको ज्यालादारी पनि समान नभएको गुनासो पोख्छन् । “हाम्रो कामको कुनै दररेट छैन । कसैले एक दिनको सात सय ५० दिन्छन् । कसैले छ सय के गर्नु काम नगरेर पनि भएन,” उनले भने, “पहाडी जिल्लाको तुलनामा तराई–मधेसमा ज्याला निकै कम पाइने गर्छ ।” घण्टाघर चोक वर्षौदेखि श्रमिक र रोजगारदाताका लागि चौतारी बन्दै आइरहेको छ ।
वीरगञ्ज महानगर–२ छपकैयाका रामपुकार साह भाग्य बलियो भएको दिन मात्रै काम पाइने दाबी गर्छन् । “दिनदिनै कामको खोजीमा आउने गर्छौं । तर कुनै दिन काम पाउँछ, कुनै दिन रित्तै हात फर्किनुपर्छ,” उनले भने, “काम पाइएन भने त बूढीआमासहितको सातजनाको परिवारलाई के खुवाउने भन्ने चिन्ताले सताइहाल्छ नि ।”
साहले चार छोरा, श्रीमती र आमासहितको परिवारको गर्जो टार्दै आइरहेको बताए । “म कहिल्यै यो काम, त्यो काम भन्ने गर्दिनँ,” उनले भने, “जे काम पाइन्छ त्यही गर्ने हो । हामी यहाँ पनि काम गर्नकै लागि आएका हौ नि ।” साह मजदूरहरु बिहानदेखि दिउँसो २ बजेसम्म कामको खोजीमा पर्खिने बताउँछन् ।
“दिनको दुई बजेसम्म पनि आधा दिनको भएनि काम पाइएला कि भनेर पर्खिने गर्छौं” उनले भने, “दुई बजेपछि भने काम पाइएन भन्दै फर्किने हो ।”
घण्टाघरमा भेटिनुभएका समिमा कन्स्ट्रक्सन प्रा.लि. वीरगञ्जका सञ्चालक नियाजबाबु शेखले प्रसौनी नरकट्टियामा नाला निर्माणका लागि १५ जना मजदूरको खोजीमा आएको बताए ।
“प्रसौनी नरकट्टियामा नाला बनाउने कामको ठेक्का लिएका छौँ । त्यसका लागि मजदूर चाहिएर यहाँ लिन आएको हुँ,” उनले भने, “आवश्यकता अनुसारका मजदूरहरु भेटिने भएकाले पनि यहाँ आउने गर्छौं ।” सञ्चालक शेखले औसतमा मजदूरहरुको दररेट छ सयदेखि सात सय रुपैयाँ रहेको बताए ।
रौतहटको गौर नगरपालिका–६ सबगाडा स्थायी घर भएका मोहम्मद मम्ताज मिया पनि विगत पाँच वर्षदेखि घण्टाघर चोकमा कामको खोजीमा दिनहुँ धाउनेमा पर्छ ।
“लेबर मजदूरको काम दिनदिनै भने पाइँदैन । तीन दिन काम गर्यो । फेरि तीन दिन बस्नुपर्ने बाध्यता छ,” उनले भने, “पछिल्लो समय मन्दीका कारणले घरहरु कम बन्दा पनि काम पाउन मुस्किल भइरहेको छ ।”
मियाँले मुस्किलले दैनिक रु. साढे तीन सय बचत गर्ने बताउँछन् । “गाउँघरमा बुबाआमासहितको परिवार पाल्नुपर्ने दायित्व छ,” उनले भने, “काम पाउँदा त जेनतेन गुजारा चलाउँदै आइरहेका छौँ ।”
वीरगञ्ज महानगरपालिका–२१ पटेल नगरका वीरेन्द्र पटेल आफ्नो घरको भुइँ ढलान गर्नका लागि दुईजना मजदूर खोज्न घण्टाघर चोकमा आउनासाथ मजदूरहरुले ‘मलाई लैजानुस्’ भनेर तँछाडमछाड नै गरे ।
“यहाँ मजदूर छानीछानी लैजान पाइने भएकाले पनि आएको हुँ,” उनले भने, “गाउँघरमै काम गर्ने मान्छे नपाएपछि त यहाँ आउनुपरेको हो ।”
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि गौतमले वीरगञ्जको घण्टाघर चोक रोजगारदाता र श्रमिकका लागि ‘श्रमिक बैङ्क’ जस्तै गरेर चल्दै आइरहेको बताए ।
“घण्टाघर चोकमा खासगरी अदक्ष खालका श्रमिकहरु कामको खोजीमा आउने गर्छन् । उनीहरु विशेष गरेर निर्माण क्षेत्र र ‘लोडअनलोड’ गर्ने प्रकृतिका मौसमी श्रमिक हुन्,” उनले भने, “कसैको घर ढलान गर्नका लागि ३० जना श्रमिक चाहियो भने नाइके आएर श्रमिक लिएर जाने परम्परा छ ।”
अध्यक्ष गौतमले घण्टाघरमा कामको खोजीमा आउने श्रमिकलाई उद्योगधन्दामा काम लगाउन अप्ठेरो हुने गरेको बताए ।
“उद्योगधन्दामा नयाँ खालका मजदूरलाई बिस्तारै काम सिकाएर काममा पोख्त बनाएर काम गराउने गर्छौं,” उनले भने, “मौसमी काम गर्ने मजदूरलाई उद्योगधन्दामा काम लगाउन धेरै गाह्रो छ । उनीहरु नियमित काममा नआउने प्रवृत्तिले पनि मौसमी मजदूर व्यवस्थापन गर्न समस्या हुने गर्छ ।”
बारा–पर्सा औद्योगिक करिडोरमा अधिकांश भारतीय मजदूर कार्यरत छन् ।
करिडोरमा झन्डै ५० हजार कामदार कार्यरत रहेको बताइन्छ । पर्सा र बारामा सानाठूला उद्योगधन्दा कति छन् भन्ने यकिन तथ्याङ्क छैन, तर आठ सयदेखि एक हजार दुई सयको हाराहारीमा उद्योगधन्धा रहेको अनुमान गरिएको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय आर्थिक गणना-२०७५ अनुसार पर्सा जिल्लामा औद्योगिक उत्पादन गर्ने प्रतिष्ठानको सङ्ख्या एक हजार छ सय ४६ रहेको छ ।
त्यस्तै कृषि, वन तथा माछापालन व्यवसाय दर्ता भएका प्रतिष्ठानको सङ्ख्या एक सय २६ रहेको छ । बारामा पनि औद्योगिक उत्पादन गर्ने प्रतिष्ठानको सङ्ख्या एक हजार दुई सय २५ रहेको छ । त्यस्तै कृषि, वन तथा माछापालन व्यवसाय दर्ता भएका प्रतिष्ठानको सङ्ख्या भने एक सय ५२ रहेको छ ।

