२०८३, कार्तिक १७ गते मंगलबार

भानुमति अकबरे खुर्सानीको पकेट क्षेत्र

भानुमति अकबरे खुर्सानीको पकेट क्षेत्र


  • मेरोभ्यूज
  • चैत्र २४, २०८१ आइतबार

  • भानुमति अकबरे खुर्सानीको पकेट क्षेत्र

    दमौली । तनहुँको भिमाद नगरपालिका–९ भानुमतिलाई अकबरे खुर्सानीको पकेट क्षेत्रको रुपमा विकास गर्न लागिएको छ ।

    भानुमतिस्थित जौपानी कृषकहरुले एक सय रोपनी जग्गामा अकबरे खुर्सानीको खेती गर्ने तयारी गरेका छन् ।

    कृषि उत्पादन वृद्धि गरी आत्मनिर्भर बन्न यहाँका स्थानीयवासीले अकबरे खुर्सानी खेती गर्न लागेका हुन् । उक्त जग्गामा खेतीका लागि हाल एक लाख अकबरे खुर्सानीको बेर्ना तयार भएको पूर्व वडाध्यक्ष इमान थापाले जानकारी दिए ।

    एक लाख ६० हजार बेर्ना उत्पादनको लक्ष्य रहेपनि कम उत्पादन भएको उनको भनाइ छ ।

    उक्त खेतीबाट कृषकहरुले वार्षिक दुई लाख ५० हजार केजी खुर्सानी उत्पादन गर्ने लक्ष्य राखेको कृषकसमेत रहेका थापाले बताए । उनका अनुसार अकबरे खुर्सानी विक्रीबाट वार्षिक रु. छ करोड २५ लाख आम्दानी हुने लक्ष्य रहेको छ ।

    उत्पादन भएको खुर्सानी पोखरा, भिमाद, खैरेनीटारका बजारहरुमा विक्री गर्ने योजना रहेको छ । हाल बजारमा प्रति केजी रु. तीन सयदेखि रु. पाँच सय थोक मूल्य रहेको छ । खुर्सानीको बिरुवा उत्पादनका लागि वडा कार्यालयले रु. एक लाख अनुदान दिएको थियो ।

    स्थानीयसमेत रहेका गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री किरण गुरुङले खुर्सानीको नर्सरीको निरीक्षण गर्दै यस वडाका कृषकलाई नेपालकै नमूना कृषक भइ देशको अर्थतन्त्रमा टेवा पुर्याउन र अरुको प्रेरणाको स्रोत बन्न आग्रह गरे ।

    उक्त वडाको ८ वटा टोल मोहरीया, पाइमी, कटनछाप, पाथर्दी, थामडाडा, सखेप, जौपानी र आस्पाग्दी भाँडडाडामा अर्कबरे खुर्सानी उत्पादनको लागि पकेट क्षेत्र बनाउने लक्ष्य राखिएको वडा सदस्य शिवकुमार आलेले बताए ।

    यस्तै यस ठाउँमा कफी खेतीका लागि एक लाख कफीको बिरुवा उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

    राष्ट्रिय चिया तथा कफी विकास बोर्ड गण्डकी प्रदेशसँग समन्वय गरी किसानहरुसँग कफी उत्पादनका लागि अन्तरक्रियासमेत गरिएको छ ।

    राष्ट्रिय चिया तथा कफी विकास बोर्ड गण्डकीका निमित्त क्षेत्रीय निर्देशक पवित्रा अधिकारीले यस ठाउँ कफी उत्पादनका लागि उपयुक्त रहेको बताए ।


    प्रकाशित : आइतबार, चैत्र २४ २०८१११:२६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार