२०८३, कार्तिक १७ गते मंगलबार

बस्ती बसेको ५१ वर्षपछि खानेपानी

बस्ती बसेको ५१ वर्षपछि खानेपानी


  • मेरोभ्यूज
  • चैत्र २४, २०८१ आइतबार

  • बस्ती बसेको ५१ वर्षपछि खानेपानी

    तनहुँ । सदरमुकाम दमौलीदेखि करिब तीन किलोमिटर पूर्वमा छ, व्यास नगरपालिका–१ भदुरडाँडा । चारैतिर वनजङ्गलले घेरिएको यस ठाउँमा सानो मानवबस्ती छ, जहाँ दलित समुदायका दश परिवारको बसोबास छ ।

    आफ्नो उब्जनी र रोजगारीको कुनै अवसर नभएका यी परिवारले दिनभर ज्यालामजदूरी गरेर छाक टार्दै आएका छन् । यो समस्या त छँदैछ, जङ्गल क्षेत्रमा भएर पनि स्थानीयले सामना गर्नुपरेको अर्को समस्या हो, खानेपानीको चरम अभाव ।

    स्थानीय हस्तबहादुर नेपालीले भने,“बस्तीदेखि रहेको खोल्साबाट पानी ल्याएर काम चलाइरहेका छौँ । करिब १५/२० मिनेट उकाली-ओराली गरेर पानी बोक्नुपर्ने बाध्यता बस्ती बसेदेखि कै हो ।”

    उनले चैत र वैशाखमा त्यो पानी पनि सुक्ने भएकाले थप समस्या हुने गरेको सुनाए । “चैत र वैशाख महिनामा खानेपानीको मुहान सुक्ने हुँदा झनै कठिनाइ भोग्नु परेको छ”, उनले भने,“ जङ्गलको बाटो हुँदै पानी लिन जानुपर्ने भएकाले वन्यजन्तुको पनि त्यस्तै डर छ ।”

    यही समस्या समाधानका लागि यस क्षेत्रमा खानेपानी विस्तारको योजना अगाडि बढेको छ । व्यास–१ स्थित भादगाउँ खानेपानी तथा उपभोक्ता संस्था र सङ्घीय सरकारको लगानीमा मादीनदी लिफ्ट खानेपानी योजनाअन्तर्गत उक्त बस्तीमा पनि खानेपानी विस्तार योजना अगाडि बढेको हो ।

    बस्ती बसेको एकाउन्न वर्षपछि भदु्रडाँडाका घरघरमा खानेपानी विस्तार गर्ने गरी योजना अगाडि बढेपछि स्थानीयवासी खुसी भएका छन् ।

    यहाँ ५० हजार लिटर क्षमताको ‘रिजर्भ’ टयाङ्की निर्माणका लागि ट्याङकीको बेस ढलान सम्पन्न गरी अन्य कार्य भइरहेका छन् । सोही योजनाअन्तर्गत यसअघि व्यास–१ अमिली भञ्ज्याङमा दुई लाख लिटर क्षमताको रिजर्भ टयाङ्की निर्माण भइसकेको छ ।

    सरकारको ७० प्रतिशत र भादगाउँ खानेपानी संस्थाको ३० प्रतिशत लगानीमा मादीनदी लिफ्ट खानेपानी आयोजनाको निर्माण भइरहेको संस्थाका व्यवस्थापक ईश्वर श्रेष्ठले जानकारी दिए ।

    “बस्ती विस्तारसँगै खानेपानीको समस्या हुने गरेकाले मादीनदी लिफ्ट योजना अघि बढाइएको हो”, उनले भने,“यो योजना सम्पन्न भएपछि वडावासीलाई सहज हुने विश्वास गरिएको छ ।” श्रेष्ठका अनुसार वि.सं. २०७९ भदौमा रु. १९ करोडको लागतमा पराजुली कन्स्ट्रक्सनसँग सम्झौता भइ काम अगाडि बढाइएको छ ।

    वि.सं. २०८० भदौभित्र सम्पन्न गर्नेगरी सम्झौता भए पनि निर्माण कार्यमा ढिलाइ हुँदा योजना सम्पन्न हुनसकेको छैन ।

    संस्थाका अध्यक्ष चिजबहादुर दरैले आवश्यक सहजीकरणपछि पछिल्लो समय निर्माण कार्यले गति लिएकाले छिट्टै कार्य सम्पन्न हुने जानकारी दिए ।

    वि.सं. २०५६ मा उक्त खानेपानी संस्था स्थापना भइ ५२ वटा सार्वजनिक धाराबाट पानी वितरण सुरुवात गरेकोमा हाल संस्थाले सानाठूला गरी चारवटा योजनाबाट दुई हजार छ सय ८० निजी धारा जडान गरी पानी वितरण गर्दै आइरहेको छ ।


    प्रकाशित : आइतबार, चैत्र २४ २०८१११:२५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार