२०८३, कार्तिक १७ गते मंगलबार

स्वतन्त्र प्रेसलाई जोगाउन सञ्चार जगत् एकताबद्ध हुनुपर्छ : अध्यक्ष प्रचण्ड

स्वतन्त्र प्रेसलाई जोगाउन सञ्चार जगत् एकताबद्ध हुनुपर्छ : अध्यक्ष प्रचण्ड


  • मेरोभ्यूज
  • चैत्र १६, २०८१ शनिबार

  • स्वतन्त्र प्रेसलाई जोगाउन सञ्चार जगत् एकताबद्ध हुनुपर्छ : अध्यक्ष प्रचण्ड

    काठमाडौं । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजाका समर्थकले गरेको तोडफोड र आगजनीका घटना कुनै हालतमा क्षम्य नभएको बताएको छ ।

    प्रेस सेन्टर नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशनको शनिबार काठमाडौं बैंक्वत, थापा गाउँ बानेश्वरमा उद्घाटन गर्दै अध्यक्ष दाहाल सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड र आगजनी गर्नेमाथि कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराए ।

    “गणतन्त्रवादीले निरङ्कुशतावादी र आपराधिक मनस्थितिका मान्छेलाई कडा कारबाही गरेर जनहितमा अगाडि बढ्ने यो सही समय हो”, अध्यक्ष प्रचण्डले भने, “सरकारले यो बेलामा कडा कदम चाल्यो भने हाम्रो समर्थन हुन्छ, तर सरकारले फेरि सम्झौता गर्ने र उनीहरुलाई मनोमानी गर्ने अवसर दियो भने त्यसले देशलाई फाइदा गर्दैन ।”

    राजावादीले स्वतन्त्र प्रेसलाई आक्रमणको निशाना बनाएको उल्लेख गर्दै अध्यक्ष दाहालले समाजलाई पछाडि धकेल्ने प्रवृत्तिविरुद्ध सिङ्गो सञ्चार जगत् एकताबद्ध हुनुपर्नेमा जोड दिए ।

    “अग्रगमन, शान्ति, विकासको चेतना फैलाउने प्रेस सामन्तीको निशाना बन्यो”, उनले भने, “निरङ्कुश प्रवृत्ति रोक्न सञ्चार क्षेत्रले विशेष भूमिका निर्वाह गर्नुपर्छ, यसो गर्न विलम्ब नगर्नुहोला ।”

    मुलुकको राजनीतिक परिवर्तनमा विगतदेखि नै सञ्चार क्षेत्रको योगदान रहेको जनाउँदै अध्यक्ष दाहालले लामो सङ्घर्षबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ बनाउन प्रेसको अझ सशक्त हुनुपर्ने बताए । साथै उनले उत्कृष्ट पत्रकार तथा सेन्टरका शाखाहरुलाई सम्मान गरे ।

    नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं पूर्व सभामुख अग्निप्रसाद सापकोटाले मुलुक समाजवादी यात्रामा अघि बढिसकेकाले पश्चगमनतर्फ फर्कने प्रयास कुनै हालतमा मान्य नहुने बताए ।

    पार्टीका उपमहासचिव एवं पूर्वमन्त्री जनार्दन शर्माले गणतन्त्रवादी शक्तिले आफूलाई सुधारेर सामन्तवादका विरुद्ध एकताबद्ध हुँदै जनभावनाको कदर गर्नुपर्ने बताए ।

    प्रेस सेन्टर नेपालका संस्थापक अध्यक्ष महेश्वर दाहालले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा सङ्गठन सदैव क्रियाशील हुने जानकारी दिए ।

    नेपाल पत्रकार महासङ्घ, प्रेस युनियन नेपाल, प्रेस चौतारी नेपाललगायत पत्रकार सङ्घ/सङ्गठनका अध्यक्ष तथा प्रतिनिधिले गणतन्त्रको विकल्प निरङ्कुश राजतन्त्र हुननसक्ने भन्दै प्रेस स्वतन्त्रता र जनअधिकार रक्षाका लागि खबरदारी गरिरहने प्रतिबद्धता व्यक्त गरे ।


    प्रकाशित : शनिबार, चैत्र १६ २०८११०:११
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार