२०८३, कार्तिक १७ गते मंगलबार

दाङमा मकै उत्पादन बढ्यो

दाङमा मकै उत्पादन बढ्यो


  • मेरोभ्यूज
  • चैत्र १३, २०८१ बुधबार

  • दाङमा मकै उत्पादन बढ्यो

    दाङ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (मकै सुपरजोन)अन्तर्गत दाङको देउखुरी क्षेत्रमा तीन बाली मकैखेती हुने गरेको छ ।

    बर्सेनी तीन हजार आठ सय हेक्टर क्षेत्रमा हिउँदे, वसन्ते र बर्खे मकैखेती हुने गरेको छ । तीमध्ये वसन्ते मकैखेती गर्ने किसान बढी छन् ।

    परियोजनाका सूचना अधिकारी चन्द्रशोभा कँडेलका अनुसार तीन बाली लगाउँदा ३२ हजार मेट्रिक टन बढी उत्पादन हुने गरेको छ ।

    सूचना अधिकारी कँडेलका अनुसार आर्थिक वर्ष २०८०/८१ मा मात्र ३२ हजार आठ सय ९४ मेट्रिक टन मकै उत्पादन भएको थियो । बर्सेनी उत्पादन बढिरहेको उनको भनाइ छ । आर्थिक वर्ष २०७९/८० मा २६ हजार चार सय ५५ मेट्रिक टन मकै उत्पादन भएको थियो । देउखुरी क्षेत्रमा रामपुर हाइब्रिड-१० जातको मकै लगाउने गरिएको छ ।

    सूचना अधिकारी कँडेलका अनुसार बर्सेनी उत्पादन क्षेत्रफल पनि बढिरहेको छ । आ.व. २०७९/८० मा तीन हजार सात सय हेक्टरमा मकैखेती गरिएकोमा आ.व. २०८०/८१ मा तीन हजार आठ सय हेक्टरमा मकैखेती हुने गरेको हो । यसरी बर्सेनी खेती गर्ने किसानको आकर्षण बढिरहेको उनले बताए ।

    कार्यालयले किसानलाई ५० प्रतिशत अनुदानमा बीउ उपलब्ध गराउने गरेको छ । रामपुर हाइब्रिड-१० सहित अरुण-२ र रामपुर कम्पोजिट जातको मकैको बीउ पनि अनुदानमा दिने गरिएकोले उक्त मकैखेती गर्ने गरिएको छ ।

    यसरी किसानले उत्पादन गरेको मकै पसल तथा दाना उद्योगमा बिक्री हुने गरेको छ भने बीउ कम्पनीले बीउ खरिद गरिदिने भएकोले बजारीकरणका लागि पनि समस्या नरहेको सूचना अधिकारी कँडेलको भनाइ छ ।

    मकैखेतीका लागि विभिन्न प्रविधिको प्रयोग गर्ने गरिएको छ । भौगोलिक बनावटअनुसार रोप्नका लागि सिडड्रिल, ज्याव प्लान्टर तथा केही स्थानमा ट्रयाक्टरले समेत मकै छरेर पछि रोटाभेटर लगाउने गरेका छन् ।

    विगतमा बाँझो राखिएको जग्गामा अहिले मकैखेती गर्ने गरिएको छ । जसले गर्दा किसानलाई आम्दानीको स्रोत बढिरहेको सूचना अधिकारी कँडेलले जानकारी दिए ।

    दाङको लमही नगरपालिका, गढवा, राप्ती र राजपुर गाउँपालिकामा यसरी मकैखेती हुने गरेको छ । बर्खे मकै वैशाख-जेठमा, हिउँदे मकै भदौ-असोजमा र वसन्ते मकै माघ-फागुनमा लगाउने गरिन्छ ।

    विभिन्न बालीको विशिष्टिकृत क्षेत्र स्थापना गरी उत्पादन, मूल्य शृङ्खला, आधुनिकीकरण र व्यावसायीकरणमा बढावा दिने उद्देश्यले दाङमा आर्थिक वर्ष २०७३/७४ देखि मकै सुपरजोन कार्यक्रम सञ्चालनमा आएको हो । सुपरजोन कार्यक्रम सञ्चालन भएपछि देउखुरीमा मकै उत्पादनको व्यावसायिकरूपमा फड्को मार्न थालेको छ ।

    “यस क्षेत्रमा बर्खे मकैखेती बढी हुने र किसानको बुझाइ मकै बर्खे सिजनमा मात्र गर्न सकिन्छ भन्ने रहेको थियो”, सूचना अधिकारी कँडेलले भने, “सर्वप्रथम किसानको यस प्रकारको सोचाइ परिवर्तन गर्न जरुरी थियो । यसका लागि हामीले प्रतिफलमा आधारित प्रोत्सहान अनुदान कार्यक्रममार्फत हिउँदे र वसन्ते खेतीलाई पहिलो प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन भएको हौं ।”

    अहिले देउखुरीका किसानमा हिउँदे तथा वसन्ते सिजनमा समेत मकैखेती गर्ने परिपाटीको विकास भएको छ । देउखुरी क्षेत्रका विभिन्न स्थानमा कष्टम हायरिङ सेन्टरहरू स्थापना भइ सञ्चालनमा छन् । जसबाट किसानले मकैखेतीका लागि आधुनिक कृषियन्त्र भाडामा लिएर पनि खेती गर्ने गरेका छन् ।


    प्रकाशित : बुधबार, चैत्र १३ २०८१११:२८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार