२०८३, कार्तिक १७ गते मंगलबार

बाम्राङ र हलेसीको च्यास्मिटारमा दुना–टपरी उद्योग सञ्चालन

बाम्राङ र हलेसीको च्यास्मिटारमा दुना–टपरी उद्योग सञ्चालन


  • मेरोभ्यूज
  • चैत्र ८, २०८१ शुक्रबार

  • बाम्राङ र हलेसीको च्यास्मिटारमा दुना–टपरी उद्योग सञ्चालन

    खोटाङ । दिक्तेल-रूपाकोट-मझुवागढी नगरपालिका-३ बाम्राङमा दुना-टपरी उत्पादन सुरू गरिएको छ ।

    बाम्राङस्थित सङ्खुका ज्ञानबहादुर राईले मेसिनमार्फत सालको पात प्रयोग गरेर व्यावसायिकरूपमा दुना-टपरी उत्पादन गर्न सुरू गरेको हो ।

    प्लाष्टिकजन्य वस्तुले सहर बजार मात्र नभएर गाउँघरसमेत फोहर बनाउनुका साथै वातावरणमा प्रतिकूल असर गरिरहेकाले त्यसलाई विस्थापित गर्न सालको पातबाट दुना-टपरी बनाएर उपयोगमा ल्याउने उद्देश्यले उद्योग स्थापना गरेको सञ्चालक राईले बताए ।

    मेसिनमार्फत उत्पादन गरिएको दुनाको मूल्य प्रतिगोटा रू. पाँच र टपरीको प्रतिगोटा रू. आठका दरले निर्धारण गरिएको जनाइएको छ ।

    निम्न आर्थिक अवस्थाका महिलालाई रोजगारीको अवसरसमेत दिलाउने उद्देश्यले दुना-टपरी उद्योग स्थापना गरिएको सञ्चालक राईले जानकारी दिएको छ ।

    “सालको पातबाट बनाइने दुना-टपरीको कारण सालको पातसमेत सदुपयोग भएको छ । जङ्गलबाट टिपेर ल्याएको सालको पातलाई प्रतिमुठा रू. ३५ देखि रू. ६० सम्ममा खरिद गर्दै आएको छु”, उनले भने, “बिना प्रयोग जङ्गलमा खेर गइरहेका सालको पातलाई उपयोग गर्ने काम सुरू भएको छ । दुना-टपरी गाँस्नेलाई प्रतिगोटा रू. एकका दरले दिने गरेको छु । यसले निम्न आर्थिक अवस्थाका स्थानीयलाई रोजगारीको अवसरसमेत दिलाइएको छ ।”

    गाउँमा हुने हरेक बिहे-कार्जे, भोज-भतेर तथा पूजापाठमा दुना-टपरी प्रयोग एवं त्यसमा राखेर खाने परम्परा लोप हुनै लागेकाले पनि मेसिनमार्फत व्यावसायिकरूपमा दुना-टपरी बनाउन सुरू गरिएको सञ्चालक राईले बताए ।

    “गाउँघरमा हुने अधिकांश काजभोजमा प्लाष्टिकको भाडा प्रयोग हुने थालेका छन् । यो स्वास्थ्यका लागि मात्र नभइ वातावरणीय हिसाबले पनि ठीक होइन”, उनले भने, “दुना-टपरीमा खाने परम्परा लोप हुनै लागेकाले पनि मेसिनमार्फत व्यवसायिकरूपमा दुना-टपरी बनाउन सुरू गरेका छौँ । यसप्रति सम्बन्धित निकायले ध्यान दिन जरूरी छ ।”

    बाम्राङमा उत्पादित दुना-टपरी गाउँमा हुने पूजापाठ, विवाह तथा व्रतबन्धका साथै जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा खपत हुने गरेको जनाइएको छ । बाम्राङमा दुना-टपरी उद्योग सञ्चालन भएपछि उपभोक्तालाई समेत सहज भएको छ ।

    उता, हलेसी तुवाचुङ नगरपालिका-३ च्यास्मिटारमा दुना-टपरी उद्योग सञ्चालन गरेको छ । त्रिधार्मिकस्थल हलेसी दर्शन गर्न आउने दर्शनार्थीलाई लक्षित गर्दै नगरपालिकाले दुना-टपरी उद्योग सञ्चालन गरेको हो ।

    च्यास्मिटार कृषि महिला सहकारी संस्थामार्फत सञ्चालित उद्योगमा उत्पादित दुना प्रतिगोटा रू. पाँच र टपरी प्रतिगोटा रू. दशमा बिक्री सुरू गरिएको छ ।

    सहकारी संस्थामा आबद्ध महिलालाई सात दिनको तालिम दिएर दुना-टपरी उद्योग सञ्चालनमा ल्याइएको नगरप्रवक्ता एवं वडा नं. ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिए ।

    सुक्खाग्रस्त क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकाले अर्खौलेमा पनि दुना-टपरी उद्योग सञ्चालन गर्ने तयारी गरिरहेको जनाइएको छ ।

    हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसीमा दर्शन तथा पूजापाठ गर्न आउने भक्तजनलाई अनिवार्य स्थानीयस्तरमा उत्पादित दुना-टपरी मात्र प्रयोग गर्ने/गराउने तयारी गरिएको नगरप्रमुख विमला राईले जानकारी दिएको छ ।


    प्रकाशित : शुक्रबार, चैत्र ८ २०८११०:१७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार