२०८३, कार्तिक १७ गते मंगलबार

सुशासन र समृद्धिका पक्षमा देशव्यापी जनमत बढ्दै गएको छः अध्यक्ष प्रचण्ड

सुशासन र समृद्धिका पक्षमा देशव्यापी जनमत बढ्दै गएको छः अध्यक्ष प्रचण्ड


  • मेरोभ्यूज
  • फाल्गुण ३, २०८१ शनिबार

  • सुशासन र समृद्धिका पक्षमा देशव्यापी जनमत बढ्दै गएको छः अध्यक्ष प्रचण्ड

    मकवानपुर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन र समृद्धिका पक्षमा देशव्यापी जनमत बढ्दै गएको बताएका छन् ।

    मकवानपुरको बागमती गाउँपालिकाले निर्माण गरेको सहिद स्मृति रंगशाला तथा सातौं बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रयोगिताको उद्घाटन गर्दै उनले यस्तो धारणा राखेको हो ।

    ‘जबसम्म देशबाट भ्रष्टाचारको अन्त्य गरिदैन र सामाजिक न्याय स्थापित गरिदैन, त्यतिबेलासम्म राष्ट्रिय एकता कायम हुन सक्दैन र देश अघिबढ्न सक्दैन भन्नेमा देशव्यापी जनमत बलियो बन्दै गएको छ’ - अध्यक्ष प्रचण्डले भने - ‘मैले देशैभरि नयाँ राष्ट्रिय एकता निर्माणको अभियान थालेको छु । हाम्रो अभियान सफल बन्दै गएको छ ।’

    भ्रष्टाचारका विरुद्ध सुशासनका पक्षमा, राष्ट्रिय स्वाधीनताको पक्षमा, सामाजिक न्यायको पक्षमा र आर्थिक समृद्धिको पक्षमा देशैभरि देखिएको चेतनाको लहर नयाँ आशाको किरण भएको पनि उनले स्पष्ट पारे ।

    अध्यक्ष दाहालले ‘यो सचेतना निकै महत्वपूर्ण छ । हामी सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको एजेण्डालाई बलियो बनाउँदै आवश्यकताअनुसार सडक, सदन र सरकारका सबै मोर्चाबाट राष्ट्रिय एकताका लागि अगुवाइ गर्ने छौं । यसमा सबै लामबद्ध हुन पनि आह्वान गर्न चाहन्छु ।’

    नागरिकलाई स्वस्थ बनाउन र देशको प्रतिष्ठा विश्वव्यापीरुपमा स्थापित गर्न खेलकूदको विकास महत्वपूर्ण भएको उल्लेख गर्दै दाहालले स्थानीय सरकारले यसमा ध्यान दिनु थप महत्वपूर्ण भएको बताए ।

    आफू प्रधानमन्त्री भएको बेलामा खेल पूर्वाधार निर्माण र खेलाडीको प्रोत्साहनका लागि धेरै कार्यक्रम अगाडि सारेको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले खेलका कारण देशको प्रतिष्ठा उँचो बन्दै गएको बताए ।

    बागमती गाउँपालिकाले खेल पूर्वाधारलाई महत्व दिएर रंगशाला निर्माण गर्नुका साथै राष्ट्रिय खेलकूद आयोजना गरेकोमा उनले धन्यवाद पनि दिए ।

    यसअघि अध्यक्ष प्रचण्डले पार्टीको बागमती गाउँपालिका कार्यलयमा स्थानीय नेता कार्यकर्तासँग भेट गर्दै देशव्यापीरुपमा पार्टीप्रति आकर्षणको लहर सुरु भएकोले यसलाई संस्थागत गर्दै अघि बढाउन आग्रह गरे ।

    जे भन्छ, त्यो गर्ने माओवादी नै रहेछ भन्ने जनतामा विश्वास बढ्दै गएको उल्लेख गर्दै उनले जनताको आशा र विश्वासमा कमी आउन नदिने गरी योजना र कार्यक्रम अघि बढाउन नेता कार्यकर्ताहरुलाई निर्देशन दिए ।

    पार्टीका लागि आएको यो महत्वपूर्ण अवसर भएकोले अब पार्टीका लागि दायाँबायाँ गर्ने छुट नभएको उनले स्पष्ट गरे ।

    जितेका पालिका र वडामा मत बढाउने तथा नजितेकोमा जीत हात पार्ने गरी अघि बढ्न निर्देशन गरे ।

    माओवादीले नेतृत्व गरेका पालिकाहरुले उत्कृष्ट स्थान हासिल गर्दै गएको उल्लेख गर्दै उनले पार्टीले नेतृत्व गरेका सबै पालिकालाई नमूना बनाउने गरी पार्टीले केन्द्रले योजना अघि सारेको बताए ।

    त्यस्तै अध्यक्ष प्रचण्डले सहिद परिवारसँग पनि भेट गरेको थियो ।


    प्रकाशित : शनिबार, फाल्गुण ३ २०८१११:२०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार