२०८३, कार्तिक १७ गते मंगलबार

पर्यटकीय गाउँ लेसपारमा एक घर एक धारा विस्तार

पर्यटकीय गाउँ लेसपारमा एक घर एक धारा विस्तार


  • मेरोभ्यूज
  • माघ २९, २०८१ मंगलबार

  • पर्यटकीय गाउँ लेसपारमा एक घर एक धारा विस्तार

    पर्वत । पर्वतको मोदी गाउँपालिका-४ मा रहेको प्रसिद्ध पर्यटकीय गाउँ लेसपारमा एक घर एक धारा विस्तार गरिएको छ ।

    लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका उक्त गाउँका दुई सय १६ घरधुरीमा एक घर एक धारा निर्माण गरी पानी वितरण गरिएको हो ।

    कादुरी एग्रिकल्चर एड एशोसियट्स ब्रिटिस गोर्खाज नेपालको सहयोगमा त्यहाँका सबै घर, सामुदायिक विद्यालय र सामुदायिक भवनमा धारा विस्तार गरिएको हो । गत जेठदेखि सबै घुरधुरीमा सहजरुपमा खानेपानी पुगेको समाजसेवी नरसिंह पुनले जानकारी दिए ।

    पुनका अनुसार दुई सय ११ घर, एक विद्यालय र चार वटा सामुदायिक भवनमा धारा विस्तार गरिएको छ । यो योजनाबाट लेसपारका झण्डै एक हजार बासिन्दा लाभान्वित भएको उनले बताए । उक्त खानेपानी आयोजनाको यही माघ १५ गते उद्घाटनको कार्यक्रम रहेको आयोजना प्रमुख पुनले जानकारी दिए ।

    खानेपानी योजना रु एक करोड ३६ लाख ५८ हजार पाँच सय ६० को लागतमा सम्पन्न भएको हो ।

    जसमध्ये रु १९ लाख ७१ हजार नौ सय बराबरको स्थानीयले जनश्रमदान गरेका छन् भने संस्थामार्फत रु एक करोड १६ लाख ८६ हजार छ सय ६० खर्चिएको आयोजना प्रमुख बुद्ध पुनले जानकारी दिए ।

    आयोजना प्रमुख पुनका अनुसार खानेपानी विस्तारका लागि दुई वटा इन्टेक टङ्की, दुईवटा फिल्टर टङ्की, एक वितरण चेम्बर, पाँच वटा रिजर्भ टङ्की निर्माण गरिएको छ ।

    बस्तीभन्दा माथि रहेको जङ्गलका लाटा खर्क र सिस्नेरा गरी दुई वटा मुहानबाट पानी ल्याइएको छ । कूल छ हजार सात सय ६२ मिटर पाइपलाइनमार्फत पानी वितरण गरिएको पुनले जानकारी दिए ।

    घरघरमै खानेपानी सुविधा उपलब्ध भएपछि पानीका लागि खोला, कुवा र खोल्सामा धाउनुपर्ने स्थानीयको बाध्यता हटेको लेसपार एक घर एक धारा खानेपानी उपभोक्ता समितिका अध्यक्ष भीमबहादुर पुनले बताए ।

    स्थानीयले खानेपानी उपभोगका लागि मात्र नभएर व्यावसायिक तरकारी खेतीमा प्रयोग गर्दै आएको छ । वर्षौदेखि खानेपानीको जोहो गर्न सास्ती खेप्दै आएका स्थानीयवासीको दैनिकीमै परिवर्तन आएको उनले जानकारी दिए ।

    मगर समुदायको मात्र बसोबास रहेको लेसपार पछिल्लो समय पर्यटकीय गाउँको रुपमा विकास हुँदै गएको छ । ढुङ्गैढुङ्गाले छाएका घरहरु, मगर समुदायको कला र संस्कृति तथा घरवासमा बस्नका लागि यहाँ विभिन्न क्षेत्रबाट पर्यटकहरु आउने गर्दछ ।

    अन्नपूर्ण चक्रिय पदमार्गको वैकल्पिक मार्गका रुपमा विकास भएको नयाँपुल-देउपुर-लप्सीवोट-देउराली-लेसपार हुँदै पर्यटक पर्वतको जलजलादेखि म्याग्दीको नागी, पुनहिललगायतका ठाउँमा जानका लागि यो मार्ग प्रयोग गर्दै आएको छ ।


    प्रकाशित : मंगलबार, माघ २९ २०८१०९:५७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार