२०८३, कार्तिक १७ गते मंगलबार

सडक सञ्जाल विस्तार भएसँगै सहज बन्दै मनाङको यात्रा

सडक सञ्जाल विस्तार भएसँगै सहज बन्दै मनाङको यात्रा


  • मेरोभ्यूज
  • माघ २५, २०८१ शुक्रबार

  • सडक सञ्जाल विस्तार भएसँगै सहज बन्दै मनाङको यात्रा

    मनाङ । पर्यटकको आकर्षक केन्द्रका रूपमा मानिएको मनाङमा पछिल्लो समय सडक सञ्जाल विस्तार भएसँगै यात्रा सहज बन्दै गएको छ ।

    ट्र्याक खोलेको करिब २० वर्षपछि डुम्रे-बेँसीसहर-चामेखण्डले गति लिएपछि यात्रा सहज बन्दै गएको हो ।

    डुम्रे-बेँसीसहर-चामे आयोजनाले गत आर्थिक बर्षमा आठ किलोमिटर सडक कालोपत्र गरिसकेको आयोजनाका सब-इञ्जिनीयर सुमन अधिकारीले जानकारी दिए । उनका अनुसार बेँसीसहरबाट खुदीसम्म आठ किमी सडक कालोपत्र सम्पन्न भएको हो ।

    सब-इञ्जिनीयर अधिकारीले भने, “मनाङतर्फको सडक निर्माणमा मनाङ-मर्स्याङ्दी जलविद्युत् आयोजनाले पनि सहयोग गरेको छ । भौतिकरूपमा असहज भएका स्थानमा आयोजनाले काम गरिसकेको छ । जलविद्युत् आयोजनाका सवारी साधन आवत-जावत गर्नुपर्ने भएकोले यहाँको विकासलाई पनि सहयोग पुगेको छ ।”

    बेँसीसहर-चामे खण्डअन्तर्गतका सडक र पुल निर्माणका लागि रु ५१ करोड बजेट विनियोजन भएको उनले जानकारी दिए ।

    आयोजना निर्माणस्थलमा आवश्यक सामग्री ल्याउन सहज बनाउने उद्देश्यले सडक चौडाइ गर्ने, घुम्ती क्षेत्रमा पूर्वाधार र सडक निर्माणलगायत काम भइरहेका बुटवल हाइड्रोपावर कम्पनी लिमिटेडका सहायक प्रबन्धक प्रतिकमान सिंह प्रधानले जानकारी दिए । उनका अनुसार सडक आयोजनासँग सम्झौता गरी आपसी समन्वयका आधारमा काम भइरहेको हो ।

    प्रबन्धक प्रधानले भने, “ऊर्जा उत्पादनले मात्रै जिल्लाको विकास सम्भव छैन ।

    मनाङ पर्यटकीय क्षेत्र पनि हो, यहाँ सडक सञ्जाल विस्तार गरी यात्रा सहज बनाउन सके पर्यटन प्रवर्द्धन हुनुका साथै स्थानीयको आर्थिकस्तरमा सुधार हुँदै जाने थियो । ऊर्जा उत्पादनसँगै सडक सञ्जालको विकासले स्थानीयको दैनिकी र पर्यटकलाई आवागमनमा सहयोग पुर्याइरहेको छ ।”

    मनाङको चामे गाउँपालिका-१, २ र ३, नासोँ गाउँपालिका-९, ८, ४ र ५ नम्बर वडामा पर्नेगरी निर्माणाधीन एक सय ३५ मेगावाट क्षमताको मनाङ-मर्स्याङ्दी जलविद्युत् आयोजनाले यहाँको सडक विकासलाई प्राथमिकतामा राखी काम गरिरहेको प्रबन्धक प्रधानले बताए ।

    उक्त जलविद्युत् आयोजनाको विकासका लागि सरकारसँग बुटवल पावर कम्पनीसहित तीन चिनियाँ कम्पनीबीच विसं २०७९ पुस ३ गते सम्झौता भएको थियो । यस आयोजनाको क्षमता एक सय ३५ मेगावट रहेको छ । चार बर्षमा आयोजना निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको हो ।

    आयोजनामा नेपाली साझेदार बिपिसिले २० प्रतिशत र तीन चिनियाँ कम्पनी एससिआइजी इन्टरनेशनल, छिङचेङ इन्टरनेशनल र चिनियाँ लगानीकर्तामा क्यूवाइसी इन्टरनेशनलले संयुक्त रूपमा ८० प्रतिशत शेयर स्वामित्व रहनेगरी समझदारी भएको आयोजना कार्यालयले जनाएको छ ।

    आयोजनाको कूल लागत रु ३३ अर्ब ३८ करोडमध्ये २० प्रतिशत पुँजी र ८० प्रतिशत ऋण लगानी रहनेछ । आयोजनामा बुटवल पावर कम्पनीले मात्रै करिब रु एक अर्ब ३३ करोड पुँजी लगानी गर्नेछ । आयोजनाले वार्षिक रु ७५ करोड नौ लाख ४८ हजार आठ सय ७५ युनिट विद्युत् उत्पादन लक्ष्य लिएको छ ।

    आयोजना ‘पिकिङ रन अफ दि रिभर’ प्रकृतिको हुने कम्पनीका प्रबन्धक प्रधानले जानकारी दिए । बार्षिक सात सय ६६ दशमलव पाँच सय ९३ गिगावाट विद्युत् उत्पादन हुने अपेक्षा लिइएको उनले बताए ।


    प्रकाशित : शुक्रबार, माघ २५ २०८११०:३८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार