तेह्रथुम । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले युवा जनशक्तिमा विदेश पलायन हुने कुरामा अवसरभन्दा पनि दृष्टिकोण मुख्य कारण भएको बताएका छन् ।
तेह्रथुम जिल्लाको लसुनेमा धनरूप स्मृति पार्कको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले देशभक्तिको भावना कमि, माटोको माया नगर्ने प्रवृतिका कारण विदेश जाने प्रवृति बढ्दै भएको बताएको हो ।
उनले भने - 'मलाई कता कता आज भोलि देशभक्तिको भावना कमि हुँदै गएको होकि ?, आफ्नो माटोप्रतिको प्रेम कमजोर हुँदै गएको होकी ? भन्ने चिन्ता लागेको छ । म आम समुदायलाई अपिल गर्न चाहान्छु । हामी हाम्रा छोराछोरीहरुलाई, हाम्रा सन्ततिहरुलाई देशको माया, माटोको माया हाम्रो प्रकृतिले दिएका साधन स्रोतको सदुपयोग गरेर हामी आफैं धनि, आफैं आत्मनिर्भर बन्ने बाटोतर्फ प्रेरित गरौं । विदेश पठाउन हतार नगरौं ।'
अध्यक्ष प्रचण्डले थप्दै भने -' विदेशमा पनि टुङ्गो छैन । काहाँ के हुने हो । अहिले अमेरिकामा ट्रम्प राष्ट्रपति बनेपछि एउटै आदेशले हजारौ प्रवासीलाई विस्तापित गरिदै छ ।
कतिबेला हजारौ नेपालीहरु फर्केर नेपाल आउँनु पर्ने हो टुंङ्गो छैन ।
त्यसैगरी, मध्यपूर्वमा पनि कति बेला ठूलो लडाइँ भएर नेपालीहरु फर्किनु पर्ने हो टुङ्गो छैन । हामीले आफ्नै देशको माटोमा पौरख गरौं । स्रोत र साधनको सदुपयोग गरेर देशमै भविष्य खोज्ने वतावरण तयार गरौं ।'
देश प्राकृतिक साधन स्रोत जनशक्तिको दृष्टिकोणले, नागरिकको मिहनेत र पराक्रमका दृष्टिले अब्बल रहेको र क्षमता साहसको दृष्टिकोणले उत्कृष्ट नागरिक नेपाली हुन भन्ने स्थापित भएका कारण नेपालीहरुले यहीका सम्भावनालाई अवसरमा बदल्नुपर्ने उनको भनाइ थियो ।
अध्यक्ष प्रचण्डले भने - 'हाम्रो देश साधन स्रोत विहीन देश होइन, हाम्रो देश साधान स्रोतले सम्पन्न देश हो । हाम्रो देश प्राकृतिक साधन स्रोत जनशक्तिको दृष्टिकोणले, मिहनेत र पराक्रमका दृष्टिले सबल र क्षमता साहसको दृष्टिकोणले अब्बल मानिस हौं । हामी नेपाली ।
त्यसमा पनि कोशी प्रदेश देशको अन्य क्षेत्र भन्दा आर्थिक र उत्पादक शक्तिको अलिक राम्रो विकास भएको ठाउँ हो । यहाँ राजनीतिका चेतना र पहिचानको निम्ति, आत्म सम्मानको निम्ति पटक-पटक संघर्ष भएको ठाउँ हो र अहिले पनि यस क्षेत्रका जनताले संविधानलाई उत्पिडित जाति क्षेत्र, धर्म लिङ्गका समुदायको हक अधिकार र पहिचानलाई संविधानमा अझ राम्रोसँग स्थापित गर्न पर्यो ।
आवाज उठाउने क्षेत्रको हो । हामीले कोशिस गरेका छौं । संविधानमै भएको राम्रा व्यवस्थासमेत कार्यान्वयन भएको छैन । यहाँ उठिराखेको आवाजले संविधानमा सकारात्मक संशोधन गर्न मदत गर्नेछ । यो देश यो क्षेत्र सबै हिसाबले प्राकृतिक स्रोत र साधन, जनशक्तिले यहाँ उत्पादन हुने उत्तिस, अमलिसो, अलैची, अदुवा उत्पादन हुन्छ ।
हावापानी पनि राम्रो यही मिहनेत गर्यो भने विदेशमा भन्दा पनि राम्रो कमाउन सक्छौं । देशमा भौतिक पूर्वाधारको पनि विकास र सहजता हुँदै गएको छ ।
तर युवाहरुलाई हामीले किन देशमै राख्न सकेका छैनौं भने देशमा टेक्नोलोजीको विकासमार्फत उत्पादनमा गुणात्मक वृद्धि गर्न सकियोस् भने अर्को दृष्टिकोणको कुरा हो हामी प्रति देश र माटो प्रतिको माया भए दुःख गरेर भएपनि देशमै बसेर माटोमै रहेका आफैं आत्मनिर्भर हुने काम गर्छ ।'
अध्यक्ष प्रचण्डले आफू भ्रष्टाचारका विरुद्ध सुशासनको पक्षमा, सामाजिक विभेदका विरुद्ध, सामाजिक न्यायका पक्षमा र आर्थिक पछौटेपनका विरुद्ध आर्थिक समृद्धिका पक्षमा अपील गर्दै देशको पूर्वदेखि पश्चिसम्म विभिन्न कार्यक्रममा सहभागी भैरहेको जानकारी दिए ।
अध्यक्ष दाहालले भने -'तपाईँहरुले देखेको छ अहिले म पूर्वदेखि पश्चिमसम्म देशका विभिन्न कार्यक्रम तथा समारोहहरुमा सहभागी भैराखेको छु ।
देशभर एउटा नयाँ विश्लेषण, नयाँ व्यख्या सुशासनको पक्षमा, भ्रष्टाचारका विरुद्ध सामाजिक विभेदका विरुद्ध, सामाजिक न्यायका पक्षमा आर्थिक पछौटेपनका विरुद्ध आर्थिक समृद्धिका पक्षमा अपील गर्दै हिँडेको छु ।
मैले आज यहाँ तेह्रथुमा सहिदको स्मृतिमा पार्क र हलको उद्घाटन गरे । यो कार्यक्रममा सबै दलका नेता कार्यकता आएर सहिदहरु सबैका साझा हुन भन्ने स्थापित गरे ।
यो कार्यक्रम देशभर एउटा सकारात्मक सन्देश गएको छ । म यस कार्यक्रममार्फत एउटा सन्देश दिन तपाईँहरु माझ उभिएको छु ।

