२०८३, कार्तिक १७ गते मंगलबार

‘निसान पदमार्ग’मा तीनदिने पदयात्रा

‘निसान पदमार्ग’मा तीनदिने पदयात्रा


  • मेरोभ्यूज
  • माघ १५, २०८१ मंगलबार

  • ‘निसान पदमार्ग’मा तीनदिने पदयात्रा

    इलाम । पर्यटन प्रवर्द्धन गर्न ‘निसान पदमार्ग’ मा आजदेखि तीनदिने पदयात्रा आयोजना हुँदैछ ।

    तत्कालीन नेपाल एकीकरणका समयमा पूर्वी सीमा विजय गरेर गाडिएका निसान फर्काइएको मार्ग पहिचान गरी ‘निसान पदमार्ग’ निर्माण गरिएको थियो ।

    यही पदमार्गमा पदयात्राको कार्यक्रम आयोजना गरिएको इलामस्थित नेपाली सेना, रणशार्दूल गणले जनाएको छ ।

    नेपाल-भारत सिमाना जोडिएको मेची नदीको मुहानबाट इलाम सदरमुकामस्थित निसान स्थापना गरिएको माईस्थान मन्दिरसम्मको ४१ किलोमिटर पदमार्गमा पदयात्रा गरिने गणपति प्रल्हद घलेले जानकारी दिए ।

    तत्कालीन श्रीनाथ पल्टनले पूर्वको भू-भाग विजय गरेर गाडेका निसान सुगौली सन्धिपछि फर्काएर राखिएका स्थानलाई जोडेर पदयात्रा तयारी गरिएको हो ।

    नेपाली सेना, स्थानीय जनप्रतिनिधि, पर्यटन व्यवसायी र सरोकारवालाको टोलीले मेची बजारबाट पदयात्राको औपचारिक थालनी गर्नेछ ।

    पदमार्गअन्तर्गत पर्ने सूर्योदय, इलाम नगरपालिका र माईजोगमाई गाउँपालिकाका विभिन्न स्थानमा पदयात्रीको स्वागतका लागि स्थानीय जाजातिको झाँकीसहित स्वागत गर्ने जनाएको छ ।

    रणशार्दूल गणको पहलमा गत वर्षदेखि निसान पदमार्ग पहिचान गर्न थालिएको थियो । यसका लागि ती पालिकाले सेनालाई सहयोग गरेको थियो ।

    मेची बजारबाट सुरु हुने पदयात्रा सूर्योदय नगरपालिकाको पूर्णेडाँडामा पुस २५ गते शुभारम्भ गरी माईजोगमाईको नामसालिङस्थित हात्तीटारमा बास बस्ने कार्यक्रम छ ।    
        
    पुस २६ गते बिहान नामसालिङबाट पुनः सुरु भएको पदयात्रा माईबेनी हुँदै अहिले निसान र तोप राखिएको इलाम-७ स्थित माईस्थान मन्दिरमा पदयात्राको समापन गरिने कार्यक्रम तय भएको इलाम नगरप्रमुख केदार थापाले बताए ।

    सो गणको अगुवाइमा तीन पालिकाले संयुक्तरूपमा आयोजना गरेको पदयात्रामा करिब एक सयको हाराहारीमा सहभागी हुने जनाइएको छ ।

    सुगौली सन्धिपश्चात तत्कालीन नेपाली सेनाले इलाम सदरमुकाममा निसान ल्याउन प्रयोग गरिएको मार्गलाई नेपाली सेनाको समन्वयमा तीन पालिकाले पहिचान गरी कार्यान्वयनमा ल्याएको हो ।

    यसअघि भारतको नागरीगढीबाट नेपाल-भारत सीमाक्षेत्र सात माइल, मेची मुहान, सिद्धीखोला, गैरीगाउँ, रम्फोक, नयाँचोक, जोगमाईखोला, हात्तीटार, माईबेनी, तिल्केनी हुँदै माईस्थान मन्दिरसम्मको नक्सा तयारी गरी सार्वजनिक गरिएको थियो ।

    निसान पदमार्गको पदयात्राले इलामको पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने अपेक्षा गरिएको सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले बताए ।

    “करिब दुई सय वर्षअघिको युद्ध इतिहास खोजी गर्दै निसान पदमार्ग निर्माण गरिएको छ, पदयात्राले जिल्लाको समग्र पर्यटन प्रवर्द्धनमा योगदान गर्ने अपेक्षा छ”, उनले भने, “यसको प्रचार-प्रसार भएपछि बाह्य पर्यटकसमेत यहाँ आउनेछन् ।”

    इलाम नगरपालिकाका प्रमुख थापाले निसान पदमार्ग पहिचानले इलामको ऐतिहासिक, धार्मिक, सांस्कृतिक सम्पदाको पहिचान, संरक्षण तथा प्रवर्द्धनमा सहयोग पुर्याएको बताए ।

    “निसान पदमार्गले इतिहासको संरक्षणमा योगदान दिनका साथै समग्रमा इलामको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउनेछ”, उनले जानकारी दिए ।

    सुगौली सन्धिपछि मिरिकस्थित नागरीगढीमा रहेको श्रीनाथ सिंह पल्टन अहिलेको इलाम सूर्योदय नगरपालिकाको करफोकस्थित पूर्णेडाँडामा आएर बसेको इतिहास छ ।

    मेचीदेखि नागरीगढी हुँदै टिस्टासम्मको भू-भाग ४० दिनभित्र गढी खाली गर्न सम्झौता भयो । सम्झौता कार्यान्वयन गर्दै तत्कालीन सुब्बा जयन्त खत्रीले नागरीगढी खाली गरी सदरमुकाम करफोक ल्याएका थिए ।

    पूर्णेडाँडा भारतीय सीमा नजिक भएको र अङ्ग्रेजले जुनसुकै बेला आक्रमण गर्न सक्ने भएकाले मुकाम खडा गर्नेक्रममा हालको माईजोगमाई गाउँपालिकाको नामसालिङस्थित हात्तीटार हुँदै श्रीनाथ सिंह पल्टन इलाम-७ स्थित माईस्थान मन्दिर ल्याइएको बताइएको छ ।

    माईस्थान मन्दिर विसं १८८० स्थापना भएको अनुमान छ । हाल निसान सोही मन्दिरमा संरक्षण गरी राखिएको छ ।


    प्रकाशित : मंगलबार, माघ १५ २०८१०३:१७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार