चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोटे समुदायको विकास लागि राज्यले विशेष कार्यक्रम ल्याउनुपर्ने बताएको छ ।
चितवनको माडी नगरपालिका-१ वनकट्टामा रहेको बोटे सामुदायिक होमस्टे पुगेका अध्यक्ष प्रचण्डले बोटे समुदायलाई आदिवासी जनजातिमा राखेको हुनाले राज्यले विशेषरुपले सोच्नुपर्ने बताएको हो ।
अध्यक्ष प्रचण्डले भजे - "बोटे समुदायलाई आदिवासी जनजातिमा राखेको हुनाले बोटे जातिको विकासका लागि राज्यले अली विशेष किसिमले सोच्नुपर्छ भन्ने म ठान्दछु, मैले सक्दो आफ्नो ठाउँबाट पहल गर्नेछु।"
उनले बोटे समुदायको प्रगति भएको बताए । अध्यक्ष दाहालले भने - "तपाईँहरु जो नदीको तीरमा बसेर डुङ्गा चलाएर जीविकोपार्जन गर्नेबाट अहिले होमस्टे चलाएर पर्यटकहरुलाई आकर्षित गर्ने ठाउँमा पुगेको छ, पक्कै पनि यो तपाईँहरुको समुदायको प्रगति हो । यसलाई अझै बढाएर लैजानुपर्छ ।"
चितवनको माडी नगरपालिका-१ बडुवामा रहेको सोमेश्वर माध्यमिक विद्यालयको स्वर्णजयन्तीको समुद्घाटनका लागि माडी पुगेका अध्यक्ष प्रचण्डलाई बोटे सामुदायिक होमस्टेमा स्थानीयले स्वागत गरेको थिए ।
सो अवसरमा अध्यक्ष दाहालले बोटे समुदायका अगुवाहरुसँग संक्षिप्त कुराकानी गरेको थियो । बोटे समुदायका अगुवाहरुले बोटे समुदायको सांस्कृतिक घर निर्माण आवश्यक रहेको बताएका थिए ।
अध्यक्ष प्रण्डले बोटे समुदायको सांस्कृतिक घर बनाउनका लागि आफूले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । बोटे समुदायको राजधानीको रुपमा चिनिने यो गाउँमा पुगेर उनले बोटे संस्कृतिसँग साक्षत्कार गरेको थियो ।

