भक्तपुर । नेपाल सम्वतको आठौँ शताब्दीमा प्रारम्भ भएको एकमहिने माधवनारायण व्रत एवं मेला साेमबारदेखि भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीधाममा सुरु भएको छ ।
हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म आयोजना हुने मेलामा आज हनुमानघाटस्थित त्रिवेणीधाममा स्नान तथा सूर्यलाई अर्घ दिएर व्रत सुरु भएको हो ।
साँखुको शालीनदिमा भन्दा पहिलादेखि यो मेला एवं व्रत सुरु भएको शिलालेख एवं ग्रन्थमा उल्लेख छ । नेपाल सम्वत ७२२ मा राजा रणजित मल्ल आफैँ उपस्थित भएर व्रत प्रारम्भ भएको शिलालेखमा रहेको छ । माधवनारायणको व्रत बस्ने व्यक्तिले व्रत सुरु हुनु अघिल्लो दिनदेखि निराहार बस्नुपर्ने, बिहानै त्रिवेणीमा स्नान गरी चोखो जल तथा पूजा सामग्रीले पूजा गर्नुपर्ने, शङ्ख जलग्रहण गरी मन्त्रोच्चारण गर्नुपर्ने, शङ्ख जलग्रहण गरेपछि कसैलाई छुन नहुने तथा जुत्ता लगाउन नहुने परम्परा रहेको छ । त्रिवेणीमा दैनिक नित्य पूजा तथा माधवनारायणको कथावाचन र हनुमानघाट त्रिवेणी कुण्डमा दैनिक स्नान गरिन्छ ।
ब्रतालु खाली खुट्टामा पैदल यात्रा गरी तील माधवबाट तलेजु भवानीसम्म, सप्तमीमा पनौती गएर त्रिवेणीमा बसेर स्नान गरी ईन्द्रेश्वर महादेवको दर्शन गर्छन् । उनीहरु अष्टमीमा फर्कन्छन् भने दशमीमा पशुपति गएर स्नान गरी जल चढाएर जयवागेश्वरी ताम्रेश्वर महादेवसम्म कलश यात्रा गर्छन् । साथै द्वादशीमा चाँगुनारायण शङ्खदहमा स्नान गरी कलश लिएर चाँगुनारायणको दर्शन गर्ने र माघ शुक्ल पूर्णिमामा नगरपरिक्रमा गरेर भूपतिन्द्र मल्लको मूर्तिमा ईन्द्रकलश चढाएपछि व्रत समापन हुने ब्रतालु बिनोदकुमार प्रजापतिले जानकारी दिए ।
ब्रतालु त्रिवेणीघाटमा महिना दिनसम्म बसेर ब्रत पूरा गर्छन् भने कतिपय ब्रतालु भने हरेक दिन बिहान त्रिवेणीघाटमा आएर नुहाउँछन् ।
आजदेखि एक महिनासम्म यहाँ माधवनारायणको कथा पनि वाचन हुन्छ । यस वर्ष महिला र पुरुषले गरी ३० जनाले माधवनारायणको ब्रत बसेको माधवनारायण ब्रत समितिका सचिव लक्ष्मीप्रसाद रञ्जितबाट जानकारी प्राप्त भयो साथै मेला सञ्चालनका लागि ढल बगिरहेको हनुमानघाटस्थित त्रिवेणीधाम खोलामा डोजर लगाएर स्नान गर्नका लागि खाल्डो बनाइएको थियो ।
–––

