काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायलाई टुङ्ग्याउन नदिने प्रवृत्ति हाबी हुँदै गएको बताएका छन् । राज्यद्वारा बेपत्ता योद्धा राजेन्द्र ढकालको २६ औँ स्मरण दिवसका अवसरमा आज यहाँ आयोजित ‘शान्ति प्रक्रिया र बेपत्ता नागरिकको सार्वजनिकीकरणको सबाल’ विषयक कार्यक्रममा उनले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन सबैले दबाब सिर्जना गर्नुपर्ने अवस्था आइपुगेको बताए ।
शान्ति प्रक्रियालाई निष्कर्षमा पुग्न नदिन केही पक्षले अनावश्यक बखेडा झिकिरहेकातर्फ सङ्केत गर्दै अध्यक्ष दाहालले भने, ‘माओवादी र शान्ति प्रक्रियालाई जटिल मोडमा लैजाने राजनीतिक सोच र प्रवृत्ति पनि देखिएको छ, यसैले नै टुङ्गिन लागेको शान्ति प्रक्रियालाई रोकिराखेको छ ।’
शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायका विषयलाई जतिसक्दो चाँडो टुङ्गोमा पुर्याउन सबै राजनीतिक दल इमान्दार हुनुपर्नेमा दाहालले जोड दिए । उनले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन आफूले नेपाली कांग्रेस र नेकपा (एमाले)सँग छिट्टै संवाद गर्ने विश्वास दिलाए ।
अध्यक्ष दाहालले तत्कालीन द्वन्द्वबाट प्रभावितहरु एकताबद्ध भएर राजनीतिक नेतृत्वलाई दबाब दिन छाड्न नहुने बताए । ‘दबाब बढाउँदै लग्यौँ भने सङ्क्रमणकालीन न्याय टुङ्गिन्छ, त्यस दिशातर्फ गइरहेको छ, तर दबाब कम हुन थाल्यो भने फेरि राजनीति नै हाबी हुन्छ, आआफ्नो राजनीतिक स्वार्थपूर्ति गर्ने सम्भावना बढ्छ, अबको १८ वर्षसम्म पनि यही हालत हुन सक्छ’, उनले भने ।

तत्कालीन बाह्रबुँदे समझदारी र विस्तृत शान्ति सम्झौता आफैंमा राजनीतिक सहमतिका दस्तावेज भएको उल्लेख गर्दै उनले राजनीतिक कारणले नै शान्ति प्रक्रियालाई टुङ्ग्याउन कठिन भइरहेको जिकिर गरे । बेपत्ता योद्धा ढकाल एउटा बौद्धिक र तर्कशील युवाका रुपमा आफूले नजिकबाट बुझेको उल्लेख गर्दै उनले राजनीतिक विषयमा ढकालको तर्क अझै पनि आफ्नो मनसपटलमा ताजै रहेको सुनाए ।
एमाले नेता एवं पूर्वमहान्यायाधीवक्ता अग्नि खरेलले शान्ति प्रक्रियालाई टुङ्गो लगाउन सरकार र आफ्नो पार्टी इमान्दार रहेको बताए । ‘शान्ति प्रक्रियालाई सफल बनाउन सरकार सकारात्मक छ, एमाले केन्द्रीय समिति बैठकमा पेस भएको दस्तावेजमा पनि शान्ति प्रक्रियालाई निष्कर्षमा लैजाने विषय उल्लेख छ”, उनले भने, ‘शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन सरकार र विपक्षी दल एक ठाउँमा उभिनुपर्छ ।’
पूर्वकानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द बन्दीले सङ्क्रमणकालीन न्यायलाई टुङ्ग्याउन कानुनी न्यायको पाटोलाई मात्रै नहेरी यसलाई पुनःस्थापकीय, परिपुरणीय र रुपान्तरणमुलक न्यायकारुपमा व्यवहार गरिनुपर्नेमा जोड दिए । ‘पुनःस्थापकीय, परिपुरणीय र रुपान्तरणमुलक न्यायलाई पर राखेर कानुनी न्यायलाई मात्रै प्राथमिकता दिँदा अहिले पनि विश्वासको वातावरण सिर्जना हुन सक्दैन’, उनले भने, ‘जबसम्म तत्कालीन द्वन्द्वरत पक्षहरु र सरोकारवालाबीच विश्वासको वातावरण बन्दैन, तबसम्म सङ्क्रमणकालीन न्याय अघि बढ्न सक्दैन ।’
नेपाल बार एसोसियसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषय टुङ्ग्याउन ढिलाइ भइरहे अन्तर्राष्ट्रियरुपमा नेपालको छवि धुमिल हुने खतरा औँल्याए । ‘पीडितले न्याय पाउनुपर्छ, धेरै ढिला भइसक्यो’, उनले भने, ‘सङ्क्रमणकालीन न्याय संरचनामा राजनीतिक दबाब र प्रभाव नपर्ने व्यक्तिको खाँचो छ, यसतर्फ सबैको ध्यान जानुपर्छ ।’
बहुप्रतिभाका धनी राजेन्द्र
साविकको हर्मी–८ गोरखा तथा हालको सिरानचोक गाउँपालिका–३ मा बुवा कलाधर शर्मा र आमा प्रभादेवीको जेठो सन्तानका रूपमा २०२५ साल कात्तिक २८ गते ढकालको जन्म भएको थियो ।
संयुक्त जनमोर्चा गोरखाको सचिव एवं तत्कालीन नेकपा मशाल एकता केन्द्रका सदस्य, जिल्ला बारएसोसिएसन, गोरखाका अध्यक्ष रहेको उनी गायन, नृत्य तथा वाद्यवादनमा पनि उत्तिकै पोख्त थिए । उत्प्रेरणायुक्त स्पष्ट वक्ताको पहिचान बनाएका ढकालले द्रव्यशाह बहुमुखी क्याम्पसमा प्राध्यापनसमेत गरेका थिए ।
कसरी बेपत्ता भए ढकाल ?
२०५५ साल पुस २४ गते तनहुँको जामदी गाउँमा बन्द ढोकामा राजनीतिक चेतनामूलक कार्यक्रममा सहभागी भइरहेका बेला गस्तीमा खटिएका प्रहरी टोलीले ढकाललाई पक्राउ गरेको थियो ।
सोही क्रममा प्राथमिक विद्यालयका दुई शिक्षक पनि पक्राउ परेका थिए । उनीहरूलाई इलाका प्रहरी कार्यालय बेलचौतारा लगिएको थियो । तर, त्यो समय ढकाललाई अलग गरियो । उनै दुई शिक्षकले ढकाललाई अन्तिम पटक देखेका थिए, जो दुई दिनपछि रिहा भए । त्यसयता ढकालको अवस्था अज्ञात छ ।
बेल चौताराको प्रहरी चौकीबाट प्रहरी निरीक्षकको नेतृत्वमा गएको टुकडीले २०५५ साल पुस २४ गते ढकाललाई गिरफ्तार बेपत्ता पारेको थियो ।
खोजीको अविराम प्रयास
सुरक्षाकर्मीले लगेकै दिनदेखि उनको परिवार र साथीभाई उनी फर्किने बाटो हेरेर बसेका छन् । तर, २६ वर्ष पुग्दासम्म उनलाई देख्ने र भेट्ने कोही भेटिएका छैनन् । ढकाललाई खोज्न परिवार र आफन्तजनले धेरै कदम चालिसकेका छन् ।
उनी पक्राउ परेको केही दिनमै भाइ रवीन्द्रले तनहुँ, नवलपरासी, कास्की जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी गण पोखरामा खोजी गरे । तर, प्रहरीले राजेन्द्रलाई पक्राउ नै नागरिएको भनी अस्वीकार गरेको परिवारजन बताउँछन् ।
देशभर १३ सय २८ नागरिक बेपत्ता
रेडक्रस अन्तर्राष्ट्रिय कमिटी (आइसिआरसी)को तथ्याङ्कअनुसार २०५२ देखि २०६२ सम्म चलेको दसवर्षे जनयुद्धमा देशभरबाट एक हजार तीन सय २८ नागरिक बेपत्ता भएका छन् । जसमध्ये एक हजार ९६ जना राज्य पक्षबाट र दुई सय ३२ जना माओवादी तथा अन्य पक्षबाट बेपत्ता भएको बताइएको छ ।
तत्कालीन राज्य र विद्रोही पक्षबीच २०६३ मङ्सिर ५ गते सम्पन्न विस्तृत शान्ति सम्झौतामा युद्धका क्रममा बेपत्ता नागरिकको स्थिति सार्वजनिक गर्ने उल्लेख छ । तर शान्ति सम्झौताको १८ वर्ष पुगेपनि बेपत्ता पारिएका नागरिक अझै बेखबर छन् ।

