२०८३, कार्तिक १७ गते मंगलबार

तमु ल्होसारको अवसरमा अध्यक्ष प्रचण्डले दिएको शुभकामना सन्देश

तमु ल्होसारको अवसरमा अध्यक्ष प्रचण्डले दिएको शुभकामना सन्देश


  • मेरोभ्यूज
  • पौष १५, २०८१ सोमबार

  • तमु ल्होसारको अवसरमा अध्यक्ष प्रचण्डले दिएको शुभकामना सन्देश

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का पुष्पकमल दाहाल 'प्रचण्ड'ले तमु (गुरुङ) समुदायको नयाँ वर्ष तमु ल्होसारको अवसरमा स्वदेश तथा विदेशमा रहेका तमु समुदायसहित सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गरे ।

    तमुहरूको प्राचीन वर्षगन्तीको पात्रोअनुसार ऋतु परिवर्तन (पुष १५) को आधारमा नयाँ वर्षको गणना गर्ने परम्परा रहेको छ ।

    प्रकृतिमा पाइने १२ वटा जीवजन्तुहरूको नामको आधारमा १२ वर्षीय चक्रको गन्ती गर्ने परम्पराअनुसार यस वर्ष सप्रिल्हो (सर्प वर्ग) पर्न गएको छ ।

    प्राचीन भौतिकवादमा आधारित प्राकृतवादी चिन्तन प्रणालीका रूपमा यो पर्व विशेष महत्त्वपूर्ण रहेको छ ।

    सांस्कृतिक परम्परामा धनी तमु समुदायले सदियौँदेखि आफ्ना रीतिरिवाज, परम्परा, र संस्कृतिको संरक्षण गर्दै आइरहेका छन् ।

    तमु समुदायमा नयाँ वर्षको आगमनको उल्लासपूर्ण वातावरणमा मनाइने यो पर्वले यस समुदायको मौलिकता, परम्परा र सांस्कृतिक महत्त्वलाई झल्काउँछ ।

    नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, र बहुसांस्कृतिक विशेषताले भरिपूर्ण एक सुन्दर मुलुक हो ।

    यहाँको विविधता हाम्रो राष्ट्रिय सम्पत्तिमात्र नभई विश्व समुदायका लागि अमूल्य निधि हो। भाषा, संस्कृति, भेषभूषा र संस्कार हाम्रा जातीय पहिचान र मौलिक सभ्यताका आधारस्तम्भ हुन् । यस्ता सांस्कृतिक विविधताको संरक्षण, प्रवर्द्धन र विकास गर्नु राज्यको महत्वपूर्ण दायित्व हो ।

    जनताको संघर्ष र बलिदानबाट हामीले समावेशी संघीय लोकतान्त्रिक संविधान निर्माण गरेका छौँ ।

    सबै समुदायको साझेदारीमा संविधानको प्रभावकारी कार्यान्वयन, राष्ट्रिय एकताको सुदृढीकरण, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको दिशामा अघि बढ्नु आजको राष्ट्रिय आवश्यकता हो ।

    अन्त्यमा, यो पर्वले तमु समुदायलगायत सम्पूर्ण नेपालीबीच बन्धुत्व, हार्दिकता, धार्मिक सहिष्णुता, परस्पर सम्मानको भावना प्रगाढ बनाउन, राष्ट्रिय एकता र मौलिक संस्कृतिको निर्माणमा ऊर्जा प्रदान गरोस् । तमु ल्होसारको पुनः शुभकामना व्यक्त गर्दछु ।


    प्रकाशित : सोमबार, पौष १५ २०८१११:५७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार