२०८३, कार्तिक १७ गते मंगलबार

तोरीले पहेँलपुर नवलपरासीका फाँट

तोरीले पहेँलपुर नवलपरासीका फाँट


  • मेरोभ्यूज
  • पौष ४, २०८१ बिहीबार

  • तोरीले पहेँलपुर नवलपरासीका फाँट

    नवलपुर, नवलपरासी । यतिबेला नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का अधिकांश फाँट तोरी फुलेर पहेँलपुर भएका छन् ।

    अधिकांश स्थानमा बारी, खाली जमिनदेखि ठूला फाँटमा लगाइएको तोरी फुलेर पहेँलै देखिन्छन् ।

    जिल्लामा तोरी लगाउने क्षेत्रफलसँगै उत्पादन बढेका कारण नवलपुरले तोरीमा आफ्नो ‘साख’ पुनः फर्काउँदै गएको छ ।

    गैँडाकोट–४ का रामप्रसाद खनियाले यसपालि गैँडाकोटका प्लटिङदेखि ठूला फाँटमा समेत तोरीखेती गरिएको बताए । “अहिले सबैतिर तोरी फूलेको दृश्य देख्न सकिन्छ । विगतमा गहुँ लगाउने खेतमा समेत यसवर्ष तोरी देखिन्छ”, उनले भने । खनियाले आफूले पनि यसबर्ष करिब २० कठ्ठा क्षेत्रफलमा तोरीखेती गरेको बताए ।

    कावासोती–१७ का नन्दराम गुरौँले तोरीको माग र तेलको मूल्य बढ्न थालेपछि यसतर्फ आकर्षण बढेको बताए । “तोरी लगायो भने घरबाटै बिक्री हुन्छ, आम्दानी पनि राम्रो छ”, उनले भने, “अरु बाली लगाउँदा सिँचाइ, मल तथा विषादी धेरै हाल्नुपर्छ तर तोरीमा थोरै मेहनत गर्दासमेत राम्रो उत्पादन हुन्छ ।” उनले एक बिघामा तोरी लगाएको छ ।

    कृषि ज्ञान केन्द्र नवलपुरकाअनुसार पछिल्लो तीन बर्षको तथ्याङ्क हेर्दा जिल्लामा तोरीखेती गरिने क्षेत्रफलमा उतारचढाव आएको भए पनि उत्पादकत्व भने लगातार बढेको देखिन्छ ।

    कार्यालयका कृषि प्रसार अधिकृत एवं सूचना अधिकारी विश्वास काफ्लेले जिल्लामा आर्थिक वर्ष २०७९/८० मा एक हजार एक सय ८५ हेक्टर र आव २०८०/८१ मा एक हजार एक सय ७८ हेक्टर क्षेत्रफलमा तोरीखेती भएको बताए ।

    यस्तै, चालु आव २०८१/८२ मा एक हजार एक सय ८७ हेक्टर क्षेत्रफलमा तोरीखेती गरिएको केन्द्रले जनाएको छ । आव २०७९/८० मा जिल्लामा एक हजार दुई सय ८५ मेट्रिक टन तोरीको उत्पादन हुँदा उत्पादकत्व प्रतिहेक्टर एक दशमलव ०८ मेट्रिक टन रहेको सूचना अधिकारी काफ्लेले जानकारी दिए । आव २०८०/८१ मा एक हजार दुई सय ८३ मेट्रिक टन तोरी र उत्पादकत्व प्रतिहेक्टर एक दशमलव ०९ मेट्रिक टन पुगेको छ । अघिल्ला बर्षमा भन्दा यसबर्ष तोरीको क्षेत्रफलसमेत वृद्धि भएकाले उत्पादकत्वसमेत बढ्ने अनुमान गरिएको काफ्लेको भनाइ छ ।

    उनले भने, “किसान बालीप्रति सचेत हुँदै समयमै बीउ छर्ने, मल हाल्ने तथा सिँचाइ गर्ने गरेका कारण निरन्तर उत्पादकत्व बढ्दै गएको छ ।” जिल्लाको बुलिङटार गाउँपालिका र बौदीकाली गाउँपालिकाबाहेक छवटै पालिकामा तोरी उत्पादन हुँदै आएको सूचना अधिकारी काफ्लेले बताए ।


    प्रकाशित : बिहीबार , पौष ४ २०८११२:०५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार