२०८३, कार्तिक १७ गते मंगलबार

अध्यक्ष प्रचण्ड र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु बीच भेटवार्ता

अध्यक्ष प्रचण्ड र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु बीच भेटवार्ता


  • मेरोभ्यूज
  • मंसिर २३, २०८१ आइतबार

  • अध्यक्ष प्रचण्ड र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु बीच भेटवार्ता

    काठमाडौँ । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेको छ । अध्यक्ष प्रचण्डको निवास खुमलटारमा उनीहरुबीच भेटवार्ता भएको हो ।

    अध्यक्ष प्रचण्डले अमेरिकी सहायक विदेशमन्त्री लुको नेपाल भ्रमण फलदायी हुने विश्वास व्यक्त गरे । नेपाल र अमेरिकाबीच लामो समयदेखिको सम्बन्ध रहेको उल्लेख गर्दै यस्ता भ्रमण र भेटवार्ताले आपसी सम्बन्धलाई थप बलियो बनाउने विश्वास व्यक्त गरे ।

    नेपालको आर्थिक विकासका लागि अमेरिकाले गरिरहेको सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै अध्यक्ष दाहालले सबैको सहयोग र सद्भावबाट अघि बढ्ने बताए । नेपाल आर्थिक समृद्धिको बाटोमा अघि बढ्न खोजिरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसमा अमेरिकालगायत अन्तर्राष्ट्रिय समुदायको सहयोग र सद्भाव महत्वपूर्ण हुने बताए ।

    ‘हामीले कृषिलाई आधार मानेर उर्जा र पर्यटन विकासलाई जोड दिने नीति लिएका छौं’– उनले भने – ‘सबै क्षेत्रमा सूचना प्रविधिलाई लिडिङ रोलमा राखेर मात्रै नेपाललाई समृद्ध बनाउन सकिन्छ भन्ने हाम्रो विश्वास रहेको छ । यसका लागि अन्तर्राष्ट्रिय समुदायबाट हुने सहयोग र लगानी महत्वपूर्ण हुन्छ ।’

    नेपालको शान्ति प्रक्रिया राष्ट्रिय सहमतिका साथ मौलिकरुपमा सम्पन्न हुन थालेको जानकारी गराउँदै अध्यक्ष प्रचण्डले यसमा अन्तर्राष्ट्रिय समुदायको सद्भावका लागि धन्यवाद दिए ।

    ‘हामीले नेपालमा शान्ति प्रक्रिया बहुमत र अल्पमत वा सत्ता पक्ष र बिपक्षीको रुपमा नलिएर राष्ट्रिय सहमतिका साथ टुंग्याउँदै छौं, यो हाम्रा लागि मात्र होइन शान्ति र स्थायित्व चाहने अन्तर्राष्ट्रिय समुदायकै लागि पनि खुशीको कुरा हो’– उनले भने – ‘टिआरसी विधेयक पारित भएपछि जसरी अन्तर्राष्ट्रिय समुदायले स्वागत गरेको छ, यसले हामीलाई खुशी बनाएको छ ।’

    अन्तर्राष्ट्रिय क्षेत्रमा देखिएको तनावप्रति नेपालको गहिरो चासो रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसबाट नेपालमा पर्नसक्ने असरप्रति आफूहरु संवेदनशील रहेको बताए ।

    नेपाली युवा विपिन जोशी अहिलेसम्म पनि बेपत्ता रहेको घटना नेपालका लागि चिन्ताको विषय रहेको उल्लेख गर्दै उनले हालै उनी जीवितै रहेको इजरायली पक्षबाट जानकारी आउनु सुखद भएको र जतिसक्दो चाँडो जोशीको रिहाईका लागि अन्तर्राष्ट्रिय समुदायको ध्यान जानुपर्ने बताए ।

    अमेरिकी सहायकमन्त्री लुले नेपालको प्रगति आफूहरुका लागि खुशीको विषय हुने भन्दै सबै प्रकारका सहयोग र सद्भाव बढाउँदै लैजाने बताए । उनले नेपालको शान्ति प्रक्रिया राष्ट्रिय सहमतिका लागि टुंगिन थालेकोमा खुशी व्यक्त गर्दै यो अन्तर्राष्ट्रिय समुदायका लागि सुखद खबर भएको बताए ।

    अमेरिकी सहायक विदेशमन्त्री लुले नेपालको आर्थिक विकासका लागि अमेरिकाले निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै अमेरिका सरकारले मात्रै नभई अमेरिकी जनताले पनि नेपालको विकासका लागि सहयोग गर्दै आएको जानकारी दिए ।


    प्रकाशित : आइतबार, मंसिर २३ २०८१०७:०८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार