२०८३, कार्तिक १७ गते मंगलबार

सुगम नगरको दुर्गम बस्ती

सुगम नगरको दुर्गम बस्ती


  • मेरोभ्यूज
  • मंसिर १, २०८१ शनिबार

  • सुगम नगरको दुर्गम बस्ती

    वेदकोट, कञ्चनपुर । यहाँको भीमदत्त नगरपालिका–९ खल्लाकी निर्मला खड्काको पाँच कट्ठा जमिन छ । खेतमा हुने उब्जाउले वर्षभरि खान पुग्दैन । उनको परिवारले खाद्यान्न किनेर जीविकोपार्जन गर्दै आएको छ ।

    खल्लाकी निर्मला प्रत्येक महिना दाल चामल किन्न तीन घण्टा पैदल ओहोर-दोहोर गर्नुहुन्छ । उनले भने, “गतिलो सडक नहुँदा पैदल हिँडेरै बजार ओहोर-दोहोर गर्नुपर्ने बाध्यता छ ।”

    भीमदत्त नगरपालिका–९ अन्तर्गत चुरेका बस्ती खल्ला, मुसेट्टी र टुँडिखेलका स्थानीय किनमेलका लागि ब्रह्मदेव बजार पुग्ने गरेका छन् । महाकालीको तिरैतिर खल्ला, मुसेट्टी र टुँडिखेल जोड्ने बाटो छ । बर्सातमा बाढीपहिरोले बिग्रिने हुनाले यहाँका स्थानीय सडक सञ्जालसँग सम्पर्क टुट्ने गरेको छ । “यस वर्ष पनि बाढीपहिरोले सडक अस्तव्यस्त छ । बस चल्थ्यो । बाटो नहुँदा अचेल चल्न सकेको छैन”, खड्काले भने, “जोखिम मोलेर पैदल हिँड्नुपर्छ ।” यहाँ कक्षा ८ सम्म मात्रै पढाइ हुन्छ । कक्षा ९ देखि अध्ययन गर्न ब्रह्मदेव पुग्नु पर्छ । “विद्यालय पुग्न दुई घण्टा लाग्छ । बर्सातमा बाढीपहिरोको डर छ”, स्थानीय कृष्ण विकले भने, “वर्षामा विद्युत् र सञ्चार सुविधाबाट वञ्चित हुनुपर्छ ।” यहाँ केही वर्षअघि मात्रै विद्युत् विस्तार गरिएको थियो । त्यसपछि स्थानीयले सञ्चारको सुविधामा पाएका थिए । विद्युत् र सञ्चार सुविधा नहुँदा स्थानीयले सौर्य उर्जा र भारतीय सिमको प्रयोग गर्थे । “विगतको तुलनामा केही सुधार भएको छ । तर सडक गतिलो नहुँदा सास्ती भोग्नुपर्छ”, स्थानीय रुपा कामीले भने, “वर्षभरि गाडी चढेर ओहोर-दोहोर गर्न कहिले पाइएला ?” सिँचाइ र खानेपानी समस्या स्थानीयले भोग्दै आएका छन् । सिँचाइको सुविधा नहुँदा आकासे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता रहेको स्थानीय कमल खड्काको भनाइ छ । “माटो उर्वर छ । तर सिँचाइ सुविधा नहुँदा उब्जाउ हुँदैन”, उनले भने ।


    प्रकाशित : शनिबार, मंसिर १ २०८१०९:५५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार