काठमाडौं । बागमती प्रदेश सरकारले डिजिटल सवारी चालक अनुमति पत्रको नियमनका लागि ट्राफिक प्रहरीलाई चार सय आठ थान स्मार्ट फोन हस्तान्तरण गरेको छ । बागमती प्रदेश, श्रम रोजगार तथा यातायात मन्त्रालयद्वारा आज ललितपुरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री बहादुर सिंह लामाले प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरलाई उक्त स्मार्ट फोन हस्तान्तरण गरे ।
सो क्रममा मुख्यमन्त्री लामाले स्मार्ट फोनबाट प्रभावकारी यातायात व्यवस्थापनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले आगामी दिनमा ट्राफिक प्रहरीका काम कारबाहीलाई थप प्रभावकारी बनाउँदै लैजान आवश्यक समन्वय गरिने प्रतिबद्धता व्यक्त गरे ।
प्रहरी महानिरीक्षक कुँवरले सीमित स्रोत साधन बाबजुद प्रभावकारी ट्राफिक व्यवस्थापन गर्दै आइरहेको नेपाल प्रहरीलाई आज हस्तान्तरण भएका स्मार्ट फोन अत्यन्तै उपयोगी सिद्ध हुने विश्वास व्यक्त गरे । उनले सरोकारवाला निकायको सहयोग र समन्वयले मात्रै ट्राफिक व्यवस्थापनलाई समयानुकूल बनाउन सकिने बताए ।
कार्यक्रममा बागमती प्रदेश सभाका सदस्य एवम् पूर्वमन्त्रीहरू, बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयका पदाधिकारी, काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक, उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुखलगायत वरिष्ठ प्रहरी अधिकृतको उपस्थिति थियो ।

