गण्डकी । पोखरा महानगरपालिका-२१ रामदीस्थित एकहाते देवी मन्दिरमा १७औँ शताब्दीदेखि नै पूजाआजा हुँदै आएको छ । साविक कृस्ती नाच्ने चौर गाउँ विकास समिति वडा नं ४ स्थित रामदीमा रहेको यो मन्दिर मट्टीखान कालिका कोट स्थापना भएपछि विसं १७५९ मा स्थापना गरिएको उल्लेख छ ।
पहिले आसपासका सर्वसाधारणले मात्र पूजाआजा गर्दै आएको यस मन्दिरमा अहिले भने टाढाटाढाबाट दर्शनार्थीहरू आउने गरेको मन्दिरका प्रमुख संरक्षक एवं सल्लाहकार विष्णुप्रसाद पौडेलले जानकारी दिए ।
किम्वदन्ती अनुसार प्राचीन कालमा पोखरा जलमग्न भएको समयमा यस मन्दिर रहेको ठाउँ एक हात मात्र जमिन बाँकी रहेकाले त्यसलाई आधार मानेर यस ठाउँको नाम नै एकहाते भनिएको हो ।
एकहातेमा स्थापित भएका कारण यहाँस्थित देवीलाई एकहाते देवीका रुपमा पूजाआजा गरिएको हुनसक्ने उनले बताए ।
मन्दिरमा श्रद्धाभक्तिपूर्वक पूजाआजा गरेमा मनले चिताएको पुग्ने विश्वासका कारण पनि यहाँको महिमा र गरिमा चुलिएको उनको भनाइ छ । मन्दिरमा बराह र देवीको पूजाआजा हुने गरेको छ ।
तत्कालीन समयमा स्थानीयले ढुङ्गा र माटोको प्रयोगबाट मन्दिर निर्माण गरी खरले छाएको र पछि सामान्य जस्तापाताले छाइएको थियो । अहिले भने प्यागोडाशैलीको मन्दिर निर्माण गरिएको छ ।
मन्दिर स्थापना भए यता विभिन्न समयमा मन्दिर जीर्णोद्धार हुँदै वर्तमान अवस्थामा आइपुगेको रामदी एकहाते टोल विकास संस्थाका अध्यक्ष कृष्ण देवकोटाले जानकारी दिए ।
देवकोटाका अनुसार १९९० सालको भूकम्पपछि जीर्णोद्धार गरिएको मन्दिर त्यस यता पनि जीर्णोद्धार एवं मर्मत सम्भार गरिदै आएको थियो । विसं २०७२ को भूकम्पबाट पनि क्षतिग्रस्त भएपछि हालै प्यागोडा शैलीको पक्की मन्दिर निर्माण गरिएको छ ।
हालको मन्दिर निर्माणका लागि मन्दिरका प्रमुख संरक्षक विष्णुप्रसाद पौडेलले रु पाँच लाख ५५ हजार ५५ सहित मन्दिरको अगाडि बाघको दुईवटा मूर्तिसमेत निर्माणमा सहयोग गरेको देवकोटाले जानकारी दिए ।
मन्दिर निर्माणमा महानगरपालिका, समाजसेवी, चन्दादाताआदिबाट सहयोग प्राप्त भएको उनको भनाइ छ । मन्दिरमा शीलामा कुदेर बनाइएको शीलाको मूर्ति छ ।
प्रत्येक वर्षको बडा दसैँ र चैते दसैँका समयमा मन्दिरमा विशेष पूजाआजा हुँदै आएको छ । यस समयमा श्रद्धालु भक्तजनले चढाएको भेटी सङ्कलनबाटै पूजाआजा सञ्चालन गर्ने गरिएको छ ।
अध्यक्ष देवकोटाका अनुसार मन्दिरको संरक्षणका निम्ति विसं २०७९ सालमा मन्दिर व्यवस्थापन समिति गठन गरी जिल्ला प्रशासन कार्यालय कास्कीमा दर्ता गरिएको छ ।
मन्दिर परिसरमा रहेको छ आना एक पैसा जग्गा २०३२ सालको नापीमा व्यक्तिका नाममा दर्ता भएपनि उनीहरूबाट स्वतस्फूर्त मन्दिरलाई नै फिर्ता भएको देवकोटाले जानकारी दिए ।
पर्यटकीयरुपमा पनि उत्तिकै महत्वपूर्ण एकहाते देवी मन्दिर रहेका कारण यस तीर्थस्थललाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सक्ने देखिएको छ ।
पर्यटकीय राजधानी पोखराको मनमोहक स्थानमा अवस्थित यहाँबाट उत्तरतर्फ लहरै देखिने चाँदी जस्तै टलक्क टल्कने हिम शृङ्खला, पूर्वतर्फ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसहितको पोखरा बजार, बायाँतर्फ विश्वशान्ति स्तूपा, पुम्दीकोटस्थित विशाल महादेव मूर्ति(भूमेश्वर महादेव)लगायतका दृश्यले जो-कोहीलाई लोभ्याउने गरेको छ ।
मन्दिरको इतिहास, यहाँको भूबनोटसँगै पर्यटकीय सम्भावनालाई जोड्न सकेमा यसलाई धार्मिक पर्यटनको आकर्षक गन्तव्यका रुपमा विकास गर्न सकिने स्वतन्त्र पत्रकार सङ्घ कास्कीका अध्यक्ष कृष्ण रानाभाटले बताए ।
“हामी यस्ता ऐतिहासिक सम्पदाको प्रवर्द्धन गर्न नसक्दा पछाडि परिरहेका छौँ”, उनले भने, “इतिहास, संस्कृति र पर्यटकीय सम्भाबनालाई उजागर गर्न सकेमा यो स्थल पोखरामा आउने जो-कोहीका लागि पुग्नै पर्ने गन्तव्यका रुपमा स्थापित बन्ने पक्का छ ।”
यस्ता ऐतिहासिक सम्पदाको संरक्षण र विकाससँगै पर्यटकीय उपयोग हुनु अपरिहार्य भएको बताउँदै उनले यसका लागि सरोकारवाला सबैको सामुहिक प्रयास आवश्यक हुनेमा जोड दिए ।

