२०८३, कार्तिक १७ गते मंगलबार

नेपाल संवतले राष्ट्रिय स्वाभीमान र मौलिक संस्कृतिको प्रतिनिधित्व गर्छः अध्यक्ष प्रचण्ड

नेपाल संवतले राष्ट्रिय स्वाभीमान र मौलिक संस्कृतिको प्रतिनिधित्व गर्छः अध्यक्ष प्रचण्ड


  • मेरोभ्यूज
  • कार्तिक १६, २०८१ शुक्रबार

  • नेपाल संवतले राष्ट्रिय स्वाभीमान र मौलिक संस्कृतिको प्रतिनिधित्व गर्छः अध्यक्ष प्रचण्ड
    फाइल फाेटाे/मेराेभ्यूज

    भक्तपुर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवतले नेपालको राष्ट्रिय भावना, स्वाभीमान, स्वाधीनता, आत्मसम्मान र मौलिक संस्कृतिको प्रतिनिधित्व गर्ने भएकाले यसलाई राष्ट्रिय मान्यता प्रदान गरिएको बताएको छ ।

    नेकपा (माओवादी केन्द्र) मध्यपुर थिमी नगर समिति भक्तपुरले नयाँ वर्ष नेपाल संवत् ११४५ को अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल संवत् नेवारी समुदायको भावनासँग जोडिएको भए पनि यो नेपाल राष्ट्रकै मौलिक संस्कृतिको महत्वपूर्ण हिस्सा भएको बताए ।

    ‘नेपाल संवतले राष्ट्रिय संवतको मान्यता प्राप्त गर्नुपर्छ भनेर खासगरी काठमाडौँ, ललितपुर र भक्तपुरका नेवार समुदायले धेरै वर्षदेखि आन्दोलन गर्दै आएको थियो । विभिन्न समयका सरकारहरुले त्यो आन्दोलनको एजेण्डा पूरा गर्नुको साटो दबाउन खोजेको गुनासो यो समुदायका अगुवाहरुबाट सुनिरहेको थिएँ’ – अध्यक्ष प्रचण्डले भने – ‘२०६५ मा पहिलो पटक प्रधानमन्त्री भएको बेलामा मैले नेपाल संवतलाई राष्ट्रिय मान्यता प्रदान गर्ने निर्णय मन्त्रिपरिषदबाट गराएको थिएँ, त्यसका लागि मलाई अहिले पनि गर्व लागिरहेको छ ।’

    नेपाल संवतले राष्ट्रिय मान्यता पाएको लामो समयसम्म पनि यसको कार्यान्वयनमा अलमल भएको देखेर गत वर्ष आफू तेस्रो पटक प्रधानमन्त्री भएको बेला विक्रम संवत् प्रयोग हुने सबै सरकारी कागजातमा नेपाल संवत् प्रयोग गर्ने निर्णय मन्त्रिपरिषदबाटै गराएको उनले स्मरण गराए । उनले भने – ‘त्यति मात्र होइन, हाम्रो पार्टीले बागमती प्रदेश सरकारको नेतृत्व गरेको बेलामा यो प्रदेशमा नेपाल भाषा र तामाङ भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्ने निर्णय गरिएको छ, यो पनि महत्वपूर्ण उपलब्धि हो ।’

    शंखधर साख्वाले गरीब जनताको ऋण मोचन गर्ने काम गरेर पवित्र कार्य गरेपछि उनकै सम्मानमा नेपाल संवत् सुरु गरिएको प्रसंग उल्लेख गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले भने – ‘२०६५ को एउटै मन्त्रिपरिषद बैठकबाट हामीले नेपाल संवतलाई राष्ट्रिय मान्यता दिने निर्णय मात्रै गरेनौं, शंखधर साख्वाले जस्तै हामीले पनि करिब किसानहरुको निश्चित रकम ऋण मिनाहको निर्णय पनि गर्यौं ।’

    आफू पहिलो पटक प्रधानमन्त्री भएको बेला गरिब किसानको ऋण मिनाहा, मध्यपहाडी लोकमार्ग, मदन भण्डारी मार्गलगायतका ठूला पूर्वाधारको सुरुवात गरेको स्मरण गर्दै दोस्रो पटक प्रधानमन्त्री हुँदा लोडसेडिङ अन्त्य गरेर उज्यालो नेपालको निर्माण हुँदै तेस्रो पटक प्रधानमन्त्री भएको बेलामा नेपाली इतिहासमै पहिलो पटक सरकारको अगुवाईमा भ्रष्टाचार विरुद्धको अभियान सुरु गरिएको बताए । हरेक पटक माओवादी नेतृत्वको सरकारले ऐतिहासिक कामको थालनी गरेको उल्लेख गर्दै उनले यसलाई जनताको बीचमा लैजान नसक्नु कमजोरीको रुपमा रहेको बताए ।

    पछिल्लो समय आफ्नो नेतृत्वको सरकारले धेरै काम गर्न खोजेको देखेर सरकार ढालिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले सरकारमा हुँदा सुरु गरिएको सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान अब पार्टीको मुख्य एजेण्डा हुने र २०८४ माओवादीको हुने बताए । सरकारबाट निस्केपछि आफूले एक पटक प्रदेश तहमा पुगेर जनताको अवस्था बुझ्ने प्रयास गरेको उल्लेख गर्दै उनले देशभरि जनताले माओवादी र प्रचण्डलाई मायाँ गर्न थालेको बताए ।

    ‘३२ सिट हुँदा त माओवादीले यति काम गर्यो भने अब एक पटक बहुमत दिनुपर्छ कि भन्ने हिसाबले जनस्तरमा बहस चल्न थालेको छ, यो हाम्रा लागि निकै सकारात्मक कुरा हो’ – उनले भने – ‘अब यसलाई हामीले अवसरको रुपमा बदल्नु पर्छ, आत्मविश्वास बलियो बनाउनु पर्छ, ८४ हाम्रो हो,  माओवादीको अर्को जीतको वर्ष हुने छ ।’

    माओवादी केन्द्र, मध्यपुर थिमी नगर अध्यक्ष एवं मध्यपुर नरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका उपाध्यक्ष अग्निप्रसाद सापकोटा, स्थायी समिति सदस्य एवं पूर्वमन्त्री शशी श्रेष्ठ, केन्द्रीय सदस्यहरु दिलिप प्रजापति र रामनारायण बिडारीले शुभकामना दिएको थियो । कार्यक्रम सञ्चालन नगर समिति शिव श्रेष्ठले गरेको थियो ।

    सो क्रममा सहिदहरु वैकुण्ठ हरि श्रेष्ठ, सविन श्रेष्ठ र कृष्णमान श्रेष्ठका परिवारलाई अध्यक्ष प्रचण्डले सम्मान गरेको थियो ।


    प्रकाशित : शुक्रबार, कार्तिक १६ २०८१०९:५२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार