२०८३, कार्तिक १७ गते मंगलबार

फेरियो एकल महिला गीताको जीवन

फेरियो एकल महिला गीताको जीवन


  • मेरोभ्यूज
  • कार्तिक ५, २०८१ सोमबार

  • फेरियो एकल महिला गीताको जीवन

    बर्दिवास, महोत्तरी । बर्दिवास–१ की एकल महिला भद्रकुमारी फुँयाल दृढ सङ्कल्प, कामको निरन्तरता र समर्पणले मान्छेलाई कसरी सफलतामा पुर्याउँ भन्ने उदाहरण बनेको छ ।

    यहाँ गीता नामले चिनिने भद्रकुमारीको मेहनत र लगनले उनको परिवारमा अभाव र गरिबी मात्रै हटेको छैन, परिवार पनि सुशिक्षित बनेको छ । एघार वर्षअघि पति खिन्तप्रसाद फुँयाल (मनोज) को आकस्मिक निधन हुँदा आफूले एक्लै उभिने र बाँच्ने सपना नै नदेखेको स्मरण गरे ।

    आफूमात्रै होइन तीन लालाबालाको दायित्व पनि एक्लैले सम्हाल्नुपर्ने भएपछि उनी निकै आत्तिनुभएको थियो । “न टेक्ने लौरो, न समाउने ठाउँ भनेजस्तै सहारा कोही थिएन”, गीता भन्छिन, “खै, कुन प्रेरणाले पो उठ्ने जाँगर दियो ! मन समालेर आँखाका आँसु पुछेँ, जुरुक्क उठेँ, मनमा तैँले केही गर्नैपर्छ भन्ने सङ्कल्प पलायो ।” श्रीमान्को मृत्यु भएका बेला दुई छोरा र एक छोरीसहित तीन लालाबाला हुर्काउनु पर्छ भन्ने चेतले त्यसैवर्ष पूर्वपश्चिम राजमार्गको सडकपेटीमा थोरै पुँजीमा फलफूल पसल सुरु गरेको गीताले सुनाए । त्यही पेसा पसल आफ्नो जिउने आधार बनेको उनको भनाइ छ । “

    विपतका बेला गरेको अठोटले निरन्तर काममा जुट्न हौसला दियो । त्यसयता दैनिक गुजाराका लागि चिन्ता गर्नुपरेन । परोपकारी सामाजिक कार्यमा लाग्न, छोराछोरीको समुचित लालनपालन र शिक्षादीक्षाका लागि कसैका सामु हात फैलाउनु परेन । श्रीमानको मृत्युसँगै ११ वर्षअघि सुरु गरेको फलफूल पसलले सबै कुरा दियो”, गीताले भनिन ।

    शोकलाई शक्तिमा बदल्ने अठोट नलिए आफ्नो मात्रै होइन तीन सन्तानको भविष्य पनि अन्धकार हुने कुराले नै आफूलाई केही गर्ने जाँगर लागेको उनको कथन छ ।

    “पति वियोगका प्रारम्भिक दिनका सङ्घर्ष कहालीलाग्दा थिए तर म हतासिएन, सम्भालिदै अघि बढेँ । आफ्नोभन्दा पनि सन्तानको मायाले धेरै कुरा गर्नु सिकाउँदो रहेछ । त्यही कारण सुरु गरेको कामबाट सन्तुष्ट छु, हाल अभाव भनेर खुट्याउने केही कुरा छैन । कुनैबेला दुई/चार रुपैयाँका लागि फैलाउनु परेको हातले अहिले विपद् र दुःखमा परेकालाई केही दिन पाएको छ”, विगत स्मरण गर्दै उनले भने ।

    आमा गीताले शोकमा गरेको सङ्कल्पबाट स्थापित व्यापारको कमाइले गीताका छोराहरूमध्ये एक जना क्यानाडा र अर्को अष्ट्रेलियामा उच्च शिक्षा लिदैछन् । छोरी काठमाडौँमा कम्प्युटर इञ्जिनियरिङ पढ्दै छिन । “

    सहज जीवनयापन, छोराछोरीको राम्रो शिक्षादीक्षाको प्रबन्ध गर्नुका साथै समस्यामा परेकालाई थोरै भए सरसापट दिन पाउनु नै एउटा एकल आमाका लागि सफलता कुरा नै हो । माग्नु सबैभन्दा निरीह कुरा रहेछ भन्ने आफ्नै भोगाइबाट बुझेकी छु, त्यसैले कोही सरसहयोगका लागि आइपुगे त्यसै फर्काउन मनले मान्दैन, केही न केही दिएर पठाउँ भन्ने लाग्छ”, उन भनिन ।

    उनले अनाथ बालबालिका तथा सहयोगापेक्षी मानव व्यवस्थापनका लागि बर्दिवास–२ मा बन्न लागेको ‘हाम्रो मायाघर’ का लागि पाँच धुर जग्गा र रु ५१ हजार नगद सहयोग गरेको छ ।

    “दिएको कुरा कसैले थाहा नपाउन् भन्छन्, मैले यति दिएँ भन्न होइन, सोचेजति सामाजिक काम अझै गर्न पाएकी छैन । पछिल्लो समय छोराछोरीको उच्च शिक्षामा लगानी गर्नुपर्दा हाल सामाजिक काममा सहयोग गर्न पाएकी छैन । अलि सहज भएमा आगामी दिनमा परोपकारका काम गर्ने निकै रहर छ”, फुँयालले आफ्नो योजना सुनाए ।

    बर्दिवास उद्योग वाणिज्य सङ्घका अध्यक्ष विष्णु खड्का सङ्घर्ष र सफलताकी उदाहरण बनेकी एकल महिला फुँयालबाट अन्य महिलाले पनि प्रेरणा लिनुपर्ने बताउँछिन ।

    “दुःख त सबैलाई पर्छ नै तर त्यसको सामना कसरी गर्ने भन्ने कुरा हामी सबैले उनबाट सिक्नुपर्छ । शोकलाई शक्तिमा बल्न मेहनत गरेमा पक्कै पनि एकदिन सफलता प्राप्त हुन्छ, यसको उदाहरण पनि हो उनी”, खड्काले भने ।


    प्रकाशित : सोमबार, कार्तिक ५ २०८११०:४३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार