२०८३, कार्तिक १७ गते मंगलबार

स्याफ्रुबेँसी–रसुवागढी राजमार्ग खुल्यो, कन्टेनर गुड्न थाले

स्याफ्रुबेँसी–रसुवागढी राजमार्ग खुल्यो, कन्टेनर गुड्न थाले


  • मेरोभ्यूज
  • कार्तिक ५, २०८१ सोमबार

  • स्याफ्रुबेँसी–रसुवागढी राजमार्ग खुल्यो, कन्टेनर गुड्न थाले

    रसुवा । पछिल्लो समयको भारी वर्षाका कारण अवरूद्ध स्याफ्रुबेँसी–रसुवागढी राजमार्ग सञ्चालनमा आएको छ । दर्जनौँ हलुका सवारीसाधन र मालबाहक कन्टेनर गन्तव्यतर्फ प्रस्थान गरेको रसुवाका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जानकारी दिए ।

    स्याफ्रुबेँसीदेखि रसुवागढीसम्मको १६ किमी दूरीमा दर्जनौँ स्थानमा गएको पहिरोसुरक्षा निकायको सहयोगमा सडक विभागको डोजरले हटाएको थियो ।

    क्षतिग्रस्त राजमार्ग मर्मत सुधार गरि छिटोभन्दा छिटो सवारीसाधन सञ्चालन गराइएको विभागको भनाइ छ । वर्षासँगै जिल्लाका विभिन्न स्थानमा अनगिन्ती पहिरोबाट कुनै पनि मानवीय क्षति नभएको प्रजिअ खनालले जानकारी दिए ।

    सामान लिनका लागि तिब्बतको केरूङतर्फ जान लागेका ४० वटा कन्टेनर डिब्बा राजमार्गमा पहिरो खसेका कारण स्याफ्रुबेँसीको आसपास नै रोकिएका थिए भने मालसामग्री बोकी केरूङबाट नेपाल भित्रिएका दुई सय कन्टेनर रसुवागढी भन्सार हातामा रोकिएका थिए । अहिले भने सबै सवारीसाधन क्रमिकरूपमा ओहोर-दोहोर भइराखेका छन् ।

    रसुवागढीमा रोकिएका कन्टेनरहरूमा दसैँ लक्षित लत्ताकपडा, जुत्ता, चप्पल, रोलकपडा, थर्मस, इलेक्ट्रोनिक्सका सामग्रीका साथै स्याउ, लसुन तथा अदुवासमेत रहेका थिए ।

    रसुवागढी नाकाबाट दसैँका लागि ४६ डिब्बा तयारी पोशाक, ११ ट्रक स्याउ, दुई ट्रक हलुवावेद र दुई ट्रक अनारसमेत मितेरी पुलबाट नेपाल भित्रिसकेको सशस्त्र प्रहरी बल २० नं गुल्मले जनाएको छ ।

    पानी पर्नासाथ जुनसुकै बेला अवरूद्ध हुने अवस्थामा रहेको स्याफ्रुबेँसी–रसुवागढी मार्गको लिङलिङ इलाकामा भने छेउतर्फ भोटेकोसीले कटान गरेको र कुनातर्फ चिप्लो पहरा निस्केका कारण सो स्थान मजबुत बनाउन केही समय लाग्नेछ ।

    वर्षा थपिए पुनः बिग्रन सक्ने र वर्षा रोकिए निर्वाद रूपले सवारी सञ्चालन हुने विभागले जनाएको भनाइ छ । राजमार्गको दायाँबायाँ अधिकाँश स्थान भिरपाखो भएका कारण सुरक्षाको स्थितिलाई मध्यनजरराखी रातको समयमा सवारीसाधन नचलाउन प्रहरी प्रशासनले अनुरोध गरेको छ ।

    छिटो राजमार्ग खुलाउने सरकारको निर्देशनलाई सिरोपर गर्दै ज्यानको पर्वाह नगरी प्रजिअ खनाल र जिल्ला प्रहरी प्रमुख केशव भट्टराई डोजरसँगै हिँडेका कारण पहिरो पन्छाउने कार्यमा द्रुतता आएको थियो ।

    टेलिफोन, विद्युत् र इन्टरनेट सेवा सञ्चालन नहुँदा दुई दिनसम्म रसुवागढी भन्सारको जाँचपास कार्य प्रभावित भएको थियो । केरुङतर्फ तिब्बती भागमा सडकमा क्षति भारी वषाँसँगै आएको पहिराले रसुवागढीस्थित मितेरी पुलदेखि तिब्बतको केरूङ खण्डको चिनियाँ राजमार्ग भने बन्द भएको सीमा सुरक्षाकर्मीले बताएका छन् ।

    चिनियाँ भागको ठोङ्सा नजिकको पहिराले सडकमा ठूलो क्षति भएको छ, तर चिनियाँ पक्षले मर्मतको कार्य अगाडि नबढाएको स्थानीय प्रशासनको भनाइ छ ।

    त्यही कारण केरुङ जाने प्रतिक्षामा रहेका ट्रकहरु रसुवागढीमै रोकिएका छन् । विसं २०७२ मङ्सिर १५ गतेदेखि मालसामग्री आयात निर्यात सुरू भएको रसुवागढी नाकाबाट आयात भने अत्यधिक भइरहेको र निर्यात भने न्यून रूपमा भएको रसुवा भन्सारका कर्मचारीले बताएका छन् ।

    उता, कैलाश मानसरोवर तीर्थयात्रा गरेर फर्किएका यात्रुहरु अहिले केरुङमा अलपत्र पर्न थालेका छन् । पछिल्लो समय हुम्लाको हिल्साबाट भन्दा रसुवागढी नाकाबाट यात्रा सहज हुने भएकाले कैलाश मानसरोवर जाने तीर्थयात्रु केरूङको मार्ग रोज्न थालेका छन् ।

    कैलाश मानसरोवर जान चाहने यात्रुहरु राजधानी काठमाडौँदेखि रसुवाको टिमुरेसम्म आधाजसो मोटर र आधाजसो हेलिकप्टरमा पुग्ने गरेको सीमा सुरक्षाकर्मीले बताएका छन् ।

    तिब्बततर्फको केरूङ–रसुवागढी सडकखण्डमा ठाउँठाउँमा निकै ठूला पहिरा गएका कारण यातायात अवरुद्ध छ ।

    कैलाश मानसरोवरको दर्शन गरेर फर्कने नेपाली र अन्य देशका नागरिकलाई नेपालतर्फ ल्याउन ल्हासास्थित नेपाली महावाणिज्यदूत नवराज ढकालमार्फत पहल भइरहेको प्रजिअ खनालले बताए ।

    चिनियाँ भागको क्षतिग्रस्त सडक पुनः निर्माणका लागि लामो समय लाग्ने केरूङबाट समकक्षीले जानकारी पठाएको प्रजिअ खनालको भनाइ छ ।

    चिनियाँ अधिकारीले छिटो सडक नबन्ने बताएपछि रसुवागढी–केरूङ–रसुवागढी ओहोर-दोहोर हाललाई अनिश्चित भएको छ ।

    अध्यागमनको तथ्याङ्क अनुसार चालू आवमा कम्तीमा सात हजार सात सय ४३ यात्रु कैलाश मानसरोवर गएका छन् ।

    जिल्लाभित्रका सडक, विद्युत आयोजनामा क्षति पछिल्लो मनसुनी वर्षाका कारण रसुवामा निर्माणाधीन दुई सय १६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजना, वीस मेगावाट क्षमताको लाङ्टाङ खोला जलविद्युत आयोजनाका केही उपकरण र ती आयोजनाका मजदूर निवासमा क्षति पुगेको छ ।

    नेपाल विद्युत् प्राधिकरणद्वारा निर्मित राष्ट्रिय प्रसारण लाइनको पहिरेबेँसीस्थित चार्जिङ सेन्टरको एक वटा फलामे खम्बामा क्षति पुग्नुका साथै चीन सरकारको सहयोगअन्तर्गत सुक्खा बन्दरगाह सँगै निर्माण भइरहेको भन्सार कार्यालयको भवन माथिबाट पहिरो आई भविश्यलाई जोखिम तुल्याएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

    बेत्रावती, मैलुङ, स्याफ्रुको याङयाङ तथा छोकल क्षेत्रका राजमार्गसमेत थुप्रै स्थानमा क्षति भएको र क्षतिको विवरण सङ्कलन गर्ने काम सडक सुधार आयोजनामार्फत् भइरहेको छ ।

    टिमुरे क्षेत्रमा गएको पहिरो सँगै आएको लेदोले एकवटा टहरो घर पुरिएको जिल्ला विपद व्यवस्थापन समितिले जनाएको छ ।

    यस्तै रसुवाका अधिकाँश ग्रामीण सडक तहसनहस भएका छन् । नौकुण्डको सरमथली इलाकामा स्थानीयको पहलमा सुधारका काम अगाडि बढेको छ ।

    डाडागाउँ, बृद्धिम, पुरानो तातोपानी, केराबारी, गतलाङ, हाकु, ब्रावल, थुमनसमेतका क्षेत्रको सडक क्षति भएको र बडादसैँमा खाद्य सामग्री ढुवानी गरी चाडपर्वमा सहज रूपले ओहोरदोहोर गर्न गर्ने वातावरणका लागि समयमै ग्रामीण सडक मर्मत गरिदिन स्थानीय सरकारलाई अनुरोध गरिएको रसुवा नागरिक समाजले जनाएको छ ।


    प्रकाशित : सोमबार, कार्तिक ५ २०८११०:४०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार