कमलामाई, सिन्धुली । यातायातका साधनले व्यस्त हुने विपी राजमार्ग यतिबेला सुनसान छ । राजमार्ग छेउका होटल व्यवसाय ठप्प छ । अविरल वर्षासँगै आएको बाढीपहिरोले राजमार्गमा ठूलो क्षति गरेपछि सवारीसाधन चल्न सकेका छैनन् । सिन्धुलीसहित पहाडी जिल्ला र पूर्वी नेपाललाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने छोटो दूरीको राजमार्ग बाढीपहिरोले क्षतविक्षत छ ।
रोशी र सुनकोसी नदीमा आएको बाढीले कतै सडक बगाएको छ, कतै सडक भासिएको छ । कतै चिराचिरा परेको छ । गोलञ्जोर गाउँपालिकाको माथिल्लो बारादेखि नेपालथोक दुम्जासम्मको सडकमा मात्रै ४० ठाउँमा लेदोमाटो, गेग्रान र ढुङ्गामाटो खसेको छ ।
नेपालथोक दुम्जा, टुप्पीडाँडा, कमेरेफाँट झाँगाझोली रातमाटा, बोहोरेटार, माथिल्लो बारा, तल्लोबारालगायत स्थानमा खसेको पहिरो पूर्ण रुपमा पहिरो हटाउन सकिएको छैन । सडकमाथिबाट खसेको पहिरो थुप्रो लागेको छ । राजमार्गका ठाउँठाउँमा सडकमाथिबाट बेलाबेलामा ढुङ्गा, लेदोमाटो झरिरहन्छ । कतिपय भिरका रुखहरु सडकतर्फ नै ढल्किएका देखिन्छन् ।
जापान सरकारको सहयोगमा १९ वर्ष लगाएर बनाइएको राजमार्ग तीन दिनको वर्षाले तहसनहस बनाइदिएको छ । महोत्तरीको बर्दिवादेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको कूल एक सय ६० किलोमिटर लामो राजमार्गलाई चार खण्ड (पहिलो खण्ड बर्दिवास–सिन्धुलीमाढी ३७ किमी, दोस्रो खण्ड सिन्धुलीमाढी–खुर्कोट ३९ किमी, तेस्रो खण्ड सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किलोमिटर र चौथो खण्ड नेपालथोकदेखि काभ्रेको धुलिखेलसम्म ५० किलोमिटर) मा विभाजन गरेर निर्माण गरिएको थियो ।
यसमध्ये तेस्रो खण्ड सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किलोमिटर र चौथो खण्ड नेपालथोकदेखि काभ्रेको धुलिखेलसम्म ५० किलोमिटर सडकको विभिन्न भागमा बढी क्षति पुगेको छ । राजमार्गको दुई खण्ड एकतर्फी सञ्चालन, एक खण्ड खुलाउने प्रयास बिपी राजमार्गको पहिलो खण्ड बर्दिवास–सिन्धुलीमाढी ३७ किमी बाढीपहिरोले क्षति गरेको थिएन । यो खण्ड दुईतर्फ नै सञ्चालनमा छ । दोस्रो खण्ड सिन्धुलीमाढी–खुर्कोट ३९ किमी सडकको माथिल्लो बारा, तल्लो बारा क्षेत्रको सात ठाउँमा सानाठूला पहिरो खसेको थियो । दुई ठाउँमा खसेको ठूलो पहिरो एकतर्फ पन्छाएर सडक सञ्चालन गरिएको छ । तेस्रो खण्ड खुर्कोट–नेपालथोकको विभिन्न भागमा कतै पहिरो पन्छाएर र भत्किएको ठाउँमा अस्थायी डाइभर्सन बनाएर एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ ।
कानढुङ्ग्रीमा डाइभर्सन निर्माण बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक खण्डको सुनकोशी गाउँपालिका–७ कानढुङ्ग्रीमा चिराचिरा परेर सुनकोसी नदीतर्फ धसिएपछि सोही सडकको भित्तातर्फ डाइभर्सन बनाएर एकतर्फी सडक सञ्चालन गरिएको छ । सञ्चालनमा रहेको सडक कालोपत्रसहित धसिएर नदीमा खसेको थियो । सोही सडकको भित्तापट्टीबाट ५० मिटर डाइभर्सन सडक बनाएको हो ।
खुर्कोट–नेपालथोक खण्डको ३२ ठाउँमा माथिबाट खसेको ढुङ्गामाटो पहिरो र लेदोमाटो एकतर्फ पन्छाएर सडक एकतर्फी सञ्चालन गरिएको छ । नेपालथोकमा बगाएको सडक सञ्चालन गर्न रोशी र घ्याम्पे खोलालाई डाइभर्सन गरिँदै बिपी राजमार्गअन्तर्गत नेपालथोक–धुलिखेल खण्डको काभ्रे र सिन्धुलीको सिमाना छेउ नेपालथोक देविस्थानमा रोशी र घ्याम्पे खोलाले बगाएको सडक सञ्चालन गर्न आजदेखि ट्र्याक खोल्ने काम सुरु भएको छ ।
सडक डिभिजन कार्यालय खुर्कोटका प्रमुख पारशमणि हमालका अनुसार एस्काभेटरको सहयोगमा खोलालाई पूर्वतर्फ डाइभर्ट गरी अस्थायी ट्र्याक खोल्ने काम सुरु गरिएको हो । बाढी बगाएको एक सय मिटर सडकलाई रोशी खोलालाई डाइभर्ट गरेर अस्थायी ट्र्याक निर्माण सुरु गरिएको उनले बताए ।
उनका अनुसार यो ट्र्याक खुलेपछि काभ्रेको मङ्गलटारसम्म सवारी सञ्चालन हुने र भकुण्डबेंसीदेखि रोशी खोलासम्मको दस किलोमिटर क्षेत्रमा बगाएको सडकमा ट्र्याक खोल्नुपर्ने हुन्छ । बर्दिवासदेखि धुलिखेलसम्मको तीन खण्डको एक सय दस किलोमिटर सडकमा यातायात सञ्चालन गर्न सकिने र ५० किलोमिटर पुनःनिर्माणको चरणमा रहेको उनले बताए ।
नेपालथोकबाहेक यो खण्डमा छ स्थानमा रोशीको बाढीले कालोपत्रसहितको सडकमा पूर्णरुपमा क्षति गरेको छ । नेपालथोक–धुलिखेल खण्डमा डेढ किलोमिटर सडक पूर्ण क्षति भएको अनुमान छ । सबैभन्दा बढी काभ्रेको चौकीडाँडामा आधा किलोमिटर सडक रोशीको बाढीले खसालेको छ ।
रोशीगाउँपालिकाको कालढुङ्गा र बोक्सीकुनामा दुई सय मिटरभन्दा बढी सडकमा पूर्णरूपमा क्षति भएको छ । थली बेसीमा पनि रोशीखोलाले दुई सय मिटर र नार्के पुल नजिक दुई सय मिटरको हाराहारीमा सडक रोशी खोलाको बाढीले बगाएको छ ।
रोशी खोलामा बाढी घटेकाले खोलालाई डाइभर्सन गरेर अस्थायी सडक निर्माण गर्न स्थानीयले सुझाएका थिए । विसं २०५० को भीषण वर्षाले राजधानीलाई देशको अन्य भागसँग जोड्ने त्रिभुवन राजपथ तथा पृथ्वीराजमार्गमा व्यापक क्षति भई जनजीवन अस्तव्यस्त र सडक सम्पर्क टुटेपछि नेपाल सरकारले बिपी राजमार्गलाई वैकल्पिकमार्गका रूपमा विकास गरेको थियो । राजमार्ग पूर्णरुपमा कहिलेसम्म सञ्चालनमा आउँछ भन्ने अनिश्चित छ ।
यद्यपि दसैँअघि नै राजमार्ग पूर्णरुपमा सञ्चालनमा ल्याउने प्रयासस्वरुप जिल्लाका जनप्रतिनिधिसहित सरोकारवाला सबैपक्ष जुटेका छन् ।

