काठमाडौँ । राष्ट्रिय ट्रमा सेन्टरको इमरजेन्सी कक्षमा नारायणप्रसाद रिमाल टोलाइरहेको छ । उनका आँखाले कसैलाई खोजिरहेका छन् । उनको शरीरमा चोटपटक नलागेको कुनै ठाउँ छैन । रिमालको शरीरको दायाँ भागमा बढी क्षति पुगेको देखिन्छ ।
इमरजेन्सीको बेड नं २१ मा उपचाररत ६८ वर्षीय रिमाललाई आफू घाइतेभएको भन्दा पनि आफ्नी अर्धाङ्गिनीसँग बिछोड भएको पीडाले पिरोलेको छ । चिन्तित मुद्रामा रिमालले भने, “म बाँच्न सफल भएँ तर खाना बनाइरहेकी मेरी श्रीमती पहिरोमै छिन् । उद्धारका लागि डोजर पुग्न सकेको छैन रे ।” आफूलाई अप्ठ्यारो परेका बेला हरदम साथ रहने जीवनसाथीको याद नआओस् पनि कसरी ? रिमालको दायाँपट्टीको करङ फुस्किएको छ । उनको उक्त भाग चलेको छैन । चौरी देउराली गाउँपालिका–६ काभ्रेका रिमाललाई कहालीलाग्दो दिन सम्झिँदा मन अमिलो हुन्छ । उनलाई समय ठ्याक्कै याद छैन । श्रीमती पवित्रा भान्सा कोठामा खाना पकाउँदै थिइन् । रिमाल छेउकै घरको बार्दलीमा बसिरहेको थियो । वर्षाले राम्रो सङ्केत दिइरहेको थिएन । एक्कासी माथिबाट आएको पहिरोले घर पुर्यो ।
हेर्दाहेर्दै श्रीमती पुरिइन् । पहिरोमा परेको दुई घण्टासम्म उनले उद्धारका लागि गुहार मागे । हारगुहार गर्दागर्दै बेहोस भए । चार घण्टापछि होस खुल्दा उनले आफूलाई एकैपटक अस्पतालका बेडमा पाए । हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएका रिमालले पहिरोले घर लग्ला भन्ने कहिल्यै नसोचेको बताए । गला अवरुद्ध पार्दै उनले भने, “विसं २०४६ सालमा त्यो घर बनाएको हो । यो पालि यस्तै भयो ।”
ट्रमामै उपचाररत दक्षिणकाली नगरपालिका–९ फर्पिङका ३० वर्षीय सुजन बस्नेत पेसाले सवारी चालक हुन । गाडी पन्छाउन सडकमा पुग्नै लाग्दा माथिबाट एक्कासी आएको लेदोसहितको पहिरोले उनलाई हुत्याएर पानीमा लग्यो । तुरुन्तै उद्धार गरेर नजिककै अस्पताल लगियो । उनकी श्रीमती सीताले दिउँसो ३ बजेतिर थप उपचारको लागि उनलाई ट्रमा ल्याएको बताए । सुजनलाई हात, खुट्टा, घाँटी, करङमा चोट लागेको छ ।
हालसम्म ट्रमा सेन्टरमा १५ जना घाइतेको उपचार भएको छ । उनीहरूमध्ये छ जना उपचारपछि घर फर्किएको छ । सेन्टरको विपद् व्यवस्थापनको फोकल पर्सन इन्दिरा पाण्डेका अनुसार मुख्यतः बाढी पहिरोबाट प्रभावित घाइते धादिङ, काठमाडौँ, रामछोप, दोलखा, काभ्रेबाट आएका छन् ।
उनले भने, “चोटपटक लागेका ‘जटिल केश’ नै आएका छन् । ‘रिफरल केश’ पनि छन् । हालसम्म एक जनाको सर्जरी भएको छ भने तीन जनाको सर्जरी गर्ने तयारीमा छौँ ।”
त्यसैगरी वीर अस्पतालमा हालसम्म एक जना मात्र घाइतेको उपचार भएको अस्पतालका इमरजेन्सी विभाग प्रमुख डा सुरेशन नेपालले जानकारी दिए ।
पाटन अस्पतालमा हालसम्म दस जना बाढी पहिरोबाट उद्धार गरिएका घाइतेको उपचार भएको छ । तीन जना डुबेका घाइते र सात जना पहिरोमा परेका उपचार गरिएको अस्पालका निर्देशक डा रवि शाक्यले जानकारी दिए ।
उनले भने, “सात जनाकै डिस्चार्ज भइसकेको छ । डुबेका मध्ये दुई जना डिस्चार्ज भएको र एक जना उपचाररत छन् । किस्ट मेडिकल कलेजबाट रिफर भएर आएका छ वटा केश रहेका छन्, जसमा दुई जना डिस्चार्ज भइसकेका छन् ।”
सशस्त्र प्रहरी बल नेपालले उपलब्ध गराएको पछिल्लो तथ्याङ्कअनुसार बाढी पहिरोको घटनाबाट ८९ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थाले विपदबाट उद्धार गरिएका घाइते बिरामीको निःशुल्क उपचार गर्न पत्राचार गरिसकेको छ ।

