२०८३, कार्तिक १७ गते मंगलबार

प्रदेश राजधानीको प्रशासनिक पूर्वाधार निर्माण तीव्र गतिमा

प्रदेश राजधानीको प्रशासनिक पूर्वाधार निर्माण तीव्र गतिमा


  • मेरोभ्यूज
  • आश्विन २४, २०८१ बिहीबार

  • प्रदेश राजधानीको प्रशासनिक पूर्वाधार निर्माण तीव्र गतिमा

    लुम्बिनी । लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीमा प्रशासनिक पूर्वाधार संरचना निर्माण तीव्र गतिमा भइरहेको छ ।

    प्रदेश गौरवको आयोजनाका रुपमा प्रशासनिक पूर्वाधार निर्माण सुरु भएको दुई वर्ष नपुग्दै ५० प्रतिशत बढी भौतिक प्रगति भएको छ ।

    विसं २०७९ फागुन ३ गते लुम्बिनी प्रदेश सरकार स्थापना दिवसको अवसर पारेर प्रशासनिक भवनको तत्कालीन मुख्यमन्त्री लिला गिरीले शिलान्यास गरेको थियो ।

    निर्माणाधीन प्रशासनिक भवनबाट प्रदेशको सम्पूर्ण प्रशासनिक कामकाज सञ्चालन हुने जनाइएको छ । मन्त्रालय, विभाग, निर्देशनालयहरु, मातहतका अन्य कार्यालयहरुले एकै थलोबाट सेवा प्रवाह गर्नेछन् । यसबाट नागरिकहरुलाई प्रादेशिक सरकारको अनुभूति हुने स्थानीय बासिन्दा भरतमणि न्यौपाने बताउँछन् ।

    “बलियो प्रदेश बनाउन आफ्नै संरचना चाहिन्छ । नयाँ दृष्टिकोणसहित प्रदेशको प्रशासनिक कामलाई चुस्त र सबैको पहुँचमा पुर्याउन सुविधा सम्पन्न प्रशासनिक केन्द्र आवश्यक पर्दोरहेछ”, उनले भने, “डेढ वर्षमा भएको भौतिक प्रगति राम्रो छ ।” हालसम्म ५६ प्रतिशत भौतिक र ४५ प्रतिशत वित्तीय प्रगति हासिल भएको प्रदेश राजधानी कार्यान्वयन एकाइले जनाएको छ । अब एक वर्षभित्र प्रदेश सरकारलाई भवन हस्तान्तरण गर्ने गरी निर्माण भइरहेको छ । १९ बिगाह क्षेत्रफलमा प्रदेशको प्रशासनिक केन्द्र फैलिएको छ ।

    प्रदेशसभा र प्रदेश प्रशासनिक केन्द्र एकै थलोमा छन् । प्रदेश सरकारको प्रशासनिक केन्द्र एउटै परिसरभित्र स्थापना गर्ने, भौतिक संरचना मण्डला आकारमा हुने र त्यसले सेवा प्रवाहमा एकरुपता प्रदान गर्ने विश्वास गरिएको छ ।

    अबको एक वर्षभित्र नयाँ भवनबाट प्रशासनिक कामकाज सुरु गर्ने लक्ष्य रहेको मुख्यमन्त्री चेतनारायण आचार्यले बताए ।

     “अहिले जहाँ जे छन्, त्यसैगरी चल्छन् । नयाँ संरचना सरकारलाई हस्तान्तरण भएपछि सारिनुपर्ने कार्यालयहरु नयाँ प्रशासनिक भवनमा सारिनेछ”, उनले भने, “एकै ठाउँबाट प्रशासनिक काम हुँदा सेवा लिने र सेवा दिनेलाई सजिलो हुन्छ । यसले प्रदेशको कार्यसम्पादनमा नयाँ गति मिल्ने विश्वास गरेका छौँ ।” मुख्यमन्त्री आचार्यले समयमै निर्माण सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन पनि दिएको छ ।

    एउटै हाताभित्र निर्माण हुने सरकारका प्रशासनिक भवन मुलुककै नमूनायोग्य हुने र यसले प्रदेशको प्रशासनिक कामकाजलाई नयाँ उचाइमा पुर्याउने विश्वास उनको छ ।

    एउटै हाताभित्र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित दस वटा भव्य प्रशासनिक भवन निर्माण भइरहेको प्रदेश राजधानी निर्माण आयोजना कार्यान्वयन एकाइले जानकारी दिएको छ ।

    कार्यालयका इन्जिनियर तथा सूचना अधिकारी प्रदीप भट्टराईले निर्धारित समयमै निर्माण सम्पन्न गर्नेगरी काम भइरहेको बताए । अहिले भवनको बाहिरी र भित्री भाग ‘फिनिसिङ्’को काम भइरहेको उनले बताए । निर्माणाधीन भवनमध्ये मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय भवन छ तलाको हुनेछ । जसमा मुख्यमन्त्री, प्रमुख सचिव कार्यकक्ष, बैठक कक्ष र बहुउद्देश्यीय हलसहित ९६ कोठा रहनेछन् । जसमा दुईवटा ‘लिफ्ट’ रहनेछन् भने भुइँतला अपाङ्ग मैत्री हुनेछ ।

    मण्डला आकारमा निर्मित मन्त्रालयका प्रशासनिक भवनले मुलुकमै फरक पहिचान स्थापना गर्ने विश्वास इन्जिनियर भट्टराईको छ । अन्य नौवटा मन्त्रालयका भवनहरू पाँच तलाका हुनेछन् । हरेक भवनमा ५४ वटा कोठा हुनेछन् । सम्पूर्ण भवनमा लिफ्ट, अपाङ्ग मैत्री, ‘अन्डरग्राउन्ड पार्किङ’को व्यवस्था हुनेछ । भ्याटबाहेक रु तीन अर्ब नौ करोडको लागतमा निर्माण हुने संरचनाअन्तर्गत सडक सञ्जाल, बगैँचा निर्माणका आयोजना समेटिएका छन् ।


    प्रकाशित : बिहीबार , आश्विन २४ २०८११०:०४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार