२०८३, कार्तिक १७ गते मंगलबार

सागसब्जी खेतीबाटै दैनिक दस हजार कमाई

सागसब्जी खेतीबाटै दैनिक दस हजार कमाई


  • मेरोभ्यूज
  • आश्विन २४, २०८१ बिहीबार

  • सागसब्जी खेतीबाटै दैनिक दस हजार कमाई

    डोटी । रोजगारीको खोजीमा युवा विदेसिने क्रम बढ्दो छ । भारतसँगै तेस्रो मुलुकमा रोजगारीको खोजीमा दैनिक हजारौँको सङ्ख्यामा युवा विदेसिने गरेका छन् ।

    हजारौँ युवाको भन्दा अलग सपना थिएन यहाँको आदर्श गाउँपालिका–१ का २३ वर्षीय मुकुन्द अवस्थीको पनि । तीन वर्षे कृषि विज्ञान (आइसिएजी) अध्ययन सकेर कृषिमा राम्रो कमाइ हुने देश जाने उनको चाहना थियो ।

    विदेश जाने योजना स्थगित गरेर गाउँमै व्यावसायिक सागसब्जी खेती गरेका मुकुन्दले सन्तोषजनक कमाइ गरिरहेको छ ।

    ‘‘अहिलेको ‘ट्रेन्ड’ भनौँ वा बाध्यता सबै विदेसिने लहर छ, बाहिर जानुपर्छ राम्रो कमाउनुपर्छ भन्ने मेरो पनि सोच थियो । कोरिया वा इजरायल जानुपर्छ भन्ने योजना बनाइसकेको थिएँ तर लकडाउन भएपछि घर आएँ र बाँझो जमिनमा खेती गर्न थाले", मुकुन्दले सुरुवाती दिन स्मरण गरे । हाल मुकुन्दले करिब १२ रोपनी जमिनमा सागसब्जी लगाइरहेको छ ।

    उनले दाजुभाइ बहुउद्देश्यीय कृषि तथा पशुपक्षी फार्म दर्ता गरेर २५ ‘प्लास्टिक टनेल’ बनाएर सागसब्जी लगाएको छ । सबै टनेलमा अहिले गोलभेडा फलिरहेका छन् । सुरुवातमा गाउँपालिकाबाट प्राप्त रु एक लाख ५० हजार अनुदान र बाँकी आफ्नो लगानीमा दश ओटा टनेलबाट सागसब्जी उत्पादन सुरु गरे ।

    गत वर्ष दश वटा टनेलबाट करिब नौ लाख बराबरको सागसब्जी बिक्री गरेको उनले जानकारी दिए । पहिलो वर्ष लगानी धेरै लागेकोले खर्च कटाएर करिब तीन लाखजति आम्दानी भएको थियो । यो वर्ष २५ वटा टनेलमा सागसब्जी लगाएकोले कारोबार दोब्बरले बढ्ने उनको अनुमान छ ।

    मुकुन्दले हाल दैनिक आठदेखि दस ‘क्रेट’ गोलभेडा बजार लैजाने गरेको छ । प्रति किलो रु ५० का दरले गोलभेडा बजारमा बिक्री हुँदा उनको दैनिक आठदेखि दस हजार कमाइ हुन्छ । गोलभेडाले सजिलै बजार पाएको छ । मुकुन्दले भने, ‘‘डोटी जिल्ला तरकारीमा परनिर्भर थियो सुरुमा उत्पादित सागसब्जी बिक्री गर्न धेरै मेहनत गर्नुपर्यो तर अहिले माग धान्न सकिरहेको छैन, दैनिक डेढदेखि दुई क्वीन्टल बजारमा जान्छ । मूल्य पनि राम्रो छ ।" उनले सागसब्जीमा ‘मल्चिङ’ र थोपा सिँचाइ प्रविधिको प्रयोग गरेको छ ।

    स्वच्छ तरकारी उत्पादन गर्न कम्पोस्ट मलको प्रयोग गरिएको छ । घरमा भएका भैँसी, बाख्रा, गाई, गोरुको मलमूत्रबाट बन्ने मल पर्याप्त छ । थप गँड्यौला मलको उत्पादन सुरु गर्ने तयारी गरिरहेको उनले बताए ।

    मुकुन्दले थालेको कृषिबाट परिवार मात्रै आत्मनिर्भर भएको छैन । पाँच जनाले रोजगारीसमेत पाएका छन् । यो वर्ष टनेलको सङ्ख्या थप गरेर ५० वटा पुर्याउने योजना उनको छ । तर उत्पादित सागसब्जी बजार पुर्याउन भने समस्या छ ।

    दिपायल बजारसम्म पुग्ने बाटो कच्ची हुँदा बेलाबेला अवरुद्ध हुने गर्छ । त्यसो हुँदा पिठ्यूँमा बोकेर बजार पुर्याउनु पर्ने बाध्यता रहेको उनले सुनाए ।

    बृहत् तरकारी उत्पादन क्षेत्र कार्यक्रम अनुसार थोपा सिँचाइ, पानी ट्याङ्की निर्माण, प्लास्टिक घर र गँड्यौला मलको उत्पादन सहयोग गरेको कृषि ज्ञान केन्द्र डोटीका निमित्त प्रमुख गङ्गादत्त अवस्थीले बताए ।

    छोटो समयमै सफल कृषक बनेका मुकुन्द युवाका लागि प्रेरणादायी व्यक्ति रहेको अवस्थीले बताए ।


    प्रकाशित : बिहीबार , आश्विन २४ २०८११०:०३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार