२०८३, कार्तिक १७ गते मंगलबार

कोरियन भाषा पढाइले विद्यार्थी उत्साहित

कोरियन भाषा पढाइले विद्यार्थी उत्साहित


  • मेरोभ्यूज
  • आश्विन १७, २०८१ बिहीबार

  • कोरियन भाषा पढाइले विद्यार्थी उत्साहित

    घोराही । घोराही उपमहानगरपालिका–१० नारायणपुरमा रहेको सिद्धरत्ननाथ माध्यमिक विद्यालयले चालु शैक्षिक सत्रदेखि कक्षा ११ मा व्यवस्थापनतर्फ कोरियन भाषा विषय पढाउन सुरु गरेका छन ।

    विद्यालयमै कोरियन भाषा पढ्न पाउँदा विद्यार्थी पनि खुसी भएका छन् । कक्षा ११ मा अध्ययनरत घोराही–१० नारायणपुरकी छात्रा आशा केसीले घर नजिकैको विद्यालयमा शैक्षिक कार्यक्रममै कोरियन भाषा विषय पढ्न पाउँदा उत्साहित भएको बताए ।

    कक्षा १२ को पढाइ सकेर फेरि इन्स्टिच्युट धाएर कोरियन भाषा कक्षा लिनुभन्दा पढाइसँगै पाठ्यक्रममै भाषा शिक्षा लिनु पाउनुलाई आफूहरूले अवसरका रूपमा लिएको उनको भनाइ छ ।

    वडा नं ११ डोक्रेना निवासी विद्यार्थी आयुष चौधरीले आफूले कोरियन भाषा सिक्न पाउँदा निकै खुसी लागेको बताए । पाठ्यक्रममै कोरियन भाषा शिक्षा लिन पाउँदा आफूजस्तै सबै विद्यार्थी उत्साहित भएका उनले सुनाए ।

    आशा र आयुषजस्तै व्यवस्थापनतर्फ कक्षा ११ मा भर्ना भएकामध्ये ५५ जना विद्यार्थीले कोरियन भाषा शिक्षालाई शैक्षिक योग्यताको आधारस्तम्भका रूपमा लिएर पढ्न थालेका छन् ।

    “१२ कक्षा पास गरेपछिको गन्तव्य सबैको कोरिया नै हुन्छ भन्न सकिँदैन तर यसले भाषा सिक्न सहयोग पुग्नेछ”, विद्यार्थी आशा केसीले भने, “नेपाली, अङ्ग्रेजी विषय पढ्दै आएका हामीलाई कोरियन भाषा बिल्कुलै नयाँ विषय भएकाले उत्साहित बनाएको छ ।”

    तीस जना छात्र र २५ जना छात्राले कोरियन विषय रोजेर पढ्न सुरु गरेकाले आगामी दिनमा यो विषयको माध्यमबाट विद्यार्थीको आकर्षण बढ्ने विद्यालयले अपेक्षा गरेको छ । यस विद्यालयमा हाल दुई हजार एक सय ७१ विद्यार्थी अध्ययनरत छन् ।

    विद्यालयले विज्ञान, व्यवस्थापन, शिक्षा र कृषि डिप्लोमाको पठन-पाठन गर्दै आएको छ । कोरियन भाषा विषयको पठन-पाठन हुन थालेपछि व्यवस्थापनतर्फ भर्ना भएका विद्यार्थीमध्ये ५५ जनाले अहिले कोरियन भाषा विषयको कक्षा लिइरहेको माध्यमिक विद्यालय नारायणपुरका प्रधानाध्यापक उत्तमकुमार खनालले जानकारी दिए ।

    प्रअ खनालका अनुसार मावि तहमा अङ्ग्रेजी विषयबाहेक अरु विदेशी भाषाको पढाइ भित्र्याउने यो पहिलो विद्यालय बनेको छ । पाठ्यक्रममै कोरियन भाषा पढाउन पाउने प्रावधान रहेको हुँदा ऐच्छिक विषयका रूपमा विद्यालयमा कोरियन भाषाको विषय थप गरेर पठन-पाठन सुरु गरिएको प्रधानाध्यापक खनालले बताए ।

    पचहत्तर पूर्णाङ्कको लिखित परीक्षा र २५ पूर्णाङ्कको प्रयोगात्मक अङ्क भार रहने गरी पाठ्यक्रम तयार पारिएको छ । ऐच्छिक विषयका रूपमा थपिएको कोरियन भाषा विषयको कक्षा लिने विद्यार्थीले मासिक अतिरिक्त रु छ सय ५० शुल्क तिर्नुपर्छ ।

    विद्यालय व्यवस्थापन समिति अध्यक्ष चित्रबहादुर डाँगीले विद्यालयमा कोरियन भाषा कक्षा शिक्षकहरू कविराम चौधरी र श्यामलाल लहेरले पढाउने गरेको जानकारी दिए ।

    कोरियन भाषा पठन-पाठन सुरु गरे पनि यस विषयको पाठ्यपुस्तक पाउन कठिन भएको शिक्षक कविराम चौधरीले बताए । अहिले पाठ्यक्रमअनुसार आफैँले पाठ्यसामग्री तयार गरेर पढाउने काम गर्दै आएको उनले जानकारी दिए ।


    प्रकाशित : बिहीबार , आश्विन १७ २०८१११:०९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार