२०८३, कार्तिक १७ गते मंगलबार

दुई वर्षदेखि खेल मैदान अलपत्र

दुई वर्षदेखि खेल मैदान अलपत्र


  • मेरोभ्यूज
  • आश्विन १६, २०८१ बुधबार

  • दुई वर्षदेखि खेल मैदान अलपत्र

    ढोरपाटन । बागलुङ नगरपालिका–४ ओडारचौरमा नौ वर्ष अघि सुरु निर्माण भएको बहुउद्देश्यी खेल मैदान दुई वर्षदेखि अलपत्र परेको छ । दुई वर्षदेखि कुनै पनि निकायबाट बजेट नपर्दा खेल मैदान अलपत्र परेको हो । स्थानीयको सक्रियतामा ठाडो खोल्सालाई सम्याएर मेलमैदान बनाउन थालिएको थियो । उक्त खेल मैदान निर्माण सुरु भएको नौ वर्षसम्ममा ७५ प्रतिशत मात्रै काम सकिएको ओडारचौर बहुउद्देश्यी खेल मैदानका अध्यक्ष रामप्रसाद आचार्यले बताए ।

    लामो समयदेखि काम रोकिएपछि बनेका संरचना जीर्ण भएका छन् भने प्याराफिटसमेत भत्किएका छन् । खेल मैदान निर्माणका लागि बागलुङ नगरपालिका, गण्डकी प्रदेश र स्थानीयले लाखौँ लगानी गरेका छन् । खेल मैदानका लागि उपयुक्त ठाउँ छनोट नहुँदा समस्या आएको स्थानीय बताउँछन् ।

    ठाडो खोलामा बर्खाको समयमा भेल आउने हुँदा खेल मैदानसहित त्यहाँ बनेका संरचना बगाउने गरेको छ । यसबाट हरेक वर्ष लाखौँको संरचना नष्ट हुँदै आएको छ । बर्खाको भेलले सडकको माटो, ढुङ्गासहितको गग्रेटाले खेल मैदानको अस्तित्व मेटाइदिएको आचार्यको भनाइ छ ।

    खेल मैदान वरपर झाडी पलाएको छ भने प्याराफिटमा लेउ लागेको छ । बीच भागमा हिलाम्मे हुँदा खेल खेल्न नमिल्ने बनेको छ । खेल मैदानका अध्यक्ष आचार्यका अनुसार खेल मैदान निर्माणका लागि हालसम्म स्थानीयबाट रु ३० लाख सङ्कलन भएको, प्रदेश र स्थानीय सरकारबाट रु ३० लाख र जनश्रमदान गरी करिब रु एक करोड लगानी भएको छ ।

    “करोड लगानी भएको खेल मैदानमा अहिले खेल्न सक्ने अवस्था छैन । खेल मैदान प्रगति हालसम्म ७५ प्रतिशत सकिएको छ । बाँकी काम गर्न प्रदेश र स्थानीय सरकारले सहयोग गर्नु पर्छ”, उनले भने । खेल मैदानलाई पूर्णता दिन थप रु ८० लाख आवश्यक पर्ने अनुमान गरिएको अध्यक्ष आचार्यले जानकारी दिए ।

    बागलुङ बजारस्थित निर्माणाधीन उक्त खेल मैदानमा विभिन्न कार्यक्रम, सभा, सम्मेलन गर्न सकिने उनले बताए । “यहाँका युवाको सक्रियतामा खेल मैदान बनाउन सुरु गरिएको हो, धेरै वर्ष भयो बनाउन थालेको अहिलेसम्म पूर्णता पाउन सकेको छैन ।

    बागलुङ बजार छेउमा रहेकाले यहाँ सभा, समारोह गर्न उपयुक्त मानिन्छ । बजेट अभावले कामलाई निरन्तरता दिन सकिएको छैन”, अध्यक्ष आचार्यले भने, “यो ठाउँमा ठूलो खाल्डो थियो, खाल्डो पुरेर खेल मैदान बनाउन थालेका हौँ, ओडारचौरवासीले श्रमदानसँगै आर्थिक सहयोग पनि गरेका  छन् । यहाँबाट विदेश गएका युवाले पनि रकम पठाएर सहयोग गरेका छन् ।

    ”बजेट विनियोजन गरी निर्माणलाई निरन्तता दिन सरोकार भएका निकायसँग माग गरे पनि सुनुवाइ नभएको उनले बताए । बागलुङ–४ का अध्यक्ष कुमार विक्रम क्षेत्रीले खेल मैदान निर्माण गरेको भूगोल नमिलेको भन्दै प्राविधिक कमजोरीका कारण अहिलेसम्म सम्पन्न हुन नसकेको बताए ।

    पहिले मैदान निर्माणमा सक्रिय कतिपय युवा विदेश पलायन भएको भन्दै अन्यले चासो नदिँदा समयमा काम हुन नसकेको उनको भनाइ छ । नगरपालिकाले पनि लाखौँ रकम यहाँ लगानी गरेको बताउँदै बर्खा लाग्यो भने खेलमैदान डुबानमा पर्ने अध्यक्ष क्षेत्रीले उल्लेख गरे ।

    उनले भने, “यहाँ केही प्राविधिक कमीका कारण खेल मैदान सञ्चालन गर्न सकिएको छैन । अलपत्र परेको मैदान निर्माणका लागि प्राविधिक कमजोरी कसरी समाधान गर्ने भनेर सरोकार भएकासँग छलफल गर्ने योजना बनाएका छौँ । यसलाई पूर्णता दिन आर्थिक, प्राविधिक सहयोगका लागि नगरपालिका र प्रदेश सरकारसँग पहल गर्नेछु ।”


    प्रकाशित : बुधबार, आश्विन १६ २०८११०:२६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार