२०८३, कार्तिक १७ गते मंगलबार

जुम्लाका उत्पादन : कैलालीमा व्यापार

जुम्लाका उत्पादन : कैलालीमा व्यापार


  • मेरोभ्यूज
  • आश्विन १२, २०८१ शनिबार

  • जुम्लाका उत्पादन : कैलालीमा व्यापार

    भजनी । कालिकोटकी हंशिला बमलाई हिजोआज यहाँ स्याउ बेच्न व्यस्त छिन ।

    माइतीघर जुम्ला भएकी बम त्यहाँका स्याउ यहाँ बेच्छिन । तेह्र वर्षदेखि मौसम अनुसार फलफूलको व्यापार गर्दै आएकी उनलाई व्यापार सुरु गरेपछि पछाडि फर्केर हेर्नुपरेको छैन ।

    त्यही व्यापारबाट उनले कैलालीमा घर र जग्गा जोडेकी छिन भने घरको सबै खर्च धान्ने माध्यम पनि फलफूल व्यापार नै बनेको छ । “श्रीमान् गुमाएपछिको अभाव र समाजभित्रको असहज परिस्थिति मैले बुझेकी छु । छोराछोरीको पढाइलेखाइका लागि मैले केही गर्नुपर्ने थियो”, उनी भन्छिन, “मैले जुम्लामा उत्पादन लिएर व्यापार सुरु गरेँ । व्यापारले मेरा आवश्यकता पूरा गर्यो ।”  

    यो वर्ष उनले जुम्लाबाट पाँच ट्रक स्याउ कैलाली ल्याएको बताइन । मागका आधारमा देशका अन्य जिल्लामा उनले स्याउलगायत जुम्लाका उत्पादन आपूर्ति गरिरहेकी छिन ।

    जुम्लामा उत्पादित स्याउ प्रतिकेजी रु ७० मा खरिद गरेर तराई पुर्याएपछि प्रतिकेजी रु एक सयदेखि एक सय वीसमा बिक्री गर्ने गरेको उनले बताए ।

    “एक ट्रक स्याउ ल्याउन रु एक लाखभन्दा बढी खर्च हुन्छ”, हंशिला भन्छिन, “जुम्लाका किसानले स्याउको मूल्य पाएका छैनन् । ढुवानी खर्च अधिक छ”  उनले स्याउसँगै हिउँदयाममा सिमी, मकै, आलुलगायत उत्पादन पनि बेच्ने गरेकी छिन ।

    उनका भाइ र बहिनीले हंशिलालाई साथ दिएका छन् । हंशिला मात्र होइन कयौँले स्याउको व्यापारबाट मनग्ये आम्दानी गरेका छन् । कर्णाली प्रदेशका विभिन्न जिल्लामा उत्पादन भएका स्याउ कालिकोटका रामु न्यौपानेले पनि तराई ल्याउने गरेको छ ।

    चार महिनादेखि स्याउको व्यापारमा लागेका उनी हरेक साता जुम्ला पुग्नेगरेको बताछन् । “चार महिनादेखि घर गएको छैन, स्याउ ढुवानी दैनिकी बनेको छ”, उनले भने, “मसँग आफ्नै गाडी छ । आफैँ गाडी चलाउँछु । जुम्ली उत्पादन खरिद गर्न त्यता गइरहन्छु ।”  उनले सडक सञ्जाल नभएका कारण बगैचामा नै स्याउ कुहिने गुनासो गरे ।

    कालिकोटको पलाता गाउँपालिकामा अझै सवारीसाधन पुगेको छैन । त्यहाँ रामुले दुई हजार भन्दा बढी स्याउका बोट रोप्नुभएको छ ।

    “मेरो गाउँमा मात्र सयौँ क्विन्टल स्याउ उत्पादन भएको छ । बजार पुर्याउन यातायातको सुविधा छैन । भरियालाई बोकाउँदा बजारमा प्रतिस्पर्धा गर्न सकिँदैन”, उनले भने, “कर्णालीमा सुन भएर के गर्ने त्यसको महत्व राज्यले अझै बुझेको छैन ।”


    प्रकाशित : शनिबार, आश्विन १२ २०८११०:५९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार