काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब बस्ने पार्टी केन्द्रीय समिति बैठकले पार्टीभित्र विचार संश्लेषण गरी समाजवादी क्रान्तिको तयारीलाई प्राथमिकता दिने बताए ।
अखिल (क्रान्तिकारी)को २३ औं राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले आठौं महाधिवेशनबाट पारित विचार नै पार्टीको आधिकारी र औपचारिक कार्यदिशा भएको स्पष्ट पारे ।
अध्यक्ष प्रचण्डले ‘एक्काइसौं शताब्दीमा समाजवादी क्रान्तिको नयाँ बाटो’ भनेर आठौं राष्ट्रिय महाधिवेशनबाट पारित लाइन नै आधिकारिक र औपचारिक कार्यदिशा भएको उल्लेख गर्दै सोही कार्यदिशाअनुसार कार्ययोजना बनाएर जनतामा जानुपर्नेमा केही कमजोरी भएको स्वीकारे ।
अब धेरै विषय केन्द्रीय समिति बैठकले टुङ्ग्याउने र विशेष महाधिवेशन गरेर विचारको नयाँ संश्लेषणसहित नयाँ गतिमा समाजवादी क्रान्तिको तयारी थाल्ने अबको बाटो हुने उनले स्पष्ट गरे । माओवादीप्रति फेरि जनताको विश्वास बढ्दै गएको उल्लेख गर्दै उनले यो बेलामा आफूभित्र एकता पैदा गरेर जानुपर्ने बताए ।
गुटबन्दीमा नलाग्न निर्देशन
अध्यक्ष प्रचण्डले पार्टी पुनर्निर्माणको महाअभियान सुरु गरिएको र यसका लागि विद्यार्थीसँग ठूलो अपेक्षा राखिएको उल्लेख गर्दै पार्टीको केन्द्रीय समितिको बैठकअघि हुने विद्यार्थीको राष्ट्रिय सम्मेलन पार्टीका लागि ऊर्जा हुने बताए ।

उनले इकाइदेखि प्रदेश सम्मेलनसम्म विद्यार्थीहरुले देखाएको लगाव र अपनाएको विधिको प्रशंसा गर्दै अब राष्ट्रिय सम्मेलनलाई पनि ऊर्जाको अवसरका रुपमा अघि बढाउने विश्वास व्यक्त गरे । उनले विधिमा जाने भएपछि जो जितेर आउँछ उही सङ्गठनको नेता हुने भएकाले कोही कसैले गुटबन्दी गर्न जरुरी नरहेको र कुनै खालको गुटबन्दी गर्न विद्यार्थीहरुलाई निर्देशन दिए ।
अखिल(क्रान्तिकारी)का इञ्चार्ज हिमाल शर्माले प्रत्यक्ष निर्वाचन प्रणालीबाटै नेतृत्व चयन गरिने बताए । उनले निर्वाचनको प्रक्रियाबाटै नेतृत्व चयन हुनेमा निश्चित रहन आग्रह गरे ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य रञ्जित तामाङले भ्रष्टाचार नियन्त्रण, सुशासन, सामाजिक न्याय एवं विश्वविद्यालयमा सुधारका लागि दाहाल नेतृत्वको सरकारले महत्त्वपूर्ण भूमिका खेलेको स्मरण गरे ।
सोही कार्यक्रममा नेपाल विद्यार्थी सङ्घका अध्यक्ष दुजाङ शेर्पाले विश्वविद्यालयमा भइरहेको दलगत भागबण्डाको अन्त्यगरी मेरिटोक्रेसीका आधारमा पदाधिकारी चयन गर्न आफूहरु अखिल(क्रान्तिकारी) सँगै रहेको बताए । विद्यार्थी आन्दोलनमा देखापरेको विश्वासको सङ्कट र चुनौतीलाई सम्बोधन गर्न पनि नयाँ आधारमा अगाडि बढ्नपर्नेमा उनले जोड दिए ।

