२०८३, कार्तिक १७ गते मंगलबार

नयाँ युगको सुरुवात माओवादीले नै गरेको प्रचण्डको दाबी

नयाँ युगको सुरुवात माओवादीले नै गरेको प्रचण्डको दाबी


  • मेरोभ्यूज
  • आश्विन ११, २०८१ शुक्रबार

  • नयाँ युगको सुरुवात माओवादीले नै गरेको प्रचण्डको दाबी

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ राजनीतिक व्यवस्था स्थापना र रणनीतिक पूर्वाधारजस्ता उदाहरणीय काम थालेर आफ्नो पार्टीले नै नेपालमा नयाँ युगको सुरुवात गरेको दाबी गरेका छन् । 

    अखिल (क्रान्तिकारी)को २३ औं राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले प्राप्त उपलब्धिलाई संस्थागत गर्दै नयाँ समाजवादी क्रान्तिको नेतृत्व पनि माओवादीले गर्ने उद्घोष गरे । 

    ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी, समानुपातिक प्रतिनिधित्वसहितको राज्य व्यवस्था नेपालमा माओवादीकै कारण स्थापित भएको हो भन्ने ऐतिहासिक तथ्यलाई अब कसैले अस्वीकार गर्न सक्ने अवस्था छैन,’ अध्यक्ष प्रचण्डले भने । उनले जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, संविधानसभाबाट संविधान निर्माण र त्यसमा आमसहमति जुटाएर कार्यान्वयन गर्ने काममा माओवादीले नेतृत्वदायी भूमिका निर्वाह गरेको बताए । 

    प्रचण्डले भने, ‘माओवादीले सरकारको नेतृत्व गर्ने अवसर पाएका बेला सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र पूर्वाधार निर्माणका क्षेत्रमा पनि ऐतिहासिक भूमिका निर्वाह गरेको छ, नयाँ युगको सुरुवात माओवादीले गरेको हो भन्ने तथ्य हाम्रो गौरवपूर्ण सम्पत्ति बनेको छ ।’

    उनले माओवादीले सरकारको नेतृत्व गरेको बेलामा गरेका महत्वपूर्ण कामको चर्चा गर्दै यसलाई आमजनतामा स्थापित गर्नुपर्ने उल्लेख गरे । 

    ‘मैले गणतान्त्रिक नेपालको प्रथम प्रधानमन्त्रीका रुपमा नेतृत्व गरेको बेलामा मध्यपहाडी लोकमार्गको अवधारणा अघि सारेँ, जो निर्माण सम्पन्न हुने चरणमा छ,’ पूर्वप्रधानमन्त्री प्रचण्डले भने, ‘चुरेको काखबाट पूर्वपश्चिम मदन भण्डारी लोकमार्ग पनि हाम्रै अवधारणामा अघि सुरु गरिएको हो, जो निर्माण भइरहेको छ ।’


    आफूले अघि बढाएको उत्तरदक्षिण कोरिडोर र डा बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेला अघि बढाइएको काठमाडौँको करिडोर अवधारणा पनि माओवादी सरकारकै विकास नीतिको परिणाम भएको उनको जिकिर थियो । 

    आफूले पहिलोपटक सरकारको नेतृत्व गर्दा हजारौँ किसानको ऋण मिनाह गरेको स्मरण गर्दै प्रचण्डले शङ्खधर खाख्वाले ऋणमुक्त गरेको घटनापछि आधुनिक नेपालको इतिहासमा ठूलो सङ्ख्यामा किसानलाई ऋणमुक्त गरिएको यो नै पहिलो घटना भएको बताए । 

    उनले आफूले दोस्रोपटक सरकारको नेतृत्व गर्दा जनार्दन शर्मालाई ऊर्जामन्त्री र कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक बनाएर नेपाली जनतालाई लोडसेडिङको ‘कालरात्री’बाट मुक्त गरेको स्मरण गराए । ‘त्यति नै बेला संविधान कार्यान्वयन हुने हो कि होइन भन्ने अन्योलको बीचमा मधेसवादी दलहरुलाई समेत सहमतिमा ल्याएर संविधान कार्यान्वयन र मुलुकलाई चुनावमा लैजाने काम पनि गरिएको थियो,’ प्रचण्डले भने । 

    आफूले सरकारको नेतृत्व गरेको तेस्रो कार्यकाल सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका हिसाबले ऐतहासिक भएको उल्लेख गर्दै उनले भ्रष्टाचारविरुद्ध थालेको अभियानकै कारण सरकार छाड्नुपर्नेसम्मको अवस्था आएको बताए ।

    Prachanda Student Prog (4).jpeg

    ‘हामीले भ्रष्टाचारका विरुद्ध महाअभियान छेडेकै हो, नेपालको इतिहासमा राजनीतिक र प्रशासनिक हाइप्रोफाइल व्यक्तिहरु कारबाहीमा परेको यो नै पहिलो पटक हो,’ प्रचण्डले भने– ‘सामाजिक न्यायको क्षेत्रमा मिटर ब्याजपीडितको समस्या समाधान, लाखौँ श्रमिकको सामाजिक सुरक्षा कोषमा आबद्धता र हजारौँ नागरिकताविहीन युवालाई नागरिक प्रदान गर्ने कानुन निर्माण ऐतिहासिक कार्य थिए ।’

    उनले आर्थिक समृद्धिको सवालमा लिएका महत्वपूर्ण नीतिका कारण अहिले नेपालको अर्थतन्त्रमा क्रमशः सुधार आइरहेको र आर्थिक वृद्धिदर बढ्ने क्रम सुरु भएको जानकारी गराए । तेस्रोपटक सरकारको नेतृत्व गर्दा इटलीमा भएको खाद्य सम्मेलन, संयुक्त राष्ट्रसङ्घको महासभा हुँदै कोप–२८ सम्म जाँदा आफूले लिएको ऐतिहासिक पहलकदमीका कारण सिङ्गो मुलुक र पार्टीको अन्तर्राष्ट्रिय प्रतिष्ठा फरकरुपमा स्थापित भएको र यसले राजनीतिक नेतृत्वलाई अन्तर्राष्ट्रियस्तरमा अब्बल रुपमा स्थापित गरेको बताए ।

    “मैले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चमा अल्पविकसित राष्ट्रहरुको पक्षमा अडान लिएको मात्र होइन, भारत र चीनसँगको सम्बन्धलाई सन्तुलित बनाएर नेपालको कूटनीतिलाई नयाँ उचाईमा उठाएको छु”, उनले भने । 

    पछिल्लो पटक सरकारको नेतृत्व गर्दा शैक्षिक क्षेत्रमा पनि धेरै सुधारका काम थालिएको स्पष्ट पार्दै उनले भने, “त्रिविमा मेरिटोक्रेसी लागू गर्ने, वर्षौदेखि लुकाएर राखिएको उच्च शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्ने र सङ्घीय शिक्षा ऐन सदनमा पुर्याउने काम मेरै नेतृत्वको सरकारले गरेको हो ।”


    प्रकाशित : शुक्रबार, आश्विन ११ २०८१०९:३२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार