२०८३, कार्तिक १५ गते आइतबार

सारङ्गी रेट्दै लालबहादुर

सारङ्गी रेट्दै लालबहादुर


  • मेरोभ्यूज
  • आश्विन ५, २०८१ शनिबार

  • सारङ्गी रेट्दै लालबहादुर

    दाङ । टालेको झुत्रो झोला, हातमा सारङ्गी । त्यही सारङ्गी रेट्दै घर-घरमा मिठो धुन सुनाउँदै हिँड्नुभएका सल्यान खलङ्गाका ५५ वर्षीय लालबहादुर गन्धर्व हालै यहाँको घोराही बजार आइपुगेका छन् ।

    “सारङ्गी रेटेर धुन बजाउँदै गीत गाउन थालेको ४० वर्षभन्दा धेरै भयो, सारङ्गी बजाउँदा आफू अझै जवान भएजस्तो लाग्छ, सारङ्गीको धुन निकालेपछि झन् जोशजाँगर बढेर आउँछ,” उनले जानकारी दिए ।

    सल्यान, दाङ, रोल्पा, रुकुम र काठमाडौँलगायतका सहर तथा बस्तीमा पुगेर सारङ्गी बजाएर गीत गाउने गरेको उनले बताए । घरमा सानै उमेरदेखि बाउबाजेबाट सारङ्गी रेट्ने सीप सिकेका गन्धर्वले १५ वर्षको उमेरदेखि यही पेसा अपनाएका छन् ।

     “हिजोआज कसैले राम्रो मानेर गीत सुन्न खोज्छन् त कसैले बाहिरबाट पठाउँछन्,” उनले भने ।

    जग्गा जमिन केही नभएपनि सारङ्गीको धुन र गीत गाएरै परिवारको जिविका चलाउँदै आएको उनको भनाइ छ ।

    उनले सात वटी छोरीमध्ये पाँच वटीको विवाह गरिसकेका छन् । दुई छोरी तुलसीपुर–१७ स्थित माध्यमिक विद्यालय दुधरासमा कक्षा आठ र ११ मा पढ्छन् । आफूले नपढे पनि छोरीलाई पढाउने सोचाइ रहेको उनले बताए ।

    गीत गाएर दिनमा एक हजारदेखि तीन हजारसम्म कमाउने गर्छ । समाजबाट लोप हुँदै गएको गन्धर्व जातिको पुरानो मौलिक संस्कृति धान्न गाउँगाउँमा पुग्ने गरेको उनले बताए ।

    अहिलेसम्म घुमेको ठाउँमा रोल्पा सबै भन्दा राम्रो लागेको स्मरण गरे । रोल्पामा गाइने आयो भने चाडवर्प आएजस्तो हुन्छ भनेर सिदा(चामल, दाल)दिने गरेको बताए ।

    सारङ्गी बजाउन युवा पुस्ताले चासो नदिँदा गन्धर्व पेशा लोप हुने चिन्ता उनलाई छ । “मेरा छोरीले बजाउँदैनन् म पछिको पुस्ताले सारङ्गी छुदैनन्,” उनले भने । गाइनेको रुपमा हिँड्दा एकातिर संस्कृति संरक्षण अर्कोतिर रमाइलो गरी जीवन चलिरहने र देशका विभिन्न ठाउँ हेर्ने अवसर मिल्ने उनको अनुभव छ ।

    उनले गीतकै माध्यमबाट आफ्ना भावना पनि व्यक्त गर्छ । पछिल्ला समय सारङ्गी रेटेर गाउँगाउँमा गीत गाउँदै हिँड्ने गन्धर्वको सङ्ख्या घट्दो छ । केही पाकापुस्ताले संस्कृति जेनतेन धान्दै आए पनि गन्धर्व समुदायका युवापुस्ताले चासो दिएको पाइँदैन ।


    प्रकाशित : शनिबार, आश्विन ५ २०८१११:५८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार