२०८३, कार्तिक १५ गते आइतबार

लिदीखोलामा मोटरेबल पुल निर्माण सम्पन्न

लिदीखोलामा मोटरेबल पुल निर्माण सम्पन्न


  • मेरोभ्यूज
  • आश्विन २, २०८१ बुधबार

  • लिदीखोलामा मोटरेबल पुल निर्माण सम्पन्न

    पर्वत । यहाँको मोदी गाउँपालिका–६ तिलाहारस्थित लिदीखोलामा मोटरेबल पुल निर्माण भएको छ ।

    डिमुवा–राम्जा चित्रे सडकमा पर्ने लिदीखोला मोटरेबल पुल निर्धारित मितिभन्दा सात महिना अगावै निर्माण सम्पन्न भएको हो । पूर्वाधार विकास कार्यालयका अनुसार १८ महिनामा निर्माण सम्पन्न गर्नेगरी विसं २०८० असोज २२ गते ठेक्का सम्झौता भएको थियो ।

    मोदी गाउँपालिका–६ र ८ को सिमानामा रहेको लिदीखोलामा ‘सिङ्गल स्पान’को १५ मिटर लामो मोटरेबल पुल निर्माण गरिएको हो । रु दुई करोड ५३ लाख लागतमा निर्माण सम्पन्न पुल निर्माणको ठेक्का कस्तुरी कन्स्ट्रक्सनले पाएको थियो । यो पुलको भारवहन क्षमता ७० टन रहेको छ ।

    अनुकूल मौसम, पर्याप्त जनशक्ति, निर्माण सामग्रीको सहज उपलब्धता र स्थानीयवासीको सहयोगका कारण निर्धारित समय अगावै निर्माण भएको निर्माण व्यवसायी चेतनारायण आचार्यले जानकारी दिए ।

    उनका अनुसार पुल निर्माण सम्झौता आगामी फागुनसम्म रहेको थियो । यो पुल निर्माणपछि मोदी गाउँपालिका–७ राम्जा, वडा नं ८ चित्रे तथा कुश्मा नगरपालिका–१४ आर्थरडाँडाखर्कका बासिन्दा लाभान्वित भएका छन् ।

    पुल निर्माण भइ सवारीसाधनसमेत सञ्चालन हुन थालिसकेको पूर्वाधार विकास कार्यालयका इन्जिनियर जिता गिरीले जानकारी दिए ।

    विगतमा वर्षायामको बेला खोलाबाट वारपार गर्न नसकेर यातायात सुविधाबाटै वञ्चित हुने गरेका त्यस क्षेत्रका बासिन्दा यस वर्षदेखि सहजरुपमा आवतजावत गर्न पाएको कार्यालयले जनाएको छ ।

    स्थानीय सडक पुल कार्यक्रम ‘एलआरबिपी’ र प्रादेशिक सडक पुल सहयोग इकाई ‘पिआरवी एसयु’को प्राविधिक सहयोगमा पुल निर्माण गरिएको हो ।

    स्थानीय सडक पुल कार्यक्रमका ‘टेक्निकल अफिसर’ लोकेश राईले सबै अवस्था सहज भएकोले निर्धारित मिति अगावै पुल निर्माण भएको बताए ।

    पर्वतमा गत आर्थिक वर्षमा योसँगै अन्य तीनवटा मोटरेवल पुल निर्माण सुरु भएका थिए । ती पुलहरु धमाधम निर्माण भइरहेको पूर्वाधार कार्यालयले जनाएको छ ।

    कार्यालयका अनुसार दक्षिण पर्वतको पैँयु गाउँपालिकामा पर्ने सरौ–बालाकोट सडकअन्तर्गत छत्तिसेघाट मोटरेबल पुल निर्माण भइरहेको छ । रु चार करोड ४३ लाखको लागतमा निर्माणाधीन उक्त पुल २५ मिटर लामो हुने छ ।

    कुश्मा नगरपालिका–१० पिपलटारी र फलेवास नगरपालिका वडा नं ३ शङ्करपोखरी जोड्ने मल्याङ्दीखोला माथि पुल निर्माण भइरहेको छ । १६ मिटर लामो यो पुल रु चार करोडको लागतमा सम्पन्न हुने छ ।

    यसैगरी, दक्षिण पर्वतको पैँयु गाउँपालिका–७ भोर्लेमा पनि भोर्ले खोला मोटरेबल पुल निर्माण सुरु भएको कार्यालयले जनाएको छ ।


    प्रकाशित : बुधबार, आश्विन २ २०८१११:३८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार