२०८३, कार्तिक १५ गते आइतबार

च्याउमा आत्मनिर्भर हुन उत्पादन सुरु

च्याउमा आत्मनिर्भर हुन उत्पादन सुरु


  • मेरोभ्यूज
  • आश्विन २, २०८१ बुधबार

  • च्याउमा आत्मनिर्भर हुन उत्पादन सुरु

    चितवन । जिल्लाको कालिका नगरपालिका–२ पदमपुरमा च्याउ खेतीमा आत्मनिर्भर बनाउने उद्देश्यले व्यावसायिक उत्पादन सुरु गरिएको छ ।

    यहाँ १२ वटा वातावरण अनुकूलित टनेलमार्फत डल्ले च्याउको व्यावसायिक उत्पादन सुरु गरिएको हो ।

    कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले व्यावसायिक डल्ले च्याउको उत्पादन शुभारम्भ गर्दै पालिकासँगै मुलुकलाई च्याउमा आत्मनिर्भर बनाउने उद्देश्यले वातावरण अनुकूल टनेल निर्माण गरी उत्पादन सुरु गरिएको बताए ।

    नगरपालिकाले कृषक र कृषि क्षेत्रको प्रवर्द्धन गर्न विभिन्न अनुदान, प्राविधिक, कृषि उपकरणलगायत सहयोग गरिरहेको उनले जानकारी दिए ।

    नगरप्रमुख रेग्मीले यहाँको उत्पादन मुलुकका प्रमुख सहरमा पुग्ने भएकोले यसलाई थप व्यावसायिक हुँदै उत्पादनमा केन्द्रित योजनाअनुरूप वातावरण अनुकूल टनेल निर्माण गरिएको बताए ।

    उनका अनुसार रेन्स्की एग्रो फार्मले डल्ले च्याउ उत्पादन थालेको हो । यसअघि यहाँ पाते च्याउ उत्पादन हुँदै आएको थियो । फार्मका सञ्चालक कमल शर्मा सुवेदीले एउटा टनेल दस टन कम्पोस्टको क्षमताको भएको बताउँदै यसबाट १८ देखि २० प्रतिशत च्याउ उत्पादन हुने जानकारी दिए ।

    “निर्मित १२ वटा टनेलमा ६५ दिनमा करिब २४ हजार किलो च्याउ उत्पादन हुने अनुमा गरेका छौँ । एक वर्षमा छ पटकसम्म उत्पादन गर्न सकिने भएकोले गर्मी मौसमका लागि यो प्रभावकारी मानिएको छ”, उनले भने ।

    प्रतिकिलो रु चार सयमा डल्ले च्याउ बिक्री हुन्छ । यहाँ उत्पादित ७० प्रतिशत च्याउ चितवनको बजारका साथै काठमाडौँ र मकवानपुरमा बिक्री हुने गर्दछ । गर्मी मौसम भएकोले वातावरण अनुकूलित टनेलमा च्याउ उत्पादन गरिएको हो फार्मका सञ्चालक सुवेदीले जानकारी दिए ।

    सुवेदीको भनाइ अनुसार तापक्रम मिलाउन ‘एयर हेण्डलिङ युनिट’ जडान गरिएको छ । “एउटा टनेल निर्माण गर्न रु १९ लाखको हाराहारी खर्च भएको छ भने प्रतिकिलो रु ३२ को कम्पोष्ट मल प्रयोग गरिँदै आइएको छ”, उनले भने ।

    फार्मले विसं २०७९ पुसदेखि च्याउ उत्पादन थालेको हो । सुरुमा पाते च्याउ उत्पादन गरिकामा अहिले डल्ले च्याउको उत्पादन थालिएको सञ्चालक सुवेदीले बताए ।

    यसअघि एक सय पाँच टनेलमार्फत पातेच्याउ उत्पादन हुँदै आएको थियो । यो च्याउ चितवन, काठमाडौँ हुँदै मुस्ताङसम्म पुग्दछ । मुलुकमा पहिले डल्ले च्याउ बाहिरबाट आउने गरेकामा अहिले यहाँको उत्पादनले धानेको सुवेदीले जानकारी दिए ।


    प्रकाशित : बुधबार, आश्विन २ २०८१११:३३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार