२०८३, कार्तिक १५ गते आइतबार

बालविवाह विरुद्ध नाटक

बालविवाह विरुद्ध नाटक


  • मेरोभ्यूज
  • आश्विन १, २०८१ मंगलबार

  • बालविवाह विरुद्ध नाटक

    बझाङ । सामाजिक सञ्जालको देखासिकीमा चिनजान । कलिलैमा विवाह । त्यसपछि श्रीमानको दिनचर्या मदिरामा । बिरामीले थला परेकी दुईजीउकी श्रीमती धामीको शरणमा । स्वास्थ्यचौकी पुग्दा बच्चा मर्नु, परिवार तथा गाउँलेको रुवावासी र पछुतो । बालविवाहमा परेकी बालिकाले खेप्नुपरेको दुःख र भोग्नुपरेको पीडा समेटेर खप्तड छेडेदह गाउँपालिका–१ काँडा वडा कार्यालयमा प्रदर्शन गरिएको सडक नाटक हेरेका स्थानीयका आँखा रसाए ।

    बालविवाहलाई मलजल गरिरहेको सामाजिक सञ्जाल र मदिरा सेवनबारे कलात्मकरूपमा प्रस्तुत गरिएको थियो । नाटकमा सानै उमेरमा गर्भवती भएर बच्चा जन्माउनु, पढाइ छाड्नु, पारिवारिक बेमेलले तहसनहस भइरहेको परिवारमा विवश किशोरीले भोगेका सास्ती देखाइयो ।

    नाटकमा श्रीमतीको भूमिका निर्वाह गरेकी जानकी रावलको बालविवाहले पढाइ छुटेको, घरमा खाना पकाउन नजानेर घरपरिवारले गालीगलौज गर्दै हेला गरेको, सानैमा गर्भवती बनेर बच्चा जन्माउन नसकेर बच्चा खसेको, अत्यधिक रक्तश्राव भएर मृत्युको मुखमा पुगेको घटनाले बालविवाह गर्न बाध्य किशोरकिशोरीको चित्र नाटकमा उतार्दा आँसु नरोकिएको स्थानीय रमिला रोकायाले बताइन ।

    नाटकमा देखाएकै कुरा धेरैका जीवनमा मेल खाएको उनले बताइन । काँडामा उच्च रहेको बालविवाह न्यूनीकरणका लागि यो नाटकले धेरै नै सहयोग पुग्ने रमिलाले विश्वास व्यक्त गरिन ।

    दुर्गा भवानी आधारभूत विद्यालयकी शिक्षिका यशोदा रावलले गाउँमा भइरहेको बालविवाहलाई न्यूनीकरण गर्न सबैलाई जानकारीस्वरुप तिज कार्यक्रममा मौका छोपेर नाटक प्रदर्शन गरेको बताइन ।

    एघारजना बालिकाले बेहुला, बेहुली, बेहुलाका आमा बुबा, धामी, पुरोहित, डाक्टर, छिमेकी, मदिरा पसले भएर अभिनय गरेका थिए ।

     “हरेक गाउँमा आफ्नै उमेरका केटाकेटीले पनि विवाह गरेर अलपत्र परेका देखिन्छन्”, कक्षा ८ मा अध्ययनरत बालिका जानकी रावलले भनिन, “बालविवाह गरेर सानै उमेरमा बच्चा पाउँदा दुवैको ज्यान गएको घटना पनि छन् । त्यसैले उमेर नपुग्दै विवाह नगरुन् भनेर नाटक देखाएका हौँ ।”

    यसले वडावासी केही सचेत हुनेछन् भन्ने विश्वास लिएको उनले बताइन । नाटकको सन्देशले तिज कार्यक्रममा घेरिएका महिला–पुरुष निकै सोचमग्न भएका थिए । नाटक हेरिरहेका स्थानीय सचिन रोकायाले भने, “यहाँ बालविवाह भन्ने कुनै मतलब हुँदैन । तर, त्यसको असर भने घरैपिच्छे देखिन थालेको छ, धेरैले भोगिरहेका पनि छन् ।

    ”पहिले बुबाआमाले बिहे गराइदिने गरेका थिए भने आजभोलि आफैँ फोन गरेर बिहे गर्न थालेको सचिनले बताए । “नयाँ पिँढीमा नयाँ कुरा सिक्नुपर्नेमा मोबाइल फोन तथा फेसबुकले धेरै बिगारेका छन्”, उनले भने, “विभिन्न गाउँमा १२ पास गरेर बिहे गर्ने धेरै कम छन् । एसइई पुग्दानपुग्दै बिहेवारी गर्ने र पछि हिंसाको सिकार भइरहेका छन् । अहिले यो रोक्न हामी सबै लागिपरेका छौँ ।”  यस्तो अवस्था कम होस् भन्नका लागि नानीहरूले गरेको नाटक निकै सन्देशमूलक रहेको उनले बताए ।

    काँडामा बालविवाह धेरै नै भएको हुँदा त्यसलाई रोक्न सरकारी निकायमात्रै नभई विभिन्न सङ्घसंस्थाले पनि काम गरिरहेका छन् । वडाध्यक्ष वीरबहादुर रावलले भने, “बालविवाह रोक्न सबैजना आ–आफ्नो ठाउँबाट लाग्नुपर्छ । हामीले कहिले छुट्टै त कहिले सङ्घसंस्थासँगको समन्वयमा गाउँगाउँमा सचेतनामूलक कार्यक्रम गर्दै आएका छौँ ।” केही हदसम्म कम भएको उनले बताए ।

    तिज प्रतियोगितामा साविकको काँडा गाविसका सबै वडाबाट महिलाले संस्कृति जोगाउन नृत्य प्रदर्शन गरेको थियो । वडा कार्यालय र गरिमा परियोजनाद्वारा सञ्चालित ग्रीन तारा नेपालको सहयोगमा तिज प्रतियोगिता गरिएको ग्रीन ताराकी सामाजिक परिचालिका मनिता सुनारले बताइन ।


    प्रकाशित : मंगलबार, आश्विन १ २०८१११:४९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार