२०८३, कार्तिक १६ गते सोमबार

देखिन छाडे जङ्गलमा जनावर

देखिन छाडे जङ्गलमा जनावर


  • मेरोभ्यूज
  • आश्विन १, २०८१ मंगलबार

  • देखिन छाडे जङ्गलमा जनावर

    म्याग्दी । वन फडानी रोकिएपछि घना बन्दै गएका म्याग्दीका सामुदायिक वन र खोरियामा गत फागुनदेखि जेठसम्म लागेको डढेलोका कारण जङ्गली जनावर देखिन छाडेका छन् ।

    डढेलोका कारण जङ्गल उजाडिएपछि चराचुरुङ्गीको कोलाहल र चिरबिर सुनिन छाडेको स्थानीयले बताएका छन् । डढेलोका कारण वन नष्ट भएपछि वनमा पस्ने बित्तिक्कै सुनिने चराचुरुङ्गीको चिरबिर सुनिन छाडेको मालिका गाउँपालिका–१ निस्कोटका राम पुनले बताए ।

     “रङ्गीविरङ्गी चरा र वन्यजन्तुको चहलपहल हुन छाड्दा वनको रौनक घटेको छ, पहिला जङ्गलमा देखिने जनावर अहिले गाउँका खेतबारी र सडक छेउमा देखिन थालेका छन्”, उनले भने । जङ्गलमा डढेलो लागेयता चराचुरुङ्गी र वन्यजन्तुको चहलपहल देखिन छाडेको मालिका गाउँपालिका–६ उपल्लो दुखुका यमन पुनले बताए । “डढेलो लागेपछि वन क्षेत्र वर्षापछि पनि कालो देखिएको छ । जङ्गलमा कुनै चहलपहल छैन । जङ्गली जनावर गाउँ पसेर दुःख दिन थालेका छन्”, पुनले भने ।

    जङ्गलमा डाँफे, कालिज, चिबे, तित्रा, कटुके चरा, लामपुच्र्छेलगायत पक्षी देखिन छाडेका बेनी नगरपालिका–३ भकिम्लीका तेजबहादुर घर्तीले बताए । घर्तीले भने, “अचेल यी चरा देखिँदैनन् ।”  वनमा बाक्लै भेटिने खरायो, दुम्सी, फ्याउरो र स्याल पनि हराएको उनले बताए । समुदायको जिम्मामा रहेका सामुदायिक वनमा काठ, दाउरा, घाँस र स्याउला फडानी रोकिएपछि म्याग्दीका सामुदायिक वन हराभरा भएका थिए । वन क्षेत्र हराभरा र घना बन्दै गएपछि जङ्गली जनावर वृद्धि भएको थियो ।

    डढेलोले जङ्गल सखाप पारेपछि गाउँमा झन् बढी जङ्गली जनावर पसेर दुःख दिन थालेका मालिका गाउँपालिका–१ निस्कोटका टकबहादुर विक बताउँछन् ।

    डिभिजन वन कार्यालय म्याग्दीका अनुसार गण्डकी प्रदेशका ११ जिल्लामध्ये गएको हिउँदमा डढेलोले सबैभन्दा बढी नोक्सान म्याग्दीमा पुर्याएको छ । डढेलोले म्याग्दीको करिब दुई हजार हेक्टर वन क्षेत्र ध्वस्त बनाएको छ ।

    जिल्लाका मालिका, मङ्गला र बेनी नगरपालिकाका वनमा डढेलो लागेको थियो । आफ्नो बासस्थान वरपर डढेलो बढ्दै गएपछि चराचुरुङ्गी र वन्यजन्तु कतिपय डढेलाको चपेटामा परी मरेका तथा अन्तै गएको हुनसक्ने मालिका गाउँपालिका–६ का वडाध्यक्ष पथबहादुर रोका बताउँछन् ।

    डढेलोले वनका महत्त्वपूर्ण जडीबुटी सखाप भएका छन् । चराचुरुङ्गी, जीवजन्तु हराउनुका साथै बहुमूल्य जडीबुटी तथा काठ खरानी भएका छन् ।

    डिभिजन वन कार्यालयको अभिलेखअनुसार म्याग्दीको दुई लाख २९ हजार सात सय छ हेक्टर क्षेत्रफलमध्ये ३६ दशमलव ७६ प्रतिशत वन, एक दशमलव ८५ प्रतिशत झाडी, २१ दशमलव २७ प्रतिशत क्षेत्र चरन क्षेत्रले ओगटेको छ ।

    ढोरपाटन सिकार आरक्षले एक हजार दुई सय ६० हेक्टर, अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)ले तीन हजार सात सय ५३ हेक्टर वनक्षेत्र ओगटेको छ । डिभिजन कार्यालय मातहतका ७९ हजार चार सय ३९ हेक्टर वनमध्ये २४ हजार दुई सय दुई हेक्टर तीन सय दस वटा सामुदायिक वन उपभोक्ता समूहमार्फत व्यवस्थापन हुँदै आएको छ । करिब पाँच हेक्टर कबुलियत, धार्मिक र निजी वन छ । बाँकी सबै राष्ट्रिय वन हो ।


    प्रकाशित : मंगलबार, आश्विन १ २०८१११:४२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार