२०८३, कार्तिक १५ गते आइतबार

दिक्तेल बजारमा लाखौँको क्षति

दिक्तेल बजारमा लाखौँको क्षति


  • मेरोभ्यूज
  • भाद्र ३१, २०८१ सोमबार

  • दिक्तेल बजारमा लाखौँको क्षति

    खोटाङ । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोले खोटाङमा लाखौँको क्षति भएको छभने मध्यपहाडी लोकमार्ग पूर्णरुपमा अवरुद्ध बनेको छ । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोले मध्यपहाडी लोकमार्गमा पर्ने दिक्तेल–हलेसी तथा दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्ड पूर्णरुपमा अवरुद्ध बनेको हो ।

    अविरल वर्षापछि आएको बाढी तथा पहिरोले अर्खौलेको नागी, मुढे, भालुखोलालगायत विभिन्न ठाउँमा ठूलो क्षति गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

    मध्यपहाडी लोकमार्गमा गएको बाढी तथा पहिरो पन्छाउन सम्बन्धित स्थानीय तह तथा सडक विभागको स्काभेटर र जेसिबी प्रयोग गरिएको छ । जिल्लामा अवरुद्ध सडक पुनः सञ्चालनमा ल्याउन केही समय लाग्ने जनाइएको छ । दिक्तेल–हलेसी सडकखण्डको नागीमा गएको पहिरो करिब पाँच सय मिटर फराकिलो भएकाले खुलाउन समय लाग्ने हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता एवम् वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिए ।

    भालुखोलामा पहिरो खसेर दिक्तेल–चखेवाभञ्ज्याङ सडक अवरुद्ध हुँदा शव पनि अलपत्र परेको छ । भुन्डिएर आत्महत्या गरेकी साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाकी एक महिलाको शव दाहसंस्कारका लागि घर फर्काउने क्रममा रोकिएको हो ।

    बाढी तथा पहिरोका कारण मध्यपहाडी लोकमार्गका सडकहरु अवरुद्ध हुँदा यात्रुहरुबीच सडकमै अलपत्र परेका छन् । जिल्लामा विकासका नाममा विना मापदण्ड जथाभावी सडक निर्माण गर्दा आफूहरुले बर्सेनि बाढी तथा पहिरोको क्षति व्यहोर्नु परेको स्थानीय बासिन्दाले गुनासो गरेका छन् ।

    दिक्तेल–हलेसी सडकमा पर्ने खहरेखोला थुनिएर बस्तीमा बाढी छिर्दा दिक्तेलबजारस्थित किरातचोकका होटल तथा पसलमा क्षति पुगेको छ ।

    लगातारको वर्षाका कारण दिक्तेल र बाम्राङको सिमानामा रहेको खहरेखोला थुनिएर बाढी आउँदा दिक्तेलको किरातचोक आसपासका घर तथा पसलमा क्षति पुगेको हो ।

    मध्यपहाडी लोकमार्गले बनाएको नाली थुनिएपछि खहरेखोलामा आएको बाढी सिधै बजारमा छिरेको थियो । बस्तीमा छिरेको बाढीले किरातचोकमा सञ्चालित चोलुङ होटललगायत होटल तथा पसलमा लाखौँको क्षति गरेको छ ।

    होटल तथा पसलमा बिक्रीका लागि राखिएका लाखौँ मूल्यका सामानहरु पानीले काम नै नलाग्नेगरी भिजेका छन् । पहिरोले किरातचोकस्थित इकिमा इन्टरप्राइजेजद्वारा सञ्चालित होन्डा शोरुमसमेत हिलाम्मे भएको छ । पहिरोले शोरुमा राखिएका रु १५ लाखभन्दा बढीको सामानमा क्षति भएको सञ्चालक किरणजित राईले बताए । घरभन्दा माथिबाट झरेको पहिरोले शोरुमभन्दा पछाडिपट्टि रहेको कुखुरा फार्मसमेत पुरिएको छ ।

    यस्तै, पहिरोले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित हलेसी आयल ट्रेड एन्ड सप्लायर्समा पनि क्षति गरेको छ । पेट्रोल पम्पभन्दामाथि निर्माण गरिएको सडकबाट पहिरो झर्दा पेट्रोल पम्पको ट्याङ्कीमा ठूलो क्षति गरेको हो ।

    अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोले जिल्लामा पुर्याएको क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिए ।

    “दुई दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोले जिल्लामा लाखौँको क्षति गरेको छ । अहिलेसम्म मानवीय क्षति भएका छैनन्”, उनले भने, “क्षतिग्रस्त ठाउँहरुमा प्रहरी परिचालन गरिएको छ । अहिले पनि बाढी तथा पहिरो जानेक्रम रोकिएको छैन । क्षतिग्रस्त क्षेत्रमा खटिएका टोलीले उद्धार गरिरहेका छन् । क्षतिको विवरण आउन समय लाग्छ ।” पहिरोले जिल्लाका विभिन्न ठाउँका घर तथा गोठहरुमा समेत ठूलो क्षति गरेको प्रहरीले जनाएको छ । दिक्तेलस्थित होटल, पसल तथा व्यक्तिको घरमा पसेको पहिरो जनपद र सशस्त्र प्रहरीले पन्छाइरहेका छन् ।


    प्रकाशित : सोमबार, भाद्र ३१ २०८११२:१६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार